(बक्रोक्ति)
उ खेतमा जोतिन्छ भने म बिहान उठ्नेबित्तिकै घरमा जोतिन्छु, त्यसपछि अफिसमा जोतिन्छु अनि अफिसपश्चात पुन: घरमा जोतिन आइपुग्छु । आवश्यकताको हलो र जुवामा बाँधिएको म, घरमा श्रीमतीले जोत्छिन् कहिले त कहिले छोराछोरीले । उता अफिसमा हाकिम लगायत आफुभन्दा माथिकाले पालैपालो जोत्छन् । अनि म जोतिइरहन्छु । गोठमा बाँधेको गोरुले आराम पाउँछ तर मैले पाउन्न ।
✍ उमेश रेग्मी
नेपालमा जात्राको कुनै कमी छैन । हरेक महिनामा कुनै न कुनै जात्रा हुन्छ । तर, ती सबै जात्रामा घोडेजात्रा भने अलग्गै छ । नामै घोडेजात्रा ! सुन्दा नै जोस आउने । लडाइँको तयारी हो कि जस्तो लाग्छ कहिलेकाहीँ मलाई यो जात्राको नाम सुन्दा पनि । यो जात्रा काठमाडौंमा मात्र मनाइन्छ, जहाँ सेना घोडामा चढेर टुँडिखेलमा हावामा उडेजस्तो गरी दौडिन्छन् । मानौँ, उनीहरू फिल्मको सुपरहिरो बन्ने अडिसन दिन आएका हुन् ।
तर के तपाईंले कहिल्यै सोच्नुभएको छ- यदि घोडाको ठाउँमा गोरु चढ्ने चलन हुन्थ्यो भने ? कल्पना गरौँ, घोडेजात्रा होइन, “गोरुजात्रा” हुन्थ्यो । तिनीहरू उस्तै गरि दौडिन्थे ? सोच्नुस्, घोडा भनेको स्पोर्ट्स बाइक अनि गोरु भनेको पुरानो स्कूटर । दौडको कुरा गर्ने हो भने, एउटा यामाहाको लेटेस्ट मोडेल र एउटा पुरानो बजाज चेतक (गोरु)को रेस हेरिराखे जस्तो हुन पुग्थ्यो ।
टुँडिखेलमा सैनिकहरू गोरु चढेर जबरजस्त “स्टण्ट” देखाउँदै गरेको दृष्य कस्तो देखिन्थ्यो होला ? एउटा सैनिकले क्यास्केट लगाएर ‘सुपरहिरो’ जस्तो उड्ने कोसिस गर्थ्यो भने, गोरुले ‘थोरै बिस्तारै, मालिक’ भनेर हरियो घाँसतिर मुख फर्काइदिन्थ्यो होला । ‘यो जोतिने जातलाई दौडाएर हुन्छ ?’ भन्दै जात्रा हेर्न आएकाहरु सैनिकको खिसी गर्दै बस्थे होलान् ।
आफ्नै घरभित्र पनि गोरुजात्रा चलेको भान हुन्छ मलाई अक्सर । आफू जोतिने क्रम निरन्तर चलिरहँदा घोडेजात्राको घोडा भन्दा निकै भिन्न रुपमा आफू गोरुको अवतार भएको महसुस हुँदा धेरै अचम्म पर्दिनँ म । आफ्नो यस्तो हालत देख्दा मलाई गोठमा बाँधेर राखेको गोरुसंगै रिस उठेर आउँछ । परालको त्यान्द्रोमा उग्राइरहेको ‘राते’ कहिले नजिकैको गाईलाई हेर्छ अनि कहिले मलाई । त्यसको हेराइले जिस्काइरहेको भान हुन्छ । शायद उ भनिरहेको होला, ‘हेर म पनि गोरु अनि तँ पनि गोरु । मान्छे भएर के नै पो लछारपाटो लायौ र ! बिहान उठेदेखि राति नसुतुन्जेलसम्म जोतिंदा’ – उसले भनेको साँचो झैँ लाग्छ मलाई । उ खेतमा जोतिन्छ भने म बिहान उठ्नेबित्तिकै घरमा जोतिन्छु, त्यसपछि अफिसमा जोतिन्छु अनि अफिसपश्चात पुन: घरमा जोतिन आइपुग्छु । आवश्यकताको हलो र जुवामा बाँधिएको म, घरमा श्रीमतीले जोत्छिन् कहिले त कहिले छोराछोरीले । उता अफिसमा हाकिम लगायत आफुभन्दा माथिकाले पालैपालो जोत्छन् । अनि म जोतिइरहन्छु । गोठमा बाँधेको गोरुले आराम पाउँछ तर मैले पाउन्न ।
अब यस्तरी जोतिंदा कसरी घोडा जस्तो दौडिनु त ? प्रश्न उठ्छ मनमा, उत्तरको चाहिँ ठेगान लाग्दैन ।
घरको जात्रालाइ छोडेर एकैछिन अब टुँडिखेलतिर लागौँ । हामीले घोडेजात्रामा हेर्ने गरेको तीव्र गतिका घोडा, जसले टुँडिखेलको माटोलाई धुवाँ बनाएर उडाउँछन्, ती घोडा नभइ गोरु भए के हुन्थ्यो ?
१. स्पिड ब्रेकरको आवश्यकता नपर्ने : घोडा माइकल शूमाकर जस्तै हो, फर्मुला १ जित्न आएको उता गोरु भने ‘रिल्याक्स एण्ड चिल’ भन्ने सिद्धान्तमा विश्वास गर्ने योगगुरु जस्तै । सवारीको स्पिड नै १० किलोमिटर प्रतिघण्टाको हाराहारीमा हुने भएपछि ट्राफिक नियम तोड्ने सम्भावना नै रहँदैन । त्यसैले स्पिड ब्रेकरको जरुरतै परेन । ट्राफिक प्रहरीलाई पनि कत्ति सजिलो ।
२. सैनिकको सन्तुलन जाँच : घोडामा बसेपछि सैनिकहरू फुर्तीला देखिन्छन्, तर गोरुमा बसेपछि ? एक सैनिक अगाडि झुकेको छ, अर्को पछाडि चिप्लिएको छ, बीचमा एउटा गोरु त हठी भएर ठाँउको ठाँउमै उभिएको छ । हास्नु कि रुनु ! यस्तो जात्रा हेर्न पाइने हो भने, हरेक नेपालीले चिया सिया मगाएर टुँडिखेलको डाँडामा बसेर रमाइलो गर्थे होलान् ।
३. गोरु एउटा सुलभ प्राणी : घोडा महँगो छ । खानामा पनि राजकुमारको ताल । ताजा घाँस, भिटामिन, प्रोटिन, फलफूल खानु पर्ने । तर, गोरु भने अलिअलि धुलो परेको भुस पनि टपक्क टिपेर खान्छ । यदि घोडेजात्रा होइन, गोरुजात्रा हुन्थ्यो भने, सेनाको बजेट आधा घट्थ्यो । सेनाले ‘खर्च घटाउने अभियान’को उत्कृष्ट उदाहरण बनाउँथ्यो । सेनालाई पैसा खर्च गर्ने अर्को जात्रा आयोजना गर्ने अवसर पनि मिल्थ्यो । हुनत चिया पार्टी गर्दै पैसा सकाउने चलन पनि राम्रै चलिरहेको छ । ‘गोरुजात्रा’बाट बचेको बजेटले चिया मात्र नभई अरु पनि थप थाप गर्न मिल्ने कुरा सेनाकै विश्वस्त सुत्रबाट पत्ता लागेको तथ्य पनि रोचक नै छ ।
४. गोरुको हठ : घोडा आदेश मानेर सरासर दौडिन्छ । तर गोरु ? ‘आज दौडने मुड छैन, मालिक ! मैले हिजो धेरै खेत जोतेँ । अरू कसैलाई पठाउनुस्’ भन्दै टुँडिखेलमै सुस्ताउँन थाल्यो भने के गर्नु । भन्छन् – ‘बाल हठ र गोरु हठ उस्तै उस्तै हो !’
गोरु र नेपाल, एक ऐतिहासिक सम्बन्ध :
नेपालमा गोरु हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो । तर, दुर्भाग्यवश, हाम्रा गोरुहरूले घोडा जस्तो सम्मान पाउँदैनन् । सोच्नुस् त, घोडा सधैं दरबारभित्र, सेनाको अस्तबलमा बस्छ । तर गोरु ? सधैं खेतमा जोतिन्छ अनि सडकमा झगडा गर्छ । हाम्रो इतिहासमा घोडा चढ्ने राजाहरुले धेरै प्रशंसा पाएका छन् । पृथ्वीनारायण शाहले घोडामा चढेर नेपाल एकीकरण गरे । तर यदि उनले गोरु चढेका भए ? ‘नेपाल एकीकरण होइन, नेपाल ढिलोकरण’ चाहिँ पक्कै हुन्थ्यो । अरू राजाहरूले पनि घोडा नै चढे । किनभने युद्धमा छिटो भाग्नुपऱ्यो उनीहरुलाई । गोरु चढेका भए, भाग्ने बेलामा बीच बाटोमै गोरुले ‘थकाइ लाग्यो, मालिक !’ भनेर बसिहाल्थ्यो अनि राजाको सत्यानास !
यदि साँच्चै गोरुजात्रा हुन्थ्यो भने ?
अब सोच्नुस्, सरकारले घोडेजात्रा छोडेर गोरुजात्रा गर्ने निर्णय गऱ्यो भने ?
१. सैनिकहरूलाई नयाँ प्रशिक्षण दिनुपर्छ : घोडा चढ्न सिक्न सजिलो छ, तर गोरुरु एकचोटि रिसाए भने, जस्तोसुकै हुकुम दिए पनि मान्दैन । सेनाले ‘गोरु मनोविज्ञान’ भन्ने छुट्टै पाठ्यक्रम बनाउनु पर्छ ।
२. घटनाहरू थप रोचक हुनेछन् : घोडेजात्रामा सैनिकले घोडा चढेर कौशल देखाउँछन् । गोरुजात्रामा चाहिँ सैनिकले गोरुलाई दौडाउनको लागि दयनीय अनुरोध गरिरहेका देखिन्थे शायद । सेनाले ‘पुशअप’ होइन, ‘गोरु अप’को तालिम लिनुपर्थ्यो ।
३. दर्शकहरू रमाउने : हरेक पटक गोरु उभिन्छ, फर्किन्छ, बस्छ, हराउँछ त्यति नै पटक जनताले मज्जाले मनोरञ्जन लिन्थे । घोडेजात्रामा सैनिक फुर्तीला देखिन्छन्, गोरुजात्रामा त उनीहरू दयनीय देखिन्थे । गोरुलाई टुँडिखेलमा जोत्ने हो या दौडाउने हो सैनिकलाइ छुट्याउन हम्मे पर्थ्यो ।
४. पर्यटन व्यवसाय बढ्ने : दुनियाँभरका मानिस नेपाल आउँथे । ‘नेपालमा एउटा जात्रा छ, जहाँ सैनिकहरू गोरु चढेर दौड्छन्’ भन्ने हल्ला सुनेर विदेशीहरू क्यामेरा बोकेर आउँथे । नेपाल पर्यटन बोर्डले ‘कस्तो अचम्मको जात्रा !’ भनेर गोरुजात्रालाई विश्व सम्पदामा राख्न माग गर्थ्यो ।
निष्कर्ष
अन्ततः, घोडेजात्रा चलिरहने छ, तर यदि कहिल्यै गोरुजात्रा पनि हुन्थ्यो भने, नेपाली जनताले रोमाञ्चक शो हेर्न पाउँथे । सेनाले नयाँ चुनौती अनुभव गर्ने थियो । सरकारले पैसाको बचत गर्ने थियो । गोरुहरूले ‘अब हाम्रो पालो आयो’ भनेर आत्मसम्मान महसुस गर्ने थिए ।
प्रतिक्रिया