एक जुवा घाम छँदै बाटो लाग्नुपर्छ !

एक जुवा घाम छँदै बाटो लाग्नुपर्छ !


श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । शास्त्रीय/छन्दोबद्ध कविता लेख्न माहिर नै थिए लेखनाथ । अङ्ग्रेजी/नेपालीमा रचना गर्न सक्ने देवकोटा कम्तीका कहाँ थिए र ? उनको विलक्षण प्रतिभा देखेर डा. अवेन बर्कले हिल्सले ‘भौगोलिक भुल’ (Geographical Mistake) यसै भनेका थिए र ? अहिलेको नेपाली समाज त परिष्कृत हुन सक्या छैन भने ऊतिबेलाको कस्तो थियो होला ? उनीलाई कतिले उडाए कतिले होच्याए अपितु देवकोटा महाकवि भएर बाँचेकै छन्; अरूको नामोनिशाना छैन ।

२०८२/११/२१ ले नयाँ सरकार बनायो । मतदाताहरूले आरीघोप्टे भोट दिएर (झण्डै २/३) निलो पार्टीलाई जिताए । २०४६ ताका काङ्ग्रेस/कमिस्टले प्रजातान्त्रिक ढंगले शासन चलाउलान् भन्ने जनअपेक्षा थियो । यिनीहरूले ३६ वर्षसम्म आलोपालो (कु)शासन गर्दा नि जनकल्याणको काम हुन सकेन । यी दलका नेताहरूले भ्रष्टाचारबाट अलल्य सम्पत्ति कुम्ल्याएर नवधनाढ्य/नवसामन्त बने । नातावाद/कृपावादमा चुर्लुम्म डुबेसि यिनीहरू उपर जनविश्वास उठ्यो । आखिर यी दलहरूको हैसियत कौडीसम्म रहेन । यी दलहरूले प्रजातन्त्र/लोकतन्त्र फलाके नि प्रजातान्त्रिकता/लोकतान्त्रिकता जोगाउन सकेनन् । मुखमा राम राम बगलीमा छुरा । दर्कौलेहरूलाई इतिहास हैन; रिजल्ट तु चाहिन्छ । अन्ततोगत्वा निलो पार्टीमाथि जनउभार चुलियो । यसले नि पुरानै ढर्रा अपनाएमा यसको हविगत नि काङ्ग्रेस/कमिस्ट भन्दा फरक हुने छैन । राज्य संयन्त्रलाई दलीयताबाट मुक्त गर्नुपर्छ ।

हाम्रो मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्नु नै ठुलो रोग भो । रक्तरञ्जित जहानियाँ राजले १०३ वर्ष; निर्दलीय पञ्चायती व्यवस्थाले ३० वर्ष र प्रजातान्त्रिक पद्धतिले १७ वर्ष जेनतेन शासन गऱ्यो । गणतान्त्रिक परिपाटी १९ वर्षमा धरमराएर चल्दैछ । यो पनि दीर्घायु छ जस्तो लाग्दैन । यसको विकल्प खोजिदैंछ । निर्विकल्प भन्ने त केही नहुने भो । स-साना आन्दोलनले नि सत्ताको बागडोर पल्टाएको इतिहास साक्षी छ । राजनीतिशास्त्रीहरूले गणतान्त्रिक संसदीय राज्य प्रणालीलाई अत्युत्तम भनेर  दावा नगरेका त  कहाँ हुन् र ?

सत्य कुरो बोल्नैपर्छ । दलहरूले राज्य संयन्त्रलाई दलीयकरण गर्न हुन्नथ्यो । गर्दिहाले, मुलुकले दुर्दशा भोग्नुपरो । ढुङ्गामुढा चक्काजाम संस्कृति बन्यो । सेना, प्रहरी र न्यायधीशको कमानी (Chain of command) खुस्काउने काम भो । सेना प्रहरीले केबिदी काम गर्छन्  (शव उठाउनु परे, प्राकृतिक विपदमा, अनुसन्धानमा, शान्ति सुरक्षा कायम गर्नु परेमा र दङ्गा आदिमा) तापनि यिनीहरूले टोकसो, अपजस, निन्दा, सजाय खानुपर्ने । सधैं चेपुवामा किच्चिएर अचानो बन्नुपर्ने । यिनीहरूलाई समयानुसार यथोचित सेवासुविधा दिएर प्रोत्साहित/सम्मानित गर्नुपर्छ । जे होस्, यिनीहरूले नि आफ्नो गौरवमय इतिहास चैं बिर्सनु हुन्न है ।

पराईको भए नि राम्रो कुराको अनुशरण गर्नु ठिकै हो तर आफ्नो संस्कार, संस्कृति र परम्परा भाँडिने गरि अन्धानुकरण गर्न चैं हुन्न बाबै ।

स्वदेशमा अरूले नचिने नि वल्लाघरे पल्लाघरेले फलानु भनेर चिन्छन् तर पराई मुलुकमा कसले कसलाई चिन्छ र फगत् पैसा शिवाय ? छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा । आखिर मान्छे चिन्ने भनेको दु:खमा हो ।

स्वतन्त्रता भन्या छाडापन होइन । नागरिकले सभ्य/शालिनतापूर्वक स्वतन्त्रता अपनाउने हो । नाङ्गिनु, अपशब्द बोल्नु स्वतन्त्रता होइन ।

अर्कोलाई होच्याउनु, दम्भ देखाउनु र अपमान गर्नु जस्ता अकर्महरू हेपाही हो ।  के गर्न हुन्छ, के गर्नु हुन्न भन्ने चेत नभएका निर्विवेकीहरूलाई के भन्ने र खोई ? 

ज्ञाता सल्लाहकार (गुरू) अनिवार्य अन्यथा अन्यथा हुन सक्ने । राजाको सल्लाहकार गतिलो नहुनाले राजसंस्था चिप्लियो । काङ्ग्रेस/कमिस्टको हविगत नि त्यस्तै भो । यस्ता दृष्टान्तहरू त कति-कति !

अरिष्टोटल र अलेक्जेण्डर युध्दमा विजयश्री प्राप्त गरेर फर्कंदै थिए, बाटोमा एउटा खोच पार गर्नुपर्ने भो । अरिष्टोटलले अलेक्जेण्डरलाई सम्झाउँदै भने, ‘म पहिले खोच पार गर्छु अनि तिम्रो पालो ।’ यत्ति भन्न नभ्याउँदै अलेक्जेण्डरले खोच पार गरे । गुरूवचन अवज्ञा गरेकोमा अरिष्टोटल अलेक्जेण्डरसित रिसाए । अलेक्जेण्डरले विनम्र हुँदै उत्तर दिए , ‘गुरू, खोच पार गर्दा हजुरलाई केही भइदियो भने त मैले हजुर जस्तो गुरू (सल्लाहकार) पाउने थिइनँ तर मलाई दुर्घटना भएर के भो त, हजुरले मजस्ता हजारौं अलेक्जेण्डरहरू पैदा गर्न सक्नुहुन्छ ।’ अलेक्जेण्डरको यस्तो तार्किक जवाफ सुनेर अरिष्टोटल प्रशन्न हुनुभो ।

यो घटना अब्राहम लिङ्कन राष्ट्रपति हुँदा बखतको हो । उनले रक्षामन्त्रीको रिक्त पदमा आफ्नो कट्टर आलोचकलाई बहाली गराए । 

एकदिन लिङ्कनको साथी उनलाई भेट्न आयो । कुराकानीको सिलसिलामा उसले रक्षामन्त्रीको कुरो उप्कायो, ‘तपाईंले  रक्षामन्त्री चुन्नुभएको व्यक्तिबारे  तपाईंलाई सबै कुरा थाहा छ ?’ लिङ्कनले आश्चर्य मान्दै सोधे, ‘अँ, थाहा छ । के भो र ?’ साथीले भन्यो- ‘हिजो उसले तपाईंलाई दुब्लो पातलो गोरिल्ला जस्तो भनेर कुरा काट्दै थियो ।’

‘हो, मैले यो समाचार आजको अखबारपत्रमा पढिसकें’- राष्ट्रपतिले भने ।

साथीले फेरि उनलाई सर्काउने हिसाबले भन्यो, ‘अघिल्लोपल्ट नि उसले तपाईंलाई भँडुवा भन्दै थियो ।’

‘यो पनि मलाई थाहा छ’- राष्ट्रपतिले मुस्कुराउँदै भने ।

साथीले दिकदार मान्दै भन्यो, ‘उसले तपाईंलाई बारम्बार कटु आलोचना गरे नि उसैलाई रक्षामन्त्री जस्तो महत्वपूर्ण पद सुम्पिनुभएको छ ।’

‘ए, साथी ! मैले उसलाई महत्त्वपूर्ण पदमा पो चयन गऱ्या हूँ; गलत पदमा त हैन नि’- राष्ट्रपतिले हँस्यौलो पारामा जवाफ फर्काए ।

साथी चैं ले रिसाउँदै भन्यो, ‘ यसले तपाईंको लोकप्रियता/प्रतिष्ठा घटाउँछ नि त ।’ 

‘ऊ योग्य मन्त्री हो । उसले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक/निष्ठापूर्वक गर्छ । रह्यो मेरो प्रतिष्ठाको कुरो, यो त देशवासीलाई थाहा छँदैछ । मेरो आलोचना गऱ्यो भन्दैमा मैले एकजना सक्षम मन्त्रीलाई राष्ट्रसेवाबाट किन वञ्चित गर्ने हो र ? मलाई निजी भक्तको होइन; देशभक्तको खाँचो छ ।’ यसो भनेर राष्ट्रपतिले साथीलाई सम्झाए ।

यो बात सुनेसि साथी चुपचाप बाहिरियो ।

मुलुकमा अनिष्ट नआओस् भन्नका खातिर अर्थ्याएको मात्र हूँ; विषय र प्रसंगले अर्को अर्थ नलागोस् । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे.. । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !