- युरोप प्रतिनिधि, आन्थ्रोपेन (बेल्जियम)
नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको दशौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आइतबार (२९ मार्च, २०२६) सम्पन्न यस अधिवेशनले ‘लोकनाथ शर्मा’को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
निवर्तमान अध्यक्ष सौरभ कारंजितको अध्यक्षता तथा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार र प्रवासमा नेपालीपन जोगाउने विषयमा गहन चर्चा भयो ।
लोकनाथ शर्माको कमान्डमा निर्वाचित समितिको उपाध्यक्षमा गोपाल दाहाल र जमुना बास्तोला गैह्रे, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा अच्युत ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा मुना राई, मुना ताम्राकार, रीता पाण्डे, लिलाधर पन्त र दिनेश पोखरेल रहेका छन् । अधिवेशनले आवश्यकता अनुसार थप दुई सदस्य मनोनीत गर्ने अधिकार समितिलाई दिइएको छ ।
कार्यक्रमको मुख्य आकर्षण दुई महत्वपूर्ण कृतिको लोकार्पण रह्यो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ र नवनिर्वाचित अध्यक्ष लोकनाथ शर्माको मार्मिक मुक्तक सङ्ग्रह ‘परदेशमा गुमनाम’को संयुक्त रूपमा विमोचन गरियो । परदेशको व्यस्तताबीच पनि सिर्जनाको दियो बाल्न सफल स्रष्टाहरूको प्रशंसा गर्दै राजदूत लम्सालले प्रवासी नेपालीको एकतामा साहित्यले सेतुको काम गरेको बताउनुभयो ।
एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी, अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माई, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू क्रमशः चितवन क्याटका अध्यक्ष तेजेन्द्र कँडेल, नेपाली मिलन केन्द्रका अध्यक्ष ललित पोखरेल, धादिङ्ग समाजका अध्यक्ष कृष्ण न्यौपाने एवम् आध्यात्मिक गुरु श्रीओम सापकोटालगायतले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिए । निवर्तमान महासचिव गोपाल दाहालले सञ्चालन गरेको उक्त अधिवेशनले परमानन्द सापकोटा, विमल गिरी, ब्रह्मदत्त वाग्ले, मोहन खत्री र दीपेन्द्र केसीलाई सल्लाहकार चयन गरेको छ ।
यो यात्रामा लागेकाहरू निरन्तर अनेसासको प्रवाहमा समाहित छन् । रुचिमा उतारचढाव आउनेहरू कहिले हाजिर हुन्छन् कहिले गयल । तर यसको गति सदैव समान छ । वि.सं. २०६३ सालमा बेल्जियमका केही साहित्यिक मनहरूले स्थापना गरेको यो समाजको उद्देश्य सुरुवात कालमा धेरै थिएन । एउटा परिवार बनाएर आफ्ना भावनाहरू पखाल्ने, मन धुने, भाषा साहित्यको प्रवाहलाई जोगाइ राख्ने र भावना बाँड्ने ध्येयले अनेसास बेल्जियमको निर्माण गरियो ।
केन्द्रले नेतृत्वदायी प्रेरणा स्वरुप पठाएको केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको शुभकामना संदेश महासचीव गोपाल दाहालले पढेर सुनाएका थिए । सोही अवसरमा युरोपका विभिन्न शाखाहरुबाट आएका शुभकामना समेत पढेर सुनाइएको थियो । साहित्यिक कर्मीहरूले बेल्जियममा भएका स्रष्टाहरूलाई संगठित गरेर साहित्यिक गतिविधिलाई थप अगाडि बढाएकोमा उपाध्यक्ष डिल्ली अम्माई, अनेसास युरोपका सह-संयोजक पंचम अधिकारी र संस्थापकहरु विमल गिरि र दिपेन्द्र केसीले पुरानो समितिलाई धन्यवाद दिंदै नयाँ कार्यसमिलाई बधाई शुभकामना दिएका थिए ।
सोही अधिवेशनमा प्रमुख अतिथि राजदुत लम्सालले अनेसासको गतिविधिमा सहयोग पुऱ्याउने विभिन्न ब्यक्तिलाई सम्मानस्वरुप प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया