कांग्रेसबाट एउटै क्षेत्रमा दुई/दुई जनाको उम्मेदवारी परेपछि…

कांग्रेसबाट एउटै क्षेत्रमा दुई/दुई जनाको उम्मेदवारी परेपछि…


  • आरपी उपाध्याय, नवलपरासी

विशेष महाधिवेशनको बलमा गगन थापा नेपाली कांग्रेसको सभापति भएपछि काग्रेसभित्रको आन्तरिक द्वन्द्वले विष्फोटक मोड लिँदै गएको छ । एउटै निर्वाचन क्षेत्रमा एउटै पार्टीबाट दुई/दुई जनाको उम्मेदवारी दर्ता भएपछि कांग्रेसमा आन्तरिक टकराव सृजना भएको छ, जसबाट नेपाली काङ्ग्रेसको राजनीतिप्रति नै नकारात्मक सन्देश प्रवाह भएको छ ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पूर्वमन्त्री देवेन्द्रराज कँडेललाई आधिकारिक उम्मेदवारका रूपमा सार्वजनिक गरेता पनि सुनवल नगरपालिकाका पूर्वमेयर भीमबहादुर थापा (भरत)ले गोप्य रुपमा प्रस्तावक समर्थक बनाइ आफुले ल्याएको टिकट निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएपछि नवलपरासी कांग्रेसमा ठूलो हलचल मच्चिएको हो।

उल्लेखित घटनाले ‘पार्टीको आधिकारिक उम्मेदवार को ?’ भन्ने प्रश्नलाई अझै गहिरो बनाएको छ । पार्टी केन्द्रिय कार्यालयले एक व्यक्तिलाई मात्र टिकट दिएको भनिरहँदा, स्थानीय तथा केन्द्रीय तहका जिम्मेवार नेताहरूकै संलग्नतामा अर्को उम्मेदवारी दर्ता हुनु कांग्रेसको संगठनात्मक अनुशासनमाथि ठाडो चुनौतीका रूपमा हेरिएको छ ।

त्यसैगरी, पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसबाट बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरले एउटै क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन् । लगातार दुई निर्वाचन क्षेत्रमा देखिएको दोहोरो उम्मेदवारीले कांग्रेसभित्र नेतृत्व संकट गहिरिँदै गएबाट यसको परिणाम गम्भीर हुने संकेत पनि देखिएको छ ।

सार्वजनिक रूपमा ‘सुझबुझ भएका’ र ‘परिवर्तनशील लिडर’को छवि बनाइँदै आएपनि यस्ता प्रकरणका कारण सभापति गगन थापाको नेतृत्व शैलीमाथि पार्टीभित्रबाट नै गम्भीर प्रश्न उठ्न थालेको छ । नेताहरूलाई एकताबद्ध बनाउनेभन्दा पनि नेता र कार्यकर्ताबीच टकराव सिर्जना हुने निर्णयहरू किन र कसरी भइरहेका छन् भन्ने प्रश्न अहिले कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ तेर्सिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार सक्षम नेतृत्वले यस्ता विवाद समयमै समाधान गर्नुपर्ने हो, तर एउटै पार्टीबाट एकैक्षेत्रमा दुई/दुई जनालाई टिकट वा उम्मेदवारी दिनु ‘सक्षम सभापतिबाट असक्षम क्रियाकलाप’ भएको टिप्पणी हुन थालेको छ । यसले कांग्रेस अहिले यस्तो अवस्थामा पुगेको देखिन्छ, जहाँ कसैले कसैको नेतृत्व स्वीकार नगर्ने परिस्थिति बन्दै गएको समेत जानकार वर्गको टिप्पणी छ ।

यसैबीच, नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उम्मेदवारको आधिकारिकतासम्बन्धी विवाद बिहीबारसम्म टुंगो लाग्ने पनि बताइन्छ। टिकटको आधिकारिकतालाई समयमै व्यवस्थापन नगर्ने हो भने काङ्ग्रेसलाई चुनावी फाइदाभन्दा ठूलो राजनीतिक क्षतितर्फ धकेल्ने खतरा बढ्दै जाने अनुमान गरिएको छ ।