अध्यक्ष ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल

अध्यक्ष ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक र सहसंयोजक तोकिएका छन् । संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल तथा सहसंयोजकमा नेताद्वय मेनुका काफ्ले र दीपक कार्की तोकिएका छन् ।

यसै सन्दर्भमा सहसंयोजक एवम् एमालेका केन्द्रीय सदस्य कार्कीले झापाको गौरादहमा आज (९ माघ) आयोजित निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जानकारी दिए । परिचालन कमिटी मातहत रहने गरी नौवटा उपसमिति गठन गरिएको छ । सहसंयोजक कार्कीका अनुसार कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) सम्बद्ध नेताहरूलाई समेटिएको छ ।

यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा समेटिएका छन् । त्यस्तै स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि, जनसङ्गठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारीसहित सदस्यहरू र क्षेत्रीय एवम् प्रदेश समन्वय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन परिचालन कमिटीमा समावेश गरिएको छ ।