- डम्बर निदाल, डडेल्धुरा
सुदूरपश्चिमको प्रसिद्ध घटाल मेला आज (२ वैशाख) भब्य मेलाका साथ सम्पन्न हुँदैछ । प्रत्येक वर्ष वैशाख २ गते बिशु पर्वको रुपमा पुजिने श्री असिग्रामेश्वर घटाल देवताको मेलामा धामीले बालुवा खाएको दृष्य हेर्न टाढा-टाढाबाट हजारौं दर्शनार्थी भक्तजनहरु यस मेला भर्न आउने गर्दछन् ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-३ डोटी खोलामा अवस्थित घटालथानमा लाग्ने मेला भर्न डडेल्धुरा लगायत विभिन्न जिल्लाबाट समेत दर्शनार्थी तथा भक्तजनहरु आउने गरेका छन् । देवताहरुका राजा देवराज इन्द्रका भानिज एवं महाभारतका चर्चित योद्धा पाण्डव भीमकी पत्नी हिडम्बापुत्र घटोत्कचको महाभारत युद्धमा भएको मृत्युपश्चात कलियुगमा प्रभावशाली देवताका रुपमा पुजिने बरदान प्राप्त भइ प्रकट भएकाले प्राचीनकालदेखि ठूलो मेला लाग्दै आइरहेको छ ।
पिशाचरुपी देवताका रुपमा पुजिने अत्यन्त शक्तिशाली घटाल देवताको मेलामा आफ्ना मनोकांक्षाहरु सिद्ध गर्न घर परिवारमा हुने दैविय कारणका समस्याहरु मोचन गर्न धामीबाट आशीर्वाद लिने र दर्शन गर्ने उद्देश्यले सुदूरपश्चिमका नौवटै जिल्लाबाट बिशुमेलाका लागि यहाँ पुग्ने गरेको घटाल क्षेत्र विकास समितिले जनाएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर मात्र टाढा रहेको जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल घटालमा खडेरी परेमा वर्षातका देवता देवराज इन्द्रका भानिज घटाल भएकाले घटालको पुकार र प्रार्थना गर्ने परम्परागत चलन पनि रहिआएको छ भने पानी पर्ने संभावना भए आश्चर्यजनक दैवीशक्तिबाट लोककल्याणका लागि वर्षात हुने विश्वास पनि रहेको छ ।
घटालको महिमा
देवताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन । स्थानीयबासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्छन् । धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले ७/८ मुठि जति वालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गर्छन् ।

आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् । किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देवता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यही नै घटालबाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देऊ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।
घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ । घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रूपमा पनि लिइन्छ । विगतमा जबजब खडेरी परेर अनिकालको अवस्था आयो, त्यति बेला पानी माग्न विभिन्न गाउँबस्तीका किसानहरु यही घटालथानमा भेला हुने गर्थे भन्ने जनविश्वास रहेको छ । घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो । यो चलन अझै पनि कायमै रहेको घटाल क्षेत्र विकास समितिले जनाएको छ ।
धार्मिक ग्रन्थमा घटाल
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुऱ्याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । लडाइँको मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कली युगमा ख्यातिप्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकालदेखिको भनाइ रहेको छ । सदियौँदेखि त्यही मान्यताअनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेको बुद्धिजीवी बताउँछन् ।
प्रतिक्रिया