नागरिक शक्ति नेपालद्वारा निर्वाचन अस्वीकार

नागरिक शक्ति नेपालद्वारा निर्वाचन अस्वीकार


नागरिक शक्ति, नेपालले वर्तमान राजनीतिक अवस्था, सरकारको चरित्र र निर्वाचन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै आगामी निर्वाचनलाई औपचारिक रूपमा अस्वीकार गर्ने घोषणा गरेको छ । केन्द्रीय समिति काठमाडौंद्वारा जारी विज्ञप्तिमार्फत संगठनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन नसक्ने ठहरसहित निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा अराजकता, भ्रष्टाचार र वैदेशिक प्रभावबाट ग्रस्त मुलुकलाई स्पष्ट दिशा र दीगो विकासतर्फ लैजानु नै नागरिक शक्ति नेपालको मूल उद्देश्य रहेको उल्लेख गरिएको छ । तर सरकार परिवर्तन मात्रले देशले अपेक्षित स्थायित्व, शान्ति र समृद्धि प्राप्त गर्न नसकेको निष्कर्ष निकाल्दै संगठनले आमूल परिवर्तनको आवश्यकतामा जोड दिएको छ ।

नागरिक शक्ति नेपालले हालको सरकार स्वयं निष्पक्ष नरहेको, सत्तामा रहेका व्यक्तिहरू विभिन्न दल तथा स्वार्थ समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आवद्ध रहेको आरोप लगाएको छ । यस्तो अवस्थामा निर्वाचन निष्पक्ष हुन नसक्ने र निर्वाचन स्वयं अस्थिरता, द्वन्द्व तथा हिंसाको कारण बन्न सक्ने खतरा रहेको संगठनको दाबी छ ।

विज्ञप्तिमा फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचनमा समानुपातिकतर्फ दर्ता गरिएका आफ्ना उम्मेदवारहरूको नाम फिर्ता लिँदै उक्त निर्वाचन अस्वीकार गर्ने निर्णय गरिएको उल्लेख छ । साथै, निष्पक्ष वा सर्वदलीय सरकार गठन नभएसम्म वर्तमान सरकारले गराउने कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट गरिएको छ ।

नागरिक शक्ति नेपालले देशलाई विद्यमान संकटबाट बाहिर निकाल्न राजनीतिक निकासको विश्वसनीय मार्ग सुनिश्चित गर्न सरकार तथा सम्पूर्ण सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।