नृसिंहधाममा पुरुषोत्तम महोत्सवको शुभारम्भ

नृसिंहधाममा पुरुषोत्तम महोत्सवको शुभारम्भ


  • विकाश रौनियार, धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारस्थित ऐतिहासिक तथा धार्मिकस्थल नृसिंहधाममा एक महिने पुरुषोत्तम महामहोत्सव सुरु भएको छ । हरेक तीन वर्षपछि पर्ने पुरुषोत्तम (अधिक) महिनाको अवसरमा आयोजना गरिएको महोत्सवले धार्मिक आस्था मात्र नभइ धादिङको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ ।

महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले धर्म, संस्कृति र सभ्यतालाई समाजको मूल आधारका रूपमा व्याख्या गर्दै धार्मिक स्थलहरूको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री बानियाँले नेत्रावती र बुढीगण्डकी नदीको संगमस्थलमा रहेको नृसिंहधाम आध्यात्मिक ऊर्जा र सांस्कृतिक महत्वले भरिएको स्थल भएको उल्लेख गर्दै बुढीगण्डकी जलविद्युत् आयोजनाको जलाशय निर्माणका क्रममा धार्मिक तथा पर्यटन क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले आगामी प्रदेश नीति तथा कार्यक्रममा धार्मिक पर्यटन र जलाशय क्षेत्रसँग सम्बन्धित योजनालाई समेट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उद्घाटनका क्रममा मुख्यमन्त्री बानियाँले नृसिंहधाममा विशेष पूजा तथा जल अर्पण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धर्मगुरु, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नृसिंहधामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मूल आयोजक समिति संयोजक फणिकान्त छत्कुलीले पुरुषोत्तम महिनाभर विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

महोत्सव अवधिभर श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमत कथा तथा श्रीमद् देवीभागवत कथालगायतका प्रवचन सञ्चालन हुने आयोजकले जनाएको छ। साथै दैनिक भजन–कीर्तन, आरती, सत्संग तथा धार्मिक अनुष्ठानले नृसिंहधाम क्षेत्र भक्तिमय बन्ने अपेक्षा गरिएको छ ।

ग्रामीण भूगोलमा रहेको नृसिंहधाम पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बन्दै गएको छ ।