राफ्टिङको रहर : त्रिशूलीको धमिलो पानीमा अमिलो मन !

राफ्टिङको रहर : त्रिशूलीको धमिलो पानीमा अमिलो मन !


गर्मी बढेसँगै राजधानीबासीको मनमा चिसो पानीमा डुबुल्की मार्ने इच्छा जाग्छ नै । तर, काठमाडौं उपत्यकामा पौडी खेल्न मिल्ने र सफासुग्घर पौडी पोखरीहरूको अभावका कारण धेरैको रोजाइमा पर्छ, त्रिशूली नदीको राफ्टिङ । यद्यपि, पछिल्लो समय त्रिशूलीको धमिलो र प्रदूषित पानीले राफ्टिङको रमाइलो दीगो हुन सकेको छैन । धमिलोपनका कारण स्वास्थ्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

राजधानीनजिकै राफ्टिङ वा यस्तै पानीमा खेल्न मिल्ने ठाउँ नहुनु एउटा समस्या हो । भएका पौडी पोखरीहरू पनि सरसफाइको अभावमा थुक, खकार, पिसाब र फोहोरले भरिएका हुन्छन् । जसले गर्दा एकपटक गएका मानिसहरू दोहोऱ्याएर जाँदैनन् । यस्तो अवस्थामा त्रिशूलीको राफ्टिङ एक लोकप्रिय विकल्प बनेको छ, तर त्यहाँको पानीको अवस्था पनि चिन्ताजनक छ ।

चैतको मध्य गर्मीमा राफ्टिङका लागि त्रिशूली पुगेका धेरै मानिसहरूमा स्वास्थ्य समस्या देखिएको छ । विशेषतः धमिलो पानीका कारण यस्तो समस्या आएको हो । गणेशमान क्याम्पसका शिक्षक तथा कर्मचारीहरूले लामो समयसम्म रुघाखोकीले ग्रस्त भए । उनीहरूमा ज्यान भारी हुने, रूघाखोकी लामो समयसम्म पनि निको नहुने जजस्ता समस्या देखिए । यस्तै, चितवनबाट राफ्टिङ गरेर फर्किएकी रमा भट्टराईको अनुभव पनि यस्तै छ । उनको परिवारले पनि स्वास्थ्यमा समस्या भोगे । रमा भट्टराईले झाडापखाला लाग्ने, ज्यान दुख्ने र लामो समयसम्म कमजोरी महसूस हुनेजस्ता समस्याहरू भएको बताएकी छिन् ।

धमिलो पानीले निम्त्याउने प्रमुख स्वास्थ्य जोखिमहरू :

पेटसम्बन्धी रोग : पानीमा रासायनिक मल, प्लास्टिक तथा मानव मलमूत्र मिसिएकाले झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिसजस्ता रोगहरू लाग्ने जोखिम बढेको छ । राफ्टिङको क्रममा पानी पिइने सम्भावना बढी हुने भएकाले यो जोखिम अझ बढी हुन्छ ।

छालासम्बन्धी रोग : पृथ्वीराजमार्ग आसपासका बस्ती र बजार क्षेत्रमा फोहोर व्यवस्थापनको उचित प्रणाली नहुँदा नदीको पानी प्रदूषित बनेको छ । यस्तो मैलो पानीका कारण छालामा खटिरा, फोका, एलर्जी तथा अन्य चर्मरोगहरू देखिन सक्छन् ।

दीर्घकालीन रोगको सम्भावना : डाक्टरहरूको भनाइअनुसार, यदि पानीमा आर्सेनिक, लेड, मर्करीजस्ता हानिकारक भारी धातुहरू मिसिएका छन् भने यसले कलेजो, मिर्गौला तथा स्नायु प्रणालीमा असर पुऱ्याउन सक्छ । यसले दीर्घकालीन रोग र क्यान्सरको सम्भावना समेत बढाउँछ ।

प्रदूषणका मुख्य कारण र वातावरणीय प्रभाव :

त्रिशूली नदीको पानी प्रदूषित हुनुका पछाडि विभिन्न कारणहरू रहेका छन्-

प्रदूषित जलस्रोत : नदी, ताल, कुण्ड र भूमिगत जलमा औद्योगिक फोहोर, रासायनिक मल, प्लास्टिक तथा मानव मलमूत्र सिधै मिसाइनु ।

अपर्याप्त सरसफाइ : शहर तथा गाउँमा फोहोर व्यवस्थापन र सरसफाइको उचित प्रणाली नहुनु ।

कृषि प्रदूषण : कीटनाशक तथा रासायनिक मलहरू पानीमा मिसिएर जलस्रोतलाई प्रदूषित गर्नु ।

प्राकृतिक कारण : बाढी, पहिरो वा धुलो मिसिएको पानीले पनि नदीको पानीलाई धमिलो बनाउनु ।

यसले निम्त्याउने वातावरणीय समस्याहरू :

जलीय जीवनमा असर : प्रदूषित पानीका कारण माछा तथा अन्य जलीय जनावरहरू मर्ने गर्छन् ।

माटोको उर्वरतामा कमी : नदीको प्रदूषणले कृषि भूमिमा समेत नकारात्मक असर पुऱ्याउँछ ।

भूमिगत जल प्रदूषण : सतही जलसँगै भूमिगत जलसमेत प्रदूषित हुने जोखिम बढ्छ ।

त्रिशूली नदीको प्रदूषणले मानिसको स्वास्थ्य र समग्र वातावरण दुवैमा गम्भीर असर पारिरहेको छ । राफ्टिङजस्तो साहसिक पर्यटनलाई सुरक्षित बनाउन र नदीको पारिस्थितिक प्रणालीलाई जोगाउन तत्काल ठोस कदम चाल्नु अपरिहार्य देखिन्छ । के सम्बन्धित निकायले यस विषयमा गम्भीरतापूर्वक ध्यान देला ?