धादिङमा माइक्रोबस दुर्घटना, एघार जना घाइते

धादिङमा माइक्रोबस दुर्घटना, एघार जना घाइते


धादिङको गजुरी गाउँपालिका-६ स्थित आदमघाटनजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा सवार १२ जनामध्ये ११ जना घाइते भएका छन् ।

बाग्मती प्रदेश ०१-००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ ।

दुर्घटनापछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले तत्काल घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैलाई उपचारका लागि नजिकको अस्पतालमा पठाइएको छ ।

प्रारम्भिक विवरणअनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।