जिर्ण खानेपानी प्रणाली मर्मतका लागि अज्ञात ब्यक्तिद्वारा २१ के.जी. सुन दान !

जिर्ण खानेपानी प्रणाली मर्मतका लागि अज्ञात ब्यक्तिद्वारा २१ के.जी. सुन दान !


  • विशेष प्रतिनिधि, जापान

जापानको प्रमुख व्यापारिक केन्द्र ओसाकाको जीर्ण बन्दै गएको खानेपानी प्रणाली मर्मतका लागि एक अज्ञात व्यक्तिले २१ किलोग्राम सुन दान गरेका छन् । ओसाकाका मेयर हिदेयुकी योकोयामाले बिहीबार (१९ फरवरी) आयोजित पत्रकार सम्मेलनमा यस अनौठो सहयोगको घोषणा गर्दै उक्त सुनको मूल्य तत्कालीन समयमा ५६ करोड ६० लाख येन (करिब ५१ करोड नेपाली रुपैयाँ) रहेको जानकारी दिए ।

मेयर योकोयामाका अनुसार ती दाताले सुन हस्तान्तरण गर्नुभन्दा एक महिनाअघि नै खानेपानी व्यवस्थापनका लागि ५ लाख येन नगद समेत प्रदान गरेका थिए । ‘यो साँच्चै नै एउटा स्तब्ध बनाउने र ठूलो परिमाणको सहयोग हो’, मेयरले खुसी व्यक्त गर्दै भने- ‘दाताप्रति कृतज्ञता प्रकट गर्न मसँग शब्द नै छैनन् । म अचम्ममा परेको छु ।’ ती परोपकारी दाताले आफ्नो नाम गोप्य राख्न चाहेनु थप रोचक र जिज्ञासाको सन्दर्भ बनेको छ ।

करिब २८ लाख जनसंख्या भएको ओसाका शहरमा पुराना पानीका पाइपहरू फेर्ने कार्य हाल चुनौतीपूर्ण बनेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार निर्माण कार्यको वास्तविक लागत प्रारम्भिक बजेटभन्दा निकै बढी भएपछि मर्मत आयोजनामा ढिलाइ भइरहेको थियो । अज्ञात दाताबाट दान गरिएको सुनको बिक्रीबाट प्राप्त हुने रकमले अब शहरको खानेपानी पूर्वाधार सुधारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।