कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार (३ वैशाख) महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
‘ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ, मुद्दा इप्रका बेल्डाडीबाट चलेको छ’, शाहीले भनेका छन् । किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमति दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको थियो । बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै गत वैशाखको पहिलो साता जलेको अवस्थामा बेल्डाँडी गाउँपालिका–३ कमरीका हरिकिसन राना मृत फेला परेका थिए ।
पचास वर्षीय राना सडकछेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेलापरेको विषय केही दिनअघि प्रतिनिधीसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद दीपक बोहराले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका थिए । प्रहरीले घटना सडक छेउमै भएकाले सडक दुर्घटना भएको वा हत्या भएको विषय शङ्कास्पद भन्दै अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया