- विकास रौनियार, धादिङ
काठमाडौं उपत्यकालाई देशका अधिकांश जिल्लासँग जोड्ने पृथ्वीराजमार्ग नेपालको सबैभन्दा ब्यस्त र रणनीतिक महत्वको सडक हो । यही सडकबाट दैनिक हजारौं यात्रुवाहक र मालवाहक सवारीसाधन गुड्छन् । राजधानीका लागि खाद्यान्न, इन्धन, निर्माण सामग्रीदेखि औद्योगिक उत्पादनसम्म यही मार्ग हुँदै भित्रिन्छन् । तर यति महत्वपूर्ण राजमार्गमा कुनै ठूलो सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे त्यसलाई तत्काल हटाउने सरकारी हेभी ड्युटी क्रेन वा आधुनिक रिकभरी प्रणाली नहुनु भने विडम्बनापूर्ण अवस्था हो ।
पृथ्वीराजमार्गमा कुनै बस वा ट्रक बीच सडकमै रोकिएपछि त्यसको प्रत्यक्ष असर सयौं सवारीसाधनमा पर्छ । सडक साँघुरो भएका धेरै स्थानमा एउटा सवारी अड्किँदा दुवैतर्फ लामो जाम लाग्ने गर्छ । सामान्य प्राविधिक खराबी केही समयमै समाधान भए पनि इन्जिन, एक्सल वा ब्रेकजस्ता गम्भीर समस्या भएका सवारीसाधन घण्टौंसम्म सडकमै रहने गरेका छन् । दुर्घटनाका घटनामा त अझ अवस्था जटिल बन्ने गरेको छ ।
यस्ता अवस्थामा बिग्रिएको सवारीलाई तत्काल सुरक्षित स्थानमा हटाउन हेभी ड्युटी क्रेन, रिकभरी ट्रक र अन्य आधुनिक उद्धार उपकरण अपरिहार्य मानिन्छ। तर पृथ्वीराजमार्गमा यस्ता उपकरणको स्थायी व्यवस्था छैन । आवश्यक पर्दा निजी क्षेत्रबाट क्रेन मगाइन्छ, जसका कारण सडक खुलाउन थप समय लाग्ने गरेको सम्बन्धित निकाय नै स्वीकार गर्छ ।
सबैभन्दा बढी सास्ती चालक र सहचालकले भोगिरहेका छन् । बीच सडकमै सवारी रोकिएपछि उनीहरू अन्य सवारीको जोखिमबीच मर्मतमा जुट्न बाध्य हुन्छन् । चालक विशाल पासवान र ईश्वर फुयाल आवश्यक स्थानमा उद्धार उपकरण राखिए आफूहरू मात्र होइन, सम्पूर्ण यात्रुलाई राहत पुग्ने बताउँछन् ।
यसको असर आकस्मिक सेवामा पनि उत्तिकै गम्भीर देखिन्छ । जाममा फसेका एम्बुलेन्स समयमै अस्पताल पुग्न नसक्दा बिरामीको उपचार प्रभावित हुने गरेको एम्बुलेन्स चालक रविन गुरुङको अनुभव छ । उनी भन्छन्, ‘मिनेटको ढिलाइले पनि बिरामीको ज्यान जोखिममा पर्न सक्छ ।’
सडकमै मर्मत गर्ने मिस्त्रीहरूको अवस्था पनि कम जोखिमपूर्ण छैन । नवराज कुमार सराफका अनुसार सवारी तान्ने वा सुरक्षित स्थानमा लैजाने उपकरण नहुँदा तीव्र गतिमा गुडिरहेका अन्य सवारीबीच ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता छ । यसले अर्को दुर्घटनाको सम्भावना समेत बढाउँछ ।
यात्रुहरू भने दुई पक्षमा सुधार आवश्यक रहेको बताउँछन् । पहिलो, प्राविधिक रूपमा कमजोर र जीर्ण सवारीसाधनको नियमित परीक्षण र निगरानी कडा बनाउनुपर्ने । दोस्रो, बिग्रिएका सवारी तत्काल हटाउने आधुनिक उपकरणको व्यवस्था गर्नुपर्ने । प्रकाश श्रेष्ठ र गणेश अधिकारीका अनुसार एउटा सवारी बिग्रिँदा सयौं यात्रुले अनावश्यक दुःख पाउनु राज्यको कमजोरी हो ।
समस्या नेपाली यात्रुमा मात्र सीमित छैन । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने विदेशी पर्यटक पनि लामो जामका कारण प्रभावित हुने गरेका छन् । भारतीय पर्यटक रामाशंकर बर्माले यस्ता समस्या समाधानका लागि सरकारले प्रभावकारी व्यवस्था गर्नुपर्ने धारणा राख्छन् ।
जिल्ला ट्राफिक कार्यालय धादिङ गजुरीका प्रमुख शिशिर थापाका अनुसार विशेषगरी बढी भार बोकेका ट्रक वा ठूला बस बिग्रिँदा हटाउन आवश्यक उपकरणको अभावले ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बन्ने गरेको छ ।
यता धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले आवश्यक उद्धार उपकरण व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताएकी छन्। पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले पनि हाल निजी क्षेत्रबाट क्रेन भाडामा लिएर काम चलाइएको र दीर्घकालीन समाधानका लागि पहल भइरहेको बताऊछन् ।
पृथ्वीराजमार्गको विस्तार भइरहेको छ। सवारीसाधनको संख्या पनि वर्षेनी बढिरहेको छ । तर सडकको भौतिक पूर्वाधार विस्तारसँगै उद्धार तथा व्यवस्थापन प्रणाली विकास हुन सकेको छैन । एउटा बिग्रिएको सवारीले सयौं यात्रु, एम्बुलेन्स, मालवाहक सवारी र पर्यटकलाई घण्टौं रोकिन बाध्य बनाउने अवस्था अन्त्य गर्न आधुनिक रिकभरी प्रणाली अब विलासिता होइन, अत्यावश्यक पूर्वाधार बनिसकेको छ ।
देशकै ‘लाइफलाइन’ भनिने पृथ्वीराजमार्गलाई सुरक्षित, व्यवस्थित र अवरोधरहित बनाउने हो भने सडक निर्माणसँगै आधुनिक उद्धार उपकरणको व्यवस्थालाई पनि समान प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ ।
प्रतिक्रिया