कुन्ती मोक्तानले दिइन् विशेष प्रस्तुति
- सन्देश श्रेष्ठ, पोखरा
स्वर–किन्नरीद्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ‘ट्रिब्यूट’ (श्रद्धा अर्पण) गरेका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी-अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले श्रद्धार्पण गरेका हुन् ।
पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा हार्मोनीमा आवद्ध कलाकारहरुले तारादेवी-अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए ।
पोखरा महानगरपालिकाको प्रवर्द्धनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरुमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ? ’, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर-किन्नरीद्वयलाई श्रद्धाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो ।
त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायिकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुती दिए । जहाँ उनीहरुले तारादेवी र अरुणा लामाका एकपछि अर्को गर्दै गीतहरु गुञ्जाउँदा दर्शक नोस्टाल्जिक बने भने आफ्नै गीत सुनाउँदा दर्शक आल्हादित बने ।

कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत भ्वाईलिनको साथमा गुञ्जाएका थिए ।
कार्यक्रममा आधुनिक र शास्त्री संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायीका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुती दिएकी थिईन् । सुर शक्ति नारी समूहकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’र आफ्ना दुई गीतहरु ‘भन्छन् कोही’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरु गुञ्जाइन् । जसले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।
कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यकताका बारेमा कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सुनाएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तारादेवी-अरुणा लामा स्मृति साँझ पोखराको अर्को एउटा प्रोडक्ट बनेको बताए । समापन कार्यक्रममा बोल्दै एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस भए पनि यी दुवै सर्वप्रिय गायिकाको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा-तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको जानकारी दिइन् ।
प्रतिक्रिया