० नेपाली काङ्ग्रेसका पूर्वसभासद्हरू संविधानसभा ब्युँताउन लागिपरेका छन्, के काङ्ग्रेस संविधानसभा पुनस्र्थापनकै खेलमा लागेको हो ?
– होइन, काङ्ग्रेसको केन्द्रीय समितिमा यस्ता एजेण्डा उठेका छैनन् र यस विषयमा औपचारिक छलफल भएको पनि मेरो जानकारीमा छैन । तथापि, हाम्रा केही पूर्वसभासद्हरूले संविधानसभा ब्युँताउनुपर्यो भन्ने आवाज उठाउन थाल्नुभएको छ । उहाँहरूले आफूलाई लागेको कुरा बोल्न नपाउने कुरा पनि होइन । मैले नबुझेको र बुझाउन नसकेको कुराचाहिँ के हो भने जुन कारणले संविधानसभा विघटन भयो त्यो कारण त अझै बाँकी नै छ । के–कसरी सङ्घीयतामा जाने भन्ने नसुल्झिएका विषयका विवाद त कायमै छन् नि । यस्ता कारणलाई नसुल्टाईकन यदि संविधानसभा पुनस्र्थापना गरियो भने यो देशमा गृहयुद्ध हुन्छ भन्नेमा म पूर्णविश्वस्त छु ।
० त्यसो हो भने संविधानसभा पुनस्र्थापना हुन सक्दैन ?
– हुन सक्दैन होइन कि हुनुहुँदैन भन्न चाहन्छु म ।
० पूर्वसभासद्हरूले त यस विषयमा दिनदिनै छलफल गरिरहेका छन्, पार्टी सभापतिलाई मागपत्र नै बुझाइसके नि, के भन्नुहुन्छ ?
– उहाँहरूले कुरा उठाउन, छलफल गर्न नपाउने त कुरै होइन । लोकतन्त्रमा आफ्नो विचार खुलस्त राख्न पाउनुपर्छ । त्यो अधिकारको उपभोग हाम्रा साथीहरूले पनि गरिरहनुभएको छ । मलाई दुःख लागेकोचाहिँ केमा भने जुन साथीहरूले यो मुद्दा उठाइरहनुभएको छ के उहाँहरू संविधानसभा विघटन भएपछि आफ्नो गाउँ–जिल्ला फर्केर जानुभएको छ ? यदि जानुभएको छ भने जनता के भन्छन् भन्ने सुन्नुभएकै होला । के जनता संविधानसभा पुनस्र्थापन होस् भन्ने चाहन्छन् यतिबेला ? जनता र कार्यकर्ताको भावना नबुझी यस्तो कुरा गर्दा आफ्नो जागिरका लागि मात्र संविधानसभा ब्युँताउन खोजेको भन्ने सन्देश जान्छ अहिले । अर्को कुरा, संविधानसभा ब्युँतिनेबित्तिकै समस्या समाधान हुने ग्यारेन्टी छ त ? ब्युँतिएको संविधानसभाले संविधान दिनुको साटो झन् समस्या बढायो भने त्यसको अपजश कसले लिने ?
० पूर्वसभासद्हरूको यो मागलाई काङ्ग्रेसले गम्भीरताका साथ लिएको छैन त त्यसो भए ?
– गम्भीरताका साथ लिएको–नलिएकोभन्दा पनि केन्द्रीय समितिमा यो कुरा आएकै छैन, छलफल भएको छैन । केन्द्रीय समितिमा प्रस्ताव आएको अवस्थामा म त आफ्नो यही तर्क राख्छु, अरू साथीहरूले पनि आ–आफ्ना कुरा राख्नुहोला । त्यसपछि नै थाहा हुन्छ पार्टीले यस मुद्दालाई कसरी लिनेछ भन्ने त ।
० तपाईंको विचारमा काङ्ग्रेसले यसलाई छलफलको मुद्दा बनाउन चाहँदैन ?
– छलफलको मुद्दा नबनाउँदा पार्टी र सबैको हित हुन्छ । मेरो विचारमा यतिबेला यो मुद्दा सान्दर्भिक होइन । बरु नेपाली काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने मुद्दालाई पो उठाउनुपर्छ त यतिबेला सबैले ।
० कहिलेसम्म होला त काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार ?
– नेपाली काङ्ग्रेसले पहिला आफ्नोतर्फबाट एउटा उम्मेदवार तय गर्नुपर्यो । यही साताभित्रै हामीले यो गर्न सक्नुपर्छ । त्यसपछि प्रक्रिया अघि बढ्छ ।
० काङ्ग्रेसभित्र उम्मेदवारीमा सहमति बन्ने सम्भावना छ त ?
– किन छैन ? एक साताभित्र यो गर्ने गृहकार्य हुन्छ, हुनुपर्छ । हाम्रा शीर्षनेता तथा उपसभापति रामचन्द्र पौडेल बिरामी पर्नुभएकोले यो कार्यमा ढिलाइ भएको हो । केन्द्रीय समितिको बैठकले छलफलबाट उम्मेदवार टुङ्गो लगाउँछ । त्यसपछि एमालेलगायत अन्य राजनीतिक दलहरूसँग हामी कुरा राख्छौँ र त्यो प्रस्ताव राष्ट्रपतिसमक्ष पुर्याउँछौँ ।
० काङ्ग्रेसले कसलाई अघि सार्छ त प्रधानमन्त्रीमा ?
– संसद् रहेको अवस्थामा त संसदीय दलका नेता रामचन्द्र पौडेलज्यूलाई हामीले अघिसारेका हौँ । अब अहिले संसद् छैन र पनि पौडेलज्यू उत्तिकै स्ट्रोङ उम्मेदवार हुनुहुन्छ । तर, हामी छलफल गरीकन यसमा निर्विवाद ढङ्गले उम्मेदवार प्रस्तुत गर्नेछौँ ।
० यति भनिसकेपछि तीन शीर्षनेतामध्ये कोचाहिँ प्रधानमन्त्रीको उम्मेदवार बन्नु उचित होला, बताइदिनुहोस् न ?
– छिचोलेर भन्नुपर्दा हाम्रोतर्फबाट प्रबल उम्मेदवार भनेको अहिलेको परिस्थितिमा पार्टी सभापति सुशील कोइराला र रामचन्द्र पौडेल नै हुन सक्नुहुन्छ भन्ने लाग्छ । यसमा काङ्ग्रेसको मात्र चाहनाले पनि हुँदैन, अन्य दलले के भन्छन् भन्ने पनि हामीले सुन्नुपर्ने हुन्छ ।
० तपाईंको मतलब सुशील कोइराला अथावा रामचन्द्र पौडेल नै काङ्ग्रेसको उम्मेदवार हुन सक्नुहुन्छ, देउवाचाहिँ होइन, हो ?
– जसको नाम तय गरिए पनि तीनवटै नेताको सहमतिबाट हुनुपर्छ । शेरबहादुरजीलाई नै दिने हो भने पनि तीनैजनाको सहमतिबाट हुनुपर्छ ।
० प्रधानमन्त्री डा. भट्टराईले राजीनामा नदिने कुरा गर्नुभएकोलाई चाहिँ तपाईंले कसरी लिनुभएको छ नि ?
– बाबुरामजी जस्ता व्यक्तिले एउटा तानाशाहले जसरी ‘म नै राज्य हुँ’ भन्ने व्यवहार प्रदर्शन गर्लान् भन्ने मलाई लागेको थिएन । बहुत विद्वान् प्रधानमन्त्री पाइयो भनेर हामी सबै नेपाली दङ्ग थियौँ । तर, उहाँले त आफ्नो विद्वतालाई नै धरापमा पारिदिनुभयो । हामीलाई दुःख लागेको छ । ब्राजिलबाट फर्केर बाबुरामजीले जस्तो अभिव्यक्ति दिनुभयो त्यसले सिङ्गो माओवादीको चरित्र उदाङ्ग पारेको ठानेको छु मैले ।
० कुनै बेला यिनै माओवादी नेताहरू तपाईंहरूलाई अत्यन्त प्यारा थिए, बडो आत्मीय ठानेर काखी च्याप्नुभयो तपाईंहरूले, त्यो सम्झना छ कि छैन ?
– यो दोष लगाउन सक्नुहुन्छ तपाईंहरू, यसमा म केही भन्दिनँ । बाबुरामजी मेरा साथी नै हुनुहुन्छ, अहिले कामको विरोध गरेको हो मैले, व्यक्तिको होइन । राजनीतिमा राम्रो काम गर्दै गए समर्थन र प्रशंसा पनि गर्दै जाने हो । बाबुरामजीको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर वकालत मैले पनि गरेकै हुँ, तर त्यसमा हामी गलत रहेछौँ भन्ने उहाँको व्यवहारले देखाइदियो । उहाँले काङ्ग्रेसलाई मात्र होइन सबै राजनीतिक दल र नेपाली जनतालाई पनि धोका दिनुभयो ।
० त्यसो भए अब बाबुरामजीकै नेतृत्वमा चाहिँ नेपाली काङ्ग्रेस सरकारमा जाँदैन होइन त ?
– जिरो प्वाइन्ट एक प्रतिशत पनि सम्भावना छैन । एक घण्टाका लागि पनि हामी बाबुरामजीको नेतृत्वमा अब सरकारमा जाँदैनौँ ।
० यस्तोमा बाबुरामजीले राजीनामा दिनुभएन भनेचाहिँ काङ्ग्रेसले के गर्छ त ?
– आन्दोलनबाट हटाइनेछ नि ।
० तपाईंहरूले भन्दैमा जनता आन्दोलनमा उत्रलान् त ?
– जनतालाई सडकमा ल्याउनका लागि काङ्ग्रेसले प्रयास गरिरहेको छ । समय लाग्न सक्छ भन्ने बोध हामीलाई भएको छ । तर, नेपाली जनता काङ्ग्रेससँग रिसाउनुपर्ने कुनै कारण त छैन । समर्थन हासिल हुनेमा म ढुक्क छु । एकैचोटि त को पो सडकमा आउँछ र ? माहोल बन्नुपर्छ, समय आउँछ । फेरि अन्य दलहरू पनि त प्रधानमन्त्रीका विरुद्ध आन्दोलनकै पक्षमा छन् ।
० प्रधानमन्त्रीले ‘सहमतिमा म बाधक बन्दिनँ’ त भनिरहेका छन् नि ?
– अब उहाँले त्यसो भन्नुको कुनै तुक देखिएन । कोठामा बसेर कोसँग के भन्नुहुन्छ, राष्ट्रपतिसँग के बोल्नुहुन्छ या अर्कोसँग के भन्नुहुन्छ भन्नेसँग मतलब भएन । उहाँले एयरपोर्टमा संसारले सुन्नेगरी के भन्नुभयो त्यो महत्वपूर्ण छ । उहाँको अभिव्यक्ति सहमति गर्न चाहने व्यक्तिको जस्तो छैन । – ऋषि धमला
प्रतिक्रिया