यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ


काठमाडौं महानगरपालिका-१५ सानो भऱ्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।

उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज (१७ चैत) अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौंका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुबाट रु. एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ ।

ठगीको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो ।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।