✍ डिल्ली अम्माई
भोक गाउँको
खेत गाउँको
पसिना गाउँको
चामल मालिकको !
रसद गाउँको
खेताला गाउँको
मेहनत गाउँको
भोको पेट गाउँको
खुशी मालिकको !
खाली छ खलियान
खाली छ पाखेघर
खाली छ गाउँ
आँतुर छौँ गर्न
नोकरी मालिकको !
मन्दिर गाउँको
सामाग्री गाउँको
आस्था गाउँको
दक्षिणा गाउँको !
श्रम गाउँलेको
सिप गाउँलेको
सेवा गाउँलेको
कारखाना मालिकको !
खोला, वन गाउँलेको
आपदविपद गाउँलेको
खपत गाउँलेको
नाफा मालिकको १
अर्मपर्म गाउँको
सरसापट गाउँको
जन्ती मलामी गाउँको
बैंक मालिकको ?
अनुभूति गाउँको
करुणा गाउँको
प्रेम गाउँको
उपकार मालिकको !
रसायन गाउँको
कच्चामाल गाउँको
शिक्षार्थी गाउँको
विद्यालय मालिकको !
सबै धन गाउँको
सबै जन गाउँको
रोग र शोक गाउँको
अस्पताल मालिकको ।
गाउँले के हुन् ?
मालिकको मिट मसला जस्तै दास ?
ऋण काढेर कर तिर्ने रैती ?
मालिकको पुजामा अर्पित प्रजा ?
विदेशको टोकन भरेका जनता ?
आफ्नो सुम्पेर साहुसँग किन्ने उपभोक्ता,
वा साहुको बिष सोसेर अस्पताल धाउने रोगी ?
प्रतिक्रिया