पुरानै समस्या कायम रहेको आम मतदाताको गुनासो
पश्चिम नवलपरासीको क्षेत्र नं १ मा ‘हेभीवेट’ उम्मेदवारले उम्मेद्वारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या सुन्ने कार्यमा केन्द्रित भएका हुन् ।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट यसअघिका प्रतिनिधिसभा सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरी प्रतिस्पर्धामा छन् भने उनीसँगै यसअघि पनि प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
यी पुराना प्रतिस्पर्धीबाहेक नेकपा एमालेबाट पूर्व सुस्ता गाउँपालिका अध्यक्ष एवं विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व नेपाली कांग्रेसका नेता एवं व्यवसायी विक्रम खनाल, राष्ट्रिय जनमोर्चाबाट निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन् ।
नवलपरासी सुस्ता पश्चिममा ६ वटा राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारहरू टोलटोलमा मतदाता रिझाउन व्यस्त छन् भने आफ्नो चुनावी एजेण्डासहित बस्ती–बस्तीमा पुगिरहेका छन् । विगतमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरू अहिले एक्लाएक्लै चुनावी मैदानमा होमिएका हुन् । यसअघिको निर्वाचनमा व्यवसायी विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतले पराजित गरेका थिए । चौधरीले २९,५१९ मत पाउँदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए । अघिल्लोपटक चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको साथ थियो, तर अहिले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा कडा चुनावी भिडन्त हुने देखिएको छ ।
उम्मेदवार चौधरीले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् भने त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डाको रुपमा अघिसारेका छन् । त्यस्तै, रास्वपाका विक्रम खनालले युवा पुस्ता र असन्तुष्ट मतदातातर्फ आफ्नो ध्यान केन्द्रित गर्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन् । एमालेका पाण्डले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने उद्घोष गरेका छन् । जनमोर्चाका उम्मेदवार पोखरेलले भ्रष्टाचारविरुद्धको दृढ लडाइँ, प्रदेश संरचनाको पुनरावलोकन तथा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले विगतदेखि नै स्वच्छ राजनीति, राष्ट्रहित र जनताको पक्षमा आवाज उठाउँदै आएकोले यसपटक आफू र आफ्नो दललाई मतदान गरेर भ्रष्टाचारमुक्त र आत्मनिर्भर नेपाल निर्माणमा सहयोग गर्न मतदातालाई आग्रह गरेका छन् ।
उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू समाधान नभएको भन्दै त्यो पूरा हुनुपर्ने माग अघिसारेका छन् । किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन् ।
प्रतिक्रिया