युगान्तकारी सङ्कल्प र दार्शनिक चेतनाको सागर : ‘निरपेक्ष अस्तित्वको खोज’

युगान्तकारी सङ्कल्प र दार्शनिक चेतनाको सागर : ‘निरपेक्ष अस्तित्वको खोज’


नेपाली डायस्पोराका एक विशिष्ट स्रष्टा हुन् डिल्ली अम्माई (अनाथ अङ्कल) । उनी वर्तमानको क्षणिक चर्चाका लागि लेख्दैनन्, बरु युगौँपछिको भविष्यमा फुल्ने चेतनाका फूलहरूको भविष्य लेख्छन् । सम्भवतः त्यसैले वर्तमानका कतिपय बुद्धिजीवीहरूले उनलाई ठम्याउन र उनका बारेमा बोल्न खासै रुचि देखाउँदैनन् । मलाई उनी फ्रान्ज काफ्का, एमिली डिकिन्सन, एडगर एलन पो, एनी फ्राङ्क, जोन किट्स, हर्मन मेलभिल र स्टिग लार्सन जस्तै लाग्छन् – जसले बाँचिरहेको समयभन्दा मृत्युपश्चात् बढी ख्याति र न्याय पाए ।

उनको पछिल्लो कृति ‘निरपेक्ष अस्तित्वको खोज’ कविता सङ्ग्रहमा नेपाली साहित्यका नवीन प्रयोग र नवप्रवर्तनलाई आत्मसात् गर्ने महाकाव्यकार डा. नवराज लम्साल र वरिष्ठ समालोचक प्रा. डा. नारायणप्रसाद खनालका भूमिकाले कृतिको ओज अझ बढाएका छन् । गुरुद्वयका भूमिकाले यस सङ्ग्रहको गाम्भीर्यलाई उजागर गरेका छन् । यी कविताहरूमा डुबेर अध्ययन गर्दा मलाई यो सङ्ग्रह स्वयं एउटा पूर्ण दर्शन जस्तो आभास भयो ।

१. दार्शनिक गहिराइ र अस्तित्वको अन्वेषण

कविले निर्वाणलाई परम शान्तिको अवस्था वा ‘शून्य’ को रूपमा व्याख्या गर्दै चेतनालाई कमलको फूलको बिम्बमा सजाएर सङ्ग्रहको उठान गरेका छन् । सङ्घर्षको मार्गबाट मुक्तिको अभिलाषा राख्नु, प्रकृतिमैत्री बन्नु, र आत्मिक ज्ञानमार्फत कैवल्य प्राप्तिको खोजी गर्नु नै यी कविताका आधारस्तम्भ हुन् । योगाभ्यासबाट ‘सहस्रार’ सम्मको यात्रा र भावाभ्यासबाट ‘समभावी चेत’ को विकास गर्दै प्रवासदेखि घरबाससम्मलाई मौलिक भावले सुम्सुम्याउनु अम्माईका कविताका विशिष्ट पहिचान हुन् ।

कवि लेख्छन्-

‘म धरतीको लामो आयु चाहन्छु

त्यसमा जीवात्माको श्वास बन्न चाहन्छु

आकाशमुनि नाचेका माहुरीले झैँ

संसारभर प्रेम र हरियाली चाहन्छु ।’

उनको सोचमा खोजको पूर्वसर्त भनेको मानवसहित समस्त सिर्जना र सृष्टिको हित हो । विचार र सङ्कल्प निर्माणको क्रममा अनेकौँ द्वन्द्व र सङ्घर्षबाट गुज्रिएर चेतनालाई उच्च तहमा पुर्‍याई लोककल्याणमा समर्पित गर्नुपर्ने विशिष्ट निष्कर्ष कविले अघि सारेका छन् ।

२. क्वान्टम चेतना र आधुनिक शैली

सुरुसुरुमा पढ्दा यो सङ्ग्रह ‘तरुण तपसी’ जस्तै लागे तापनि ‘खोजी जारी छ’ सम्म पुगेपछि मात्र भान हुन्छ- यसभित्र त क्वान्टम चेतनाका तरङ्गहरू समेत विद्यमान रहेछन् । इलेक्ट्रोन र प्रोटोनभन्दा परको त्यो विज्ञान, जो अझै लेखिएको छैन, कवि त्यहाँसम्म पुगेका छन् । उनले सूक्ष्म सत्ताभित्रको उज्यालो र शून्यभित्रको अदृश्य सत्यलाई साक्षात्कार गरेका छन् ।

 ‘अनाथ’ का कविताहरू आफ्नै परा-भविष्यवादी दिशा उन्मुख अद्वैत शैलीमा ढालिएका छन् । यसमा प्रबुद्ध-रूपान्तरण, अस्तित्वगत सापेक्षता, र नैतिक-वैज्ञानिक यथार्थवादको समिश्रण देखिन्छ भने कतै उत्सव र ‘मेटा-लीला’ शैलीको प्रभाव पनि उत्तिकै बलियो छ। कविको लीला-बोधले लीलालेखन र लीला-दर्शनलाई यसरी एकाकार गरिदिएको छ कि ती दुईलाई अलग्याउन कठिन हुन्छ ।

लेखन शैलीका दृष्टिले यी कविताहरू चार-पाँच हरफमै सटिक निष्कर्ष दिने खालका छन्। यो आधुनिक ‘च्याट शैली’ को नवीन प्रयोग हो । लामालामा फुटकर कविताले कहिलेकाहीँ पाठकलाई बोझिलो महसुस गराउन सक्ने भए तापनि यसको वैचारिक उचाइले पाठकलाई बाँधिराख्छ । कतिपय सन्दर्भमा संस्कृत र पालि भाषाका शब्दको प्रयोगले भाषा अलिक क्लिष्ट लागे तापनि त्यसले हाम्रा ‘जननी भाषा’ को गरिमालाई जोगाउने प्रयास गरेको छ ।

प्रसिद्ध कवि डा. नवराज लम्सालले भनेझैँ, यो सङ्ग्रह पूर्णतः ‘दर्शनमा भिजेको’ छ । प्रगतिशील साहित्यिक धारको दृष्टिकोणबाट हेर्दा यी कविताहरू यति प्रखर र ‘तातो’ छन् कि जोकोहीले यसको गहिराइलाई सहजै समात्न सक्दैनन् । अर्कोतर्फ, कविको आत्मिक भावमा यो सङ्ग्रह उत्तिकै करुणामय र शीतल पनि छ । यो सङ्ग्रह कुन निश्चित धारको हो र यसको सन्देशले कुन दिशा निर्देश गर्छ भन्ने कुरा ठम्याउन सहज छैन । यसमा खोज, दर्शन, ज्ञान, साहित्य, चेतना, सङ्कल्प, प्रेम, करुणा, शील, स्थुल दृश्य र अदृश्य सत्ता – सबै कुरा यसरी उनिएका छन् कि यसलाई कुनै एउटा घेराभित्र सीमित गर्न सकिँदैन ।

यो ज्ञान हो कि विज्ञान, या दर्शन ? आयामेली साहित्यकारहरूले यसको विश्लेषण कुन आयामबाट गर्लान् ? यस्तो जटिल र गहन सङ्ग्रह कविले कुन प्रेरणाले लेखे होलान् ? यसमा योगीको योगरस छ, ज्ञानीको ज्ञानरस छ, र समतामूलक साम्यवादको स्वर पनि निहित छ । शून्यभन्दा परको अदृश्य ‘क्वान्टम भौतिकी’ को तरङ्ग अनुभूति समेत यसैमा समेटिएको छ । मन पखालेर भन्नुपर्दा, एउटा विशाल समुद्रजस्तै निष्कर्षहरूको भण्डार बनेको यस सङ्ग्रहका सबै कविताको ‘धुन’ र मर्म बुझ्ने पाठकहरू पाइएलान् कि नपाइएलान् ? पङ्क्तिकारमा यो शङ्का भने अझै जीवित छ ।

३. मानवीय संवेदना र वैश्विक सङ्घर्ष

कविले प्रवासको अन्तरद्वन्द्व र वैश्विक पीडालाई पनि उत्तिकै महत्व दिएका छन् । कतारको रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका मजदुरहरू र पत्रकार ग्रान्ट वाहलको सहादतलाई उनेर लेखिएको कविताले मानवताको वैश्विक स्वरूप प्रस्तुत गरेको छ ।

त्यस्तै, ‘करुणा’ शीर्षकको कवितामा साहिली पात्रको कारुणिक कथाले हृदय विदारक दृश्य सिर्जना गरेको छ । यद्यपि, मुद्रणमा भएको प्राविधिक त्रुटिका कारण यस कविताको केही अंश ‘केवल स्वप्न’ मा मिसिन पुगेको छ, जसले सम्पादनको कमजोरीलाई औँल्याउँछ । ‘केवल स्वप्न’ कवितामा कविले एउटा भविष्यद्रष्टाको रूपमा सुन्दर भोलिको कल्पना गरेका छन्-

‘क्षितिजमा नयाँ सूर्योदय हुनेछ समानताको

वेद विज्ञानमा फेरिने छन्, प्रकाश ज्योतिर्मय बन्नेछ

झगडाको बीज फालिनेछ भट्टीमा

आगोका फिलिङ्गा उड्ने छन् र जुनकिरी बन्नेछन्

तिनै जुनकिरी मिलेर पृथ्वी उज्यालिनेछ भोलि ।’

४. निष्कर्ष र केही सुधारका पक्षहरू

प्रस्तुत सङ्ग्रहमा ६१ वटा कविताहरूलाई दार्शनिक, प्रकृतिवादी, सङ्कल्पवादी र प्रगतिवादी खण्डमा वर्गीकरण गरिएको भए पाठकलाई अझ सहज हुने थियो । पुस्तकको आवरण पृष्ठमा लेखकको नामको ठिक तल सम्पादक र प्रकाशकको नाम उल्लेख हुँदा स्रष्टाको व्यक्तित्व ओझेलमा परेको भान हुन्छ, जसमा लेखकको निजी लगानी र सर्वाधिकार सुरक्षित छ ।

अन्त्यमा, वरिष्ठ समालोचक प्रा. डा. नारायणप्रसाद खनालले भनेझैँ, यी कविताभित्रका पौराणिक मिथक, ऐतिहासीक उपमान र आत्मिक अन्तरालोडनलाई बुझ्न ‘मै हुँ’ भन्ने समीक्षकलाई पनि वर्षौँ लाग्न सक्छ । ‘निरपेक्ष अस्तित्वको खोज’ वास्तवमै एक गहन र पठनयोग्य कृति हो । कवि डिल्ली अम्माईले अरूलाई बाहिर होइन, आफ्नै अन्तरात्मातर्फ फर्कने सल्लाह दिएका छन् । उनको यो सिर्जना यात्रा अझै परिष्कृत हुँदै अघि बढोस् भन्ने मेरो निजी अनुभूति र निष्कर्ष छ ।

सचेत पाठकले यस सङ्ग्रहलाई मिहिन ढङ्गले बुझ्ने प्रयास गरून् । कवि पनि यस्ता प्रतिक्रियाबाट केवल प्रेरित होउन्, नहौसिउन् ।