✍ आचार्य प्रभा
देशको आवरण फेरियो
सर्पको काँचुली फेरिए झैं
अब पात्रो फेरिँदैछ उसैगरी
र.. अब भने फेर्नु छ उसरी नै
हामीले देशको परिस्थिति ।
मत-मतान्तरको जुहारी चल्न सक्छ
त्यो शाश्वत हो
तर, निचोड़ एकै हुनुपर्छ
देशकै हितको निम्ति
मात्र विगतका कमी-कमजोरीलाई
औंल्याउने होइन
न कि नयाँ पाइलाहरूलाई
हत्तोत्साहित गर्न तगारो हाल्ने !
अब.. देशले नयाँ आकाश ओढ्नुपर्छ
टुक्रिएका र विभाजित भएका मनहरूलाई
एकै सोचले जोड्नुपर्छ !
त्यसैले, आऔँ अब यो नयाँ वर्षमा
नयाँ र पुराना पुस्ताका
स्वच्छ मथिङ्गलहरूको आवादीमा
सकारात्मक विचारको
रस घोलेर नयाँ बिउ छरौं
नयाँ पालुवा उमारेर.. देशलाई
२०८३ को नयाँ वर्षमा
हराभरा बनाऔैँ ।
- दमक (झापा)
प्रतिक्रिया