मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु


नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला-२०८३’ सुरु भएको छ ।

सो क्षेत्रमा बडेमान ढुङ्गा खोपेर कलाकारले विभिन्न मूर्तिका आकार दिनेछन् । जसले आकर्षक पर्यटकीय क्षेत्र मुस्ताङका लागि कला पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कलाकारहरुले सो क्षेत्रमा १५ दिन बसेर ढुङ्गालाई मूर्तिमा ढाल्नेछन् ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने जानकारी दिँदै भनेका छन्, ‘हामीले घरपझोङमा विभिन्न आकारका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।’

कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताए । उनले भने, ‘तपाईंहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला सिर्जना गर्नुहुने छ, यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका रहेको छ ।’

१५ दिनसम्म सञ्चालन हुने कार्यशालामा ३० कलाकारको सहभागिता रहेको छ ।

photo: rss