कुरा गत साताको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न कलाकर्मीहरूको ठूलै झुण्ड पुगेको थियो । विभिन्न राजनीतिक नेताहरूलाई भेट्दाभेट्दा दिक्क भएका प्रधानमन्त्रीको मुड पनि केही फ्रेस देखिन्थ्यो कलाकर्मीहरूलाई भेट्न पाएकोमा । यो चाँजोपाँचो भने कलाकर्मी अशोक शर्माले मिलाएका थिए । ‘अशोकजीको सीधै सम्पर्क रहेछ नि प्रधानमन्त्रीसँग । त्यसैले त सजिलै समय पाइयो नि प्रधानमन्त्रीको,’ यसै भन्दै थिए कलाकर्मीहरू ।
चलचित्रकर्मी कल्याण कोषमा रकम जम्मा गरिदिनका लागि आग्रहसहित यो टोली प्रधानमन्त्रीसमक्ष पुगेको थियो । प्रधानमन्त्रीनिवासमा सुरक्षा अवस्था निकै ‘टाइट’ हुने गरे तापनि टेलिभिजन र सिनेमाको पर्दामा देखिने अनुहार आफ्नै आँखाअगाडि देखापर्दा सुरक्षाकर्मीहरूले पनि खासै ‘टाइट’ गरेको देखिँदैनथ्यो । उनीहरू पनि कलाकारहरूलाई हेरेर दङ्ग देखिन्थे । प्रधानमन्त्री आगन्तुकको कोठामा पुगेपछि सबैले आ–आफ्नो परिचय प्रस्तुत गर्ने समय आयो । सबैले आ–आफ्नो परिचय पनि दिए ‘म फलानो, म फलानो’ भन्दै । चिनेकालाई प्रधानमन्त्रीले टाउको हल्लाए भने नचिनेकालाई मुस्कानबाट जवाफ दिए । तर, एकजना नवोदित महिला कलाकारले परिचय प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले दोहोरो कुराकानी नै गर्न भ्याए । त्यहाँ कलाकारिता क्षेत्रमा लागेर कपाल फुलाएका थुपै्र कलाकर्मी पुगेका थिए तर ती युवतीप्रति भने प्रधानमन्त्रीले बढी नै चासो दिएको देखिन्थ्यो । प्रधानमन्त्रीको यो चासो देखेपछि उपस्थित चलचित्रकर्मीहरूबीच गाइँगुइँ पनि चल्न थाल्यो । उनीहरू भन्दै थिए, ‘खै हाम्रो त मतलबै छैन नि प्रधानमन्त्रीलाई…।’
यसरी प्रधानमन्त्रीले अलि चासो दिएर कुरा गरेकी अभिनेत्री थिइन् विनिता बराल । बरालले ‘नमस्कार ! मेरो नाम विनिता बराल’ मात्र के भनेकी थिइन् प्रधानमन्त्रीले थपिहाले, ‘हो तपाईंको काम हेर्न पाएको छैन तर नाम त बारम्बर सुनेकै हो ।’ प्रधानमन्त्रीले यो भनेपछि विनिता निकै फुरुङ्ग भएकी थिइन् ।
तर विनिताले यो कुराको हेक्का राखिनन् कि उनी राम्रो काम गरेका कारण प्रधानमन्त्रीको नजरमा परेकी होइनन् कि थुपै्र विवादास्पद समाचारहरूमा बारम्बार छाइरहँदा आफूलाई प्रधानमन्त्रीले चिनेको हो ।
यो कुराले के प्रमाणित पनि गर्यो भने पत्रिकामा नेपाली कलाक्षेत्रका समाचार पनि प्रधानमन्त्रीले ध्यान दिएर पढ्दा रहेछन् । त्यसैले त चलचित्र क्षेत्रको अवस्थाबारे राम्रो अध्ययन भएकै कारण होला अशोक शर्माले कलाकर्मीको समस्याबारे अवगत गराउना साथ प्रधानमन्त्रीले कलाकर्मी कल्याण कोषका लागि एक करोड रुपैयाँ दिने वचनबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीको यो वचनबद्धतासँगै उपस्थित कलाकर्मीहरू प्रधानमन्त्रीको जयजयकार गर्दै फर्किए । यता यो अगुवाइका नेता अशोक शर्माले भने, ‘प्रधानमन्त्रीको आश्वासनसँगै गृह मन्त्रालयले पनि रकमका लागि हामीसँग सम्पर्क गरिसकेको छ । यो हप्ता रकम उपलब्ध हुनेछ ।’ आइतबार अर्को एक चलचित्रसम्बन्धी कार्यक्रममा भेटिएका शर्माले जानकारी दिए ।
कतारको चलचित्र–महोत्सवमा एटीएम तगारो
गलत सोच, गलत नियत, गलत विचार र खराब उद्देश्य बोकेका केही चलचित्रकर्मीहरूका कारण यतिबेला अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको छवि बिग्रन पुगेको छ । सिनेमाको नाममा अश्लीलता प्रस्तुत गर्ने अनि कला नभएर छाला देखाएर पैसा कमाउने गलत सोच बोकेर अश्लील चलचित्र बनाउनेहरूका कारण भदौ महिनामा कतारमा निकै भव्यताका साथ सम्पन्न हुन लागेको चलचित्र महोत्सव रोकिन पुगेको छ । ‘नेपालमा केही चलचित्रहरू नग्न र अश्लील बन्न थालेकोबारे जानकारी पाएपछि कतार सरकारले कतारमा हुन लागेको नेपाली चलचित्र महोत्सवका लागि स्वीकृति दिएन,’ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले भने ।
महिलाको नग्नताप्रति निकै संवेदनशील हुने देश कतार अनि त्यस्ता सिनेमा बनाउन हौसिएका नेपाली चलचित्रकर्मीबीच यतिबेला तारतम्य नै नमिलेपछि विदेशमा नेपाली चलचित्रको बजार बृहत् हुने राम्रो अवसर गुम्न पुगेको छ । एटीएम, चपली हाइट, विन्दासजस्ता सी गे्रडका चलचित्र निर्माणको हल्लाले कतार सरकारले नेपाली चलचित्र महोत्सवप्रति चासो देखाएको हो । ‘विदेशमा नेपाली चलचित्र महोत्सव नेपाली चलचित्रकर्मीको ठूलो सपना थियो । त्यो सपना पूरा हुने समयमा केही फटाहाका कारण असफल भयो,’ पुराना चलचित्रकर्मी विनोद शेरचनको गुनासो छ ।
कतारमा नेपाली चलचित्र महोत्सवको अन्तिम तयारीमा जुटेको थियो चलचित्र विकास बोर्ड । अनि कतारमा रहेका नेपालीमा पनि आफू भएकै सहरमा नेपाली चलचित्र महोत्सव हुन लागेकोमा कम उत्साह र उमङ्ग थिएन । ‘तर केही सिनेमाका कारण यत्रो लगाव, मिहिनेत र परिश्रम पानीमा गयो,’ विकास बोर्ड चिन्ता प्रकट गर्दछ ।
यसरी कतारी सरकारले नेपाली चलचित्र महोत्सव गर्न रोकावट पैदा गर्नुको पछाडिको मूल कारण भने चलचित्र एटीएम नै भएको दाबी सिनेकर्मीहरू गर्छन् । सस्तो चर्चा र लोकप्रियता कमाउन खराब नियत बोकेकाहरूलाई फिल्म खेलाएर एटीएमका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवालले ठूलो गल्ती गरे । कला क्षमता नभएपछि आफ्नो शरीरका संवेदनशील अङ्ग देखाउने अनि त्यस्तै भल्गर संवाद बोल्ने जिया केसी, सोनिया शर्मा र सविना कार्की पनि कतारमा हुन नसकेको नेपाली चलचित्र महोत्सवको कारण हुन् । सिनेमा खेल्ने लोभमा जे गर्न पनि तयार हुने एटीएमका कलाकार र प्राविधिकहरू धेरै भइसक्यो गुप्तबासमा बसेको । यो चलचित्रका नायक, नायिका, निर्माता अनि निर्देशक लाज र सामाजिक बहिष्कारका कारण कुनै सार्वजनिक कार्यक्रममा जान र उपस्थित हुन सकिरहेका छैनन् ।
धिरेनको अवस्था नाजुक
‘पाए अन्त नपाए लखनको जन्त’ भनेजस्तै भएको छ धीरेन शाक्यको कलाकारिता जीवनमा । कुनै समय उनको चर्चा, उचाइ र गौरव महानायक राजेश हमालकै हाराहारीमा थियो । तर, आज धीरेन शाक्यको हविगत निकै नाजुक र बिचरा भन्न लायकको छ । त्यसो त अरूलाई गन्दै नगन्ने अनि घमण्डी स्वभावमा कारण पनि चलचित्र क्षेत्रमा धीरेन पछाडि परेका छन् ।
सिनेमा क्षेत्रमा जिरो अवस्थामा आएपछि अहिले धीरेन लोकगीतको म्यूजिक भिडियोमा खेल्न थालेका छन् । नयाँनयाँ युवतीसँग लोकगीतमा धीरेन नाचेको देख्दा उनका सहकर्मीहरू पनि धीरेनको नाजुक अवस्थाप्रति चिन्तित हुन थालेका छन् । यता फाट्टफुट्ट सिनेमा पाए तापनि हिरोको काका वा हिरोइनको दाजुको भूमिका मात्र हात पर्ने गरेको छ धीरेनलाई । तै पनि ‘आएको वात छैन’ भन्दै जस्तो पायो त्यस्तै भूमिकामा खेल्न उनी तयार देखिन्छन् । सिनेमाबाट कसैले गन्न छाडेपछि अहिले धीरेन सिनेमाको इक्विपमेन्ट (क्यामेरा, ट्रली, लाइट) जस्ता सामान भाडामा दिएर पैसा कमाउनेतिर लाग्न थालेका छन् । यसरी सामान भाडामा दिने काम गर्दा निर्मातालाई केही कम रकम लिएर आफूलाई पनि भूमिका दिन उनी आग्रह गर्न थालेका छन् । तर, निर्माताहरू भने बरु सामानको रकम बढी दिने तर धीरेनलाई फिल्म नखेलाउने निर्णयमा पुग्ने गरेका छन् । फिल्मको प्रचारप्रसार सामग्रीमा धीरेनको अनुहार देखेपछि दर्शकहरू फिल्म हेर्नै नआउने कुराको ठोकुवा गर्न थालेका छन् चलचित्रकर्मीले ।
धीरेनले केही समययता आएर विभिन्न निर्देशकहरूलाई फोन गर्दै आफूले फिल्म बनाउन लागेको र त्यो फिल्मको निर्देशक तपार्इंलाई नै लिने भनेर त्यस्ता निर्देशकको फिल्म खेल्नका लागि नयाँनयाँ जुक्ति निकाल्न थालेको कुरा केही निर्देशकले बताएका छन् ।
प्रतिक्रिया