युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु


युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको जनाइएको छ । एएफपीले जनाएअनुसार आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरु समेत रहेका छन् ।

दक्षिणी युक्रेनी बन्दरगाह शहर ओडिसामा भएको मिसाइल तथा ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले टेलिग्राममार्फत जनाएका छन् । युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्यपछि पुनः आक्रमण भएको हो ।

राजधानी किएभमा भएको आक्रमणमा १२ वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको शहरका मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।

युक्रेनको आपतकालीन सेवाले विस्फोटले भवन र कारहरूमा आगलागी हुनुका साथै क्षति पुगेको जनाएको छ ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा तीन जनाको मृत्यु भएको क्षेत्रीय प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले टेलिग्राममार्फत बताएका छन् ।

युक्रेनमा रूसले रातारात गरेको आक्रमणअघि राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो ।

किएभमा भएको आक्रमणमा कम्तीमा ४५ जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुमा अधिकांश चिकित्सकहरू रहेको मेयर क्लिट्स्कोले बताएका छन् ।