नयाँ वर्षमा बेगनास तालमा ‘माछा महोत्सव’

नयाँ वर्षमा बेगनास तालमा ‘माछा महोत्सव’


नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आज (३० चैत) बेगनास ताल किनारमा माछा महोत्सव गर्ने भएको छ ।

माछा महोत्सवबारे आइतबार आयोजित पत्रकार सम्मलेनमा संस्थाका अध्यक्ष सुरेश लामिछानेले वेगनास तालसहित लेखनाथ क्षेत्रका तालहरूको प्रचारप्रसारका साथै तालमा माछा उत्पादन गरी आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिए ।

उनका अनुुसार सोमबार दिउँसो २ः०० बजेबाट औपचारिक रूपमा सुरु हुने महोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित राति १२ः०० बजेपछि नयाँ वर्षलाई स्वागत गर्दै सम्पन्न हुनेछ ।

महोत्सवमा बेगनास, रुपालगायत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर बिक्रीवितरणको व्यवस्था मिलाइनुका साथै माछाका परिकारको बिक्री तथा प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा गायिका रचना रिमालसँगै पोखरेली ब्यान्ड, माया गुरुङ, बालचन्द्र बराललगायत स्थानीय कलाकारको प्रस्तुतिका साथै भजनकीर्तन र मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।