रुपन्देही र मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा मनोनयन फिर्ता
प्रतिनिधिसभा निर्वाचनका लागि मनाङमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ता गरेका हुन् ।
उनीहरुको उम्मेदवारी फिर्तापछि मनाङमा अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राप्रप्राकी उम्मेदवार कर्भिका थापाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । उनले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ । उम्मेदवार थापाले आफ्नो उम्मेदवारीका विषयमा कहीँकतैबाट निर्वाचन आयोगमा उजुरी परेको नभइ संविधानअनुसार उम्मेदवार बन्न नमिल्ने भएर पार्टीले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेकाले आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
उम्मेदवार थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको बताएकी छन् । तर नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने संवैधानिक व्यवस्था रहेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनको भनाइ छ ।
प्रतिक्रिया