धरान उमनपाका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा

धरान उमनपाका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा


धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आइतबार (४ माघ) देखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष उनले राजीनामा पेस गरेका हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताएका छन् । उनले भनेका छन्, ‘म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो ।’

साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

साम्पाङको राजीनामापछि उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरप्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।