धर्मनिरपेक्षताको आवरणमा जरा काटिएको यो व्यवस्था नबदलिकन व्यक्तिका रूपमा साक्षात भगवान राम वा ली क्वान यु नै प्रकट भए पनि देश बन्न असम्भव छ । अबको गन्तव्य पात्र परिवर्तन होइन, पद्धतिको मौलिक पुनरुत्थान हुनुपर्छ ।
✍ रामचन्द्र ढकाल
नेपाल आज इतिहासकै कठिन र संशयपूर्ण मोडमा उभिएको छ । यो देशमा सम्भावनाका किरणहरू भन्दा संकटका काला बादलहरू गाढा देखिन्छन् । हामी देश बनाउने एउटा यस्तो कहिल्यै नटुङ्गिने रटानमा त छौँ, यद्यपि त्यही रटानभित्र कतै हाम्रा रैथाने परम्परा, धर्म-संस्कृति, मौलिक राष्ट्रिय पहिचान र अस्तित्व क्रमशः ओझेल पर्दै गइरहेको त छैन ? यो प्रश्न आज प्रत्येक सचेत नागरिकको मनमा ढ्याङ्ग्रो बनेर बजिरहेको छ ।
विडम्बनापूर्ण त के छ भने, यहाँ लोकतन्त्रको प्राण मानिने निर्वाचन नै धर्मनिरपेक्षताका नाममा मौलिकता सिध्याउने हतियार बनाइयो । निर्वाचनले जनतामा उत्साह होइन बरु एउटा गहिरो रिक्तता र नैराश्यता मात्र थपिदिएका छन् । कुनै समय निर्वाचन राष्ट्र निर्माणको महायज्ञ मानिन्थ्यो, जहाँ देशको भविष्यबारे विमर्श हुन्थ्यो । आज निर्वाचन केवल अर्को पक्षलाई कसरी सिध्याउने भन्ने प्रतिशोधको खेलमा सीमित भएको छ । मतपत्रमा छाप त लाग्छ, तर त्यो छापभित्र कुनै भविष्यको आशा हुँदैन । राष्ट्रिय सुरक्षा, सामाजिक सुसम्बन्ध र दीर्घकालीन समृद्धिका एजेन्डाहरू दलीय स्वार्थको ब्ल्याकहोलभित्र विलीन भइसकेका छन् । हामीले व्यवस्था बदल्ने नाममा अनेकौँ पात्रहरू बदल्यौँ । यद्यपि पद्धतिको जग किन सधैँ कमजोर रह्यो ? हामीले संरचना त फेर्यौँ, तर त्यो संरचनालाई धान्ने नैतिक र बौद्धिक धरातल तयार गर्नै बिर्सिएछौँ ।
आज हाम्रा गाउँहरूमा एउटा भयावह सन्नाटा छाएको छ । यो शान्ति समृद्धिको द्योतक होइन । एउटा भयानक पलायनको ऐना हो । निर्वाचनका बेला पनि ती आँगनहरूमा पहिलेको जस्तो रौनक देखिँदैन । यो केवल वैदेशिक रोजगारीको तथ्याङ्क मात्र होइन । राज्यप्रणालीप्रतिको घोर अविश्वासको पराकाष्ठा हो । हिजो गाउँको जीवन अर्थले होइन, आत्मीयताले चल्थ्यो । छिमेकीको दुःखमा सिंगो बस्तीको आँखा रसाउने र पीडामा गीत गुञ्जने त्यो सत्यता आज इतिहासको पानामा खुम्चिएको छ । आज सम्बन्धहरू प्रविधिको सञ्जालमा त जोडिएका छन् । ती मनको सामीप्यबाट निकै टाढा भइसकेका छन् । यो रित्तोपन विकासको अभाव भन्दा पनि गहिरो सांस्कृतिक र सामाजिक क्षति हो । जसले समाजलाई भित्रैदेखि खोक्रो बनाउँदै लगेको छ ।
कुनै समय निर्वाचन राष्ट्र निर्माणको महायज्ञ मानिन्थ्यो, जहाँ देशको भविष्यबारे विमर्श हुन्थ्यो । आज निर्वाचन केवल अर्को पक्षलाई कसरी सिध्याउने भन्ने प्रतिशोधको खेलमा सीमित भएको छ । मतपत्रमा छाप त लाग्छ, तर त्यो छापभित्र कुनै भविष्यको आशा हुँदैन । राष्ट्रिय सुरक्षा, सामाजिक सुसम्बन्ध र दीर्घकालीन समृद्धिका एजेन्डाहरू दलीय स्वार्थको ब्ल्याकहोलभित्र विलीन भइसकेका छन् ।
नेपालको अर्को ठूलो त्रासदी भनेको आफ्नो धर्म र सभ्यताप्रतिको चरम उपेक्षा र बौद्धिक दासता हो । हामीले विदेशी विचारधाराका ठेलीहरू पढेर वादका विमर्श त गर्यौँ । यही भूमिमा प्रस्फुटित बुद्ध, वेदव्यास, अष्टावक्र र वाल्मीकि जस्ता दार्शनिकलाई ‘पुरानो’ भनेर त्याग्यौँ । किरात सभ्यताका पारुहाङ र सुम्निमाजस्ता हाम्रा सांस्कृतिक आधारस्तम्भहरूलाई राज्यको मूल नीति र पाठ्यक्रमबाट ओझेल पारियो । आफ्नै माटोको सुगन्ध बोकेको दर्शनलाई तिरस्कार गरेर आयातित एजेन्डामा गर्व गर्ने प्रवृत्तीले नेपाली समाजमा एउटा वैचारिक रिक्तता पैदा गरेको छ । इतिहास साक्षी छ । कुनै समाज आन्तरिक रूपमा विभाजित र स्वाभिमानहीन बन्छ । त्यो राज्य शक्तिहरूको प्रयोगशाला बन्न पुग्छ । आज नेपाल त्यही दिशातर्फ उन्मुख छ । नागरिकहरू मालिक होइन । मानसिक रूपमा आश्रित बन्दैछन् । धर्म, संस्कृति र सामूहिक मूल्यहरूबाट विच्छेद भएको समाज बालुवाको महल जस्तै अस्थिर हुन्छ ।
यही कारणले आज सर्वपक्षीय सहमति, संविधानको निर्मम पुनरावलोकन र साझा राष्ट्रिय दिशाबोधको आवश्यकता टड्कारो बनेको छ। यो कुनै दलको विजय वा पराजयको क्षुद्र राजनीति होइन, यो त राष्ट्रको अस्तित्व रक्षाको अन्तिम पुकार हो । राष्ट्रिय एकताको अर्थ अरूलाई निषेध गर्नु होइन, आफ्ना मौलिक संस्कार, गाउँ र सामाजिक सम्बन्धलाई राज्यको केन्द्रमा राख्नु हो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले परिकल्पना गरेको त्यो समावेशी र आत्मनिर्भर राष्ट्रको भावलाई आजको सन्दर्भमा ‘पृथ्वीपथ’ भन्न सकिन्छ। त्यही नै वर्तमानको संकटमोचक मार्गचित्र हुन सक्छ। हाम्रो वास्तविक पुँजी कुनै आयातित विकास मोडल होइन । हाम्रो त्यो प्राचीन सामूहिकता, विश्वास र मौलिक पद्धति हो । ती मूल्यहरूलाई बेवास्ता गरेर बनाइएको व्यवस्था कागजमा सुन्दर देखिए पनि व्यवहारमा खोक्रो साबित भइसकेको छ ।
आजको प्रश्न स्पष्ट छ, हामी केवल मालिक रोज्ने समाज बन्ने कि आफ्नै भाग्यको निर्माता ? यदि हामीले समयमै यो प्रश्नको उत्तर खोजेनौँ । ब्ल्याकहोलतर्फको यो अन्धवेगलाई रोकेनौँ भने निश्चय नै नेपाल कुनै दिन इतिहासको गौरवशाली पानामा होइन, यहाँ त केवल चेतावनीका उदाहरण हरूमा मात्र सीमित हुनेछ । अतः हामी देश बनाइदिने व्यक्ति खोज्दैछौँ । धर्मनिरपेक्षताको आवरणमा जरा काटिएको यो व्यवस्था नबदलिकन व्यक्तिका रूपमा साक्षात भगवान राम वा ली क्वान यु नै प्रकट भए पनि देश बन्न असम्भव छ । अबको गन्तव्य पात्र परिवर्तन होइन, पद्धतिको मौलिक पुनरुत्थान हुनुपर्छ ।
प्रतिक्रिया