राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेको वर्चश्व, कहाँबाट को-को भए निर्वाचित ?

राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेको वर्चश्व, कहाँबाट को-को भए निर्वाचित ?


राष्ट्रियसभा सदस्यका लागि आइतबार (११ माघ) भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन् ।

महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भइन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् ।

यसैगरी अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गरे भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरे । यस्तै अपाङ्ग/अल्पसङ्ख्यकतर्फ कांग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयीभए भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सर्जन विकले एक हजार ६०१ मतभार पाए ।

यस्तै, कोशी प्रदेशबाट नेकपा (एमाले)की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नमिता न्यौपानेलाई पराजित गरेकी हुन् । मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन् भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् ।

यसैगरी दलिततर्फ नेकपा (एमाले)का पोर्तेल निर्वाचित भए । पोर्तेलले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेम सुन्दासलाई पराजित गरे । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गरे भने सुन्दासले दुई हजार २७ मतभार ल्याए । कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै, कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा (एमाले)की मीना रखाल विजयी भएका छन् । अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी बनेकी हुन् । शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरे ।

यसैगरी बागमती प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी भएका हुन् । कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गरिन् । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् ।

यसैगरी, नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गरे ।

यस्तै, गण्डकी प्रदेशबाट ‘अन्य समूह’मा नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी भएकी छन् । पोखरामा सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाए । यस समूहमा राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाइन् । नेपाली कम्युनिष्ट पार्टीका गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाएकी थिइन् भने राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाइन् ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले)की लिलाकुमारी भण्डारी विजयी भइन् । अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरे ।

महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन्, उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार हासिल गरिन् ।

यसैगरी, मधेश प्रदेशमा विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले)की रेखा झा सात हजार २२२ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की शमीकुमारी अग्रवालले एक हजार ९४४ मत प्राप्त गरिन् भने जनता समाजवादी पार्टी (जसपा) की चन्द्रकलादेवी साहले ३२२ मत प्राप्त गरिन् ।

अल्पसङ्ख्यक कलष्टरतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण आठ हजार ९३ मतसहित विजयी भएका छन् । नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत तथा जसपाका शैलेशकुमार चौधरीले २७७ मत प्राप्त गरे । दलित कलष्टरतर्फ नेपाली कांग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतसहित निर्वाचित भएका छन् । नेकपाका शम्भु पासवानले एक हजार ३७६ मत र जसपाकी चमेलीदेवी दासले २०९ मत प्राप्त गरिन् ।

अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर सात हजार ७२५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत प्राप्त गरे ।

ज्ञातव्य छ, आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवारसुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।