जापानमा नेपाली समुदाय-लक्षित चैत्राष्टमी मेला

जापानमा नेपाली समुदाय-लक्षित चैत्राष्टमी मेला


जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दुईदिने दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ शनिबार (७ चैत)बाट टोकियोमा सुरु हुँदैछ।

बागलुङ समाज जापानको मूल–आयोजनामा टोकियोस्थित शिवा पार्क (मिता लाइनको ओनारिमोन स्टेशन नजिक, मिनातो लाइब्रेरीसँगै)मा मेला आयोजना हुँदैछ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त मेलामा धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक विविध कार्यक्रमहरू प्रस्तुत गरिनेछन् ।

बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति परिचित गराउने उद्देश्यसहित मेला आयोजना हुन लागेको हो ।

मेलामा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरू शान्ती श्री परियार, योगेश काजी शाह, कोष खड्का, युवराज मगर, अनुपा थापा मगर, सूर्य खड्का, रामकृष्ण बम मल्ल, ज्योति लोहनी र रितु थापा मगर लगायतले विशेष प्रस्तुति दिनेछन् । साथै जापानमा रहेका स्थानीय कलाकारहरूको पनि उल्लेखनीय सहभागिता रहनेछ ।

कार्यक्रमअन्तर्गत लोक तथा आधुनिक गीतसंगीत, नृत्य, बाजागाजा, सांस्कृतिक झाँकी प्रदर्शन लगायत विविध प्रस्तुतिहरू समावेश गरिनेछन् । जापानीज गायक–गायिकाहरूको समेत प्रस्तुति रहनेछ ।

मेलाका मुख्य आकर्षणहरूमा भलिबल प्रतियोगिता, लाइभ लोक दोहोरी गीत, घैटो फोर प्रतियोगिता, लठ्ठो तान्ने प्रतियोगिता, झाँकी प्रदर्शन तथा ऐतिहासिक झल्किने विशेष प्रस्तुतिहरू, नेपाली खानाका परिकारहरू तथा बागलुङ जिल्लामा उत्पादित स्थानीय सामग्रीहरूको प्रदर्शनी तथा बिक्री समावेश रहेका छन्।

कार्यक्रम स्थलमा राखिएको बागलुङ कालिका मन्दिरको प्रतिकृति मन्दिर र बाघको शालिकले पनि सबैको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेलामा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेका छन् । नेपालको मौलिक पर्व चैते दशैंको सांस्कृतिक झल्को विदेशमै अनुभव गर्न पाउने अवसरका रूपमा यस मेलालाई लिइएको आयोजकको विश्वास रहेको छ।