प्रचण्डद्वारा हरिबोल गजुरेल निष्कासित

प्रचण्डद्वारा हरिबोल गजुरेल निष्कासित


माओवादी पार्टीको अस्तित्व मेटाएर नेपाली कम्युनिष्ट पार्टी खोलेका प्रचण्डले लामो समयदेखिको आफ्ना मित्र एवम् माओवादी आन्दोलनका चर्चित नेता हरिबोल गजुरेलमाथि कारवाहीको डण्डा प्रहार गरेका छन् । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध निर्वाचनमा मनोनयन दर्ता गराएको भन्दै उनले गजुरेललाई पार्टीबाट निष्कासन गरेका हुन् ।

प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । यिनै सातमध्ये एक गजुरेल पनि हुन् ।

पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज (१० माघ) जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।

सो पार्टीले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ ।