समाजसेवी व्यवसायी उमेश सम्मानित

समाजसेवी व्यवसायी उमेश सम्मानित


समाजसेवा, शिक्षा र व्यवसाय क्षेत्रमा सक्रिय व्यक्तित्व अम्बर बहादुर श्रेष्ठ (उमेश) लाई ‘राष्ट्रिय सेवा सम्मान-२०८३’ बाट सम्मान गरिएको छ । नयाँ वर्ष २०८३ आरम्भको अवसर पारेर फोकस नेपाल नामक संस्थाद्वारा व्यवसायी श्रेष्ठलाई सम्मान गरिएको हो ।

राजधानीस्थित नेपाल पुलिस क्लबमा आयोजित नयाँ वर्षारम्भको शुभकामना आदान-प्रदान कार्यक्रमसँगै ‘शान्ति, सहमति र सहकार्य राष्ट्रका निम्ति अपरिहार्य भूमिका’ विषयक विचार गोष्ठीका बीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, श्री शारदा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् युवा व्यवसायी श्रेष्ठलाई सम्मान गरियो ।

सामान्य परिवेशबाट उठेर समाजमा उदाहरणीय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । कार्यक्रमकी प्रमुख अतिथि लीलाकुमारी भण्डारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै श्रेष्ठको योगदानको उच्च प्रशंसा गरिन् । उनले भनिन्, ‘यस्ता व्यक्तित्वहरू समाजका वास्तविक धरोहर हुन्, जसले कुनै स्वार्थबिना समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।’

कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिज्ञ, सामाजिक अभियन्ता, युवा र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई उत्साहपूर्ण बनाउँदा, विचार गोष्ठीले गम्भीर र समयसापेक्ष बहसलाई अघि बढायो । देशमा बढ्दो असहिष्णुता, विभाजन र प्रतिस्पर्धाको बीचमा ‘सहमति र सहकार्य’को सन्देश दिन सफल यो कार्यक्रम वास्तवमै सार्थक र सन्देशमूलक बनेको सहभागीहरूले बताए ।