बेल्जियमको आन्त्वेर्पेनमा तीनदिने आध्यात्मिक महोत्सव सुरु

बेल्जियमको आन्त्वेर्पेनमा तीनदिने आध्यात्मिक महोत्सव सुरु


  • विशेष सम्वाददाता, आन्त्वेर्पेन (बेल्जियम)

बेल्जियमको आन्त्वेर्पेन शहरमा तीन दिवसीय बृहत् आध्यात्मिक महोत्सव तथा ज्ञान यज्ञ भव्यताका साथ सुरु भएको छ । नेपाली सांस्कृतिक केन्द्र आन्त्वेर्पेन र बेनेलक्स क्षेत्रको नेपाली समुदायद्वारा आयोजित यस अनुष्ठानको समुद्घाटन बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो ।

उद्घाटन समारोहमा मन्तव्य दिँदै राजदूत लम्सालले यस्ता कार्यक्रमले पूर्वीय दर्शनको मन्थनबाट भावी पुस्तामा समेत संस्कारको गहन छाप छोड्ने र प्रसिद्ध कथावाचक पण्डित दीनबन्धु पोखरेलको आध्यात्मिक उपदेशले समाजमा शान्ति र जागरण फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका प्रख्यात आध्यात्मिक चिन्तक पण्डित दीनबन्धु पोखरेलले ‘भागवत’ शब्दको चार अक्षर – भक्ति, ज्ञान, वैराग्य र त्यागको व्याख्या गर्दै अद्वैत तत्वको रहस्योद्घाटन गर्नुभयो । उहाँले बुद्ध दर्शनको ‘निर्वाण’ र वेदको ‘अहम् ब्रह्मास्मी’ दुवैको अन्तिम लक्ष्य ‘परमानन्द’ नै भएको तर्क प्रस्तुत गर्नुभयो।

पोखरेलले भन्नुभयो, ‘बुद्धले नकारात्मकता (अहंकार र दुःख) हटाएर शान्ति खोज्न सिकाउनुभयो भने वेदले सकारात्मकता (म नै ब्रह्म हुँ)को बोध गराएर आनन्द खोज्न सिकायो ।’

आयोजक ओम शर्माले यस अनुष्ठानबाट लाभ लिन सबैलाई आह्वान गर्नुभएको छ । महोत्सवमा भागवत कथा वाचन, वेद र धम्मपदका सूत्रहरूको विवेचना, भजन-कीर्तन, योग र ध्यानका गतिविधिहरू हुनेछन् । अस्ट्रेलिया र जापानको कार्यक्रम सकेर एक महिने युरोप यात्रामा रहनुभएका पण्डित पोखरेलको यस कार्यक्रममा बेल्जियम, नेदरल्याण्ड, लग्जेमबर्ग, फ्रान्स र जर्मनीका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ ।