अर्को विवाहबारे सोचेकी छैन

अर्को विवाहबारे सोचेकी छैन


एक समयकी चर्चित नृत्याङ्गना तथा अभिनेत्री सारंगा श्रेष्ठ अमेरिका छिरेको पनि करिब आठ वर्ष पुग्न लागिसक्यो । यसबीचमा मुस्किलले उनी दुईपटक मात्र नेपाल आएकी छिन् । नेपाली रंगमञ्च र चलचित्र अभिनयको परिवेश अनि वातावरणबाट टाढा रहे तापनि सारंगाले अमेरिकामा रहँदा पनि आफ्नो कलाकारितालाई निरन्तरता भने दिइरहेकी छिन् । अमेरिकाका विभिन्न सहरमा समय–समयमा हुने सांस्कृतिक कार्यक्रममा समय मिलाएर उनले आफूलाई प्रस्तुत गर्ने गरेकी छिन् । यसपटक सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत सारंगासँग केही कुराकानी गरिएको छ ।
० के छ त नयाँ खबर ?
– परदेशमा छु । जीवन चलिरहेको छ ।
० जीवन राम्रो हुन्छ भनेर त्यता गएको होइन र ?
– हुन त त्यही हो । तर, चाहेजस्तो र सोचेजस्तो खुसी अनि सुखी कहाँ हुन्छ र ?
० नेपाल कहिले फर्कने ?
– अब दशैंमा आउँछु ।
० सधैंका लागि हो ?
– त्यसबारे म अहिले नै भन्न सक्दिनँ । तर, यसपटक भने दशैंमा आउँछु म ।
० अब त पैसा पनि टन्न कमाइयो होला । नेपालतिरै बसे हुन्न र ?
– त्यसबारे अहिले नै केही सोचेकी छैन । यो निर्णयको जिम्मा समयलाई नै दिऊँ ।
० नेपाली दर्शकहरूमाझ हाईहाई हुँदाहुँदै विदेश भासिनुभयो । त्यो याद आउँदैन अहिले ?
– मैले मिस गरेको नै नेपाली दर्शक र कलाकारिता अनि त्यो माहोलको परिवेश हो । तर, के गर्नु, बाध्यताले गर्दा विदेशिनु परेको हो । यो रहर होइन ।
० हामीलाई थाहा छ कि तपाईंजस्ता थुपै्र कलाकार आर्थिक कारण नै विदेशिएका हुन् । अब त धन कमाउन पुग्यो कि ?
– म धनकै कारण नफर्केकी भने होइन, अरू कारण पनि छन् ।
० अमेरिकामा के छ त्यस्तो सबै त्यतै आकर्षित हुन्छन् ?
– धेरै चिज छ । यही मात्र छ भन्ने छैन । केही न केहीले तानेको छ मानिसलाई ।
० विवाह गरेर पनि सम्बन्धविच्छेद गर्नुभएछ । किन पर्‍यो यस्तो ?
– मन नमिलेपछि सँगै बस्नुभन्दा अलग हुनु नै राम्रो हो ।
० अब फेरि विवाह गर्ने कुनै सोच या योजना ?
– अर्को विवाहबारे सोचेकी छैन । सोचेँ भने थाहा भइहाल्छ नि । म खुला किताब हुँ ।
० एक्लै बस्दा र जोडीसँग बस्दा के फरक हुँदोरहेछ त ?
– मलाई त फरक परेको छैन, किनकि जीवनमा दुःखदायी थुपै्र समय एक्लै बिताएँ मैले ।

हल्लैहल्लामा मायाज बार
दिनेश डीसी के गर्न जान्दैनन् ? उनलाई के गर्न आउँदैन ? जवाफ अनुत्तरित नै छ । किनकि कलाकारिता क्षेत्रका हरेक विधा र पक्षसँग विज्ञ छन् उनी अनि त्यत्तिकै निपुण पनि । सिनेमामा अभिनय गर्छन् उनी । गीत पनि गाउन छोड्दैनन् र टेलिभिजन कार्यक्रम सञ्चालन त उनको विशेषता नै हो भने सिनेमा निर्देशन अर्को बेजोड क्षमता हो उनको ।
नेपाली कलाकारिता र मिडियाको भीडमा बहुप्रतिभाशाली व्यक्तित्वको रूपमा परिचय बनाएका डीसी जे गर्छन् चर्चा भइहाल्छ । अहिले उनी चलचित्र ‘मायाज बार’का कारण चर्चामा आएका छन् । एउटै धार, उस्तै विषय र प्रकृतिका सिनेमा बनिरहेको परिवेशमा फरक कथा अनि प्रस्तुति लिएर आएको मायाज बारले हाल चलचित्र बजार गरम भएको छ ।
सिर्जनामा कुनै सम्झौता गर्नुहुन्न भन्ने डीसीको सोच अनि उनको सोचलाई साथ दिन अगाडि सरेका निर्माता सुनिल मानन्धरको जोडीले साँच्चै नै मायाज बारलाई गजबको सिनेमाको श्रेणीमा पुर्‍याएको छ । ‘हाम्रा नेपाली चलचित्रका नियमित दर्शकहरू त छँदै छन् । त्यसबाहेक पनि हलिउड र बलिउडका सिनेमा हेर्ने अनि नेपाली सिनेमा हेर्नुपर्‍यो भने मुन्टो बटार्ने दर्शकलाई समेत तान्नेछ यसले,’ डीसी विश्वस्त देखिन्छन् ।
यता लामो समयदेखि नेपाली चलचित्रको वितरण क्षेत्रमा एकछत्र राज गर्दै आएका सुनिल मानन्धरले पनि दिल फुकाएर यो चलचित्रमा लगानी गरेका छन् । उनको भनाइ छ यस्तो, ‘यदि मैले यो चलचित्र नबनाईकन वितरण मात्र गरेको भए करिब बीस–पच्चीस फिल्म किन्न सक्थेँ । तर, एउटा राम्रो र गतिलो फिल्म दिऊँ भनेर मायाज बार बनाएको हुँ । मलाई विश्वास छ कि हाम्रो यो सोच र उद्देश्यलाई दर्शकहरूले साथ दिनुहुनेछ ।’
यतिबेला चलचित्र ‘मायाज बार’को युनिट चलचित्रको प्रचारप्रसारमा लागिपरेको छ भने काठमाडौंमा साउन १२ र काठमाडौंबाहिर साउन १८ गतेदेखि लाग्दै छ । कलाकारको छनोटमा पनि मायाज बारले सम्झौता गरेको छैन । करिश्मा मानन्धर र निशा अधिकारीको साथमा खोजी प्रतिभाबाट आएका गजित विष्ट नायक भएका छन् यसमा ।

परिवार बिर्सेर सिनेमाको नसामा
अभिनेता सरोज खनाल स्वदेशमा रहे पनि वा विदेशमा रहे पनि चर्चामा नै छन् । एक समय रंगमञ्चका खुंखार कलाकार खनालले टेलिभिजनका दर्शकहरूमाझ पनि अमिट छाप छोडे ।
यतिबेला खनाल अमेरिकामा छन् आफ्नो परिवारका साथ । नेपाली कलाकारिताबाट बिस्तारै हराउँदै गए तापनि अभिनय गर्ने जाँगर, उत्साह अनि उमङ्ग भने उनमा अझै छ । अमेरिकामा हुने गरेका विभिन्न सांस्कृतिक कार्यक्रममा उनले आफूलाई गतिलै रूपमा प्रस्तुत गर्ने गरेका छन् । त्यसो त करिब दुई वर्षअगाडि नेपाल आउँदा करिब दुई महिनाको बसाइमा पनि उनले आफूलाई एउटा सिनेमामा प्रस्तुत गरेर नै छाडे । सिनेमा हो मानव । नितान्त पारिवारिक भेटघाटमा आएका खनालले परिवारलाई भन्दा बढी चलचित्र मानवलाई समय दिएपछि अभिनयको नसाले उनलाई अझै छाडेको रहेनछ भन्ने कुरा प्रस्ट भएको थियो । आफू जहाँ, जसरी रहे तापनि नेपाली कला, चलचित्र र नेपाली दर्शकलाई भुल्न नसक्ने अभिव्यक्ति दिने खनाल अब भने भदौमा नेपाल आउने भएका छन् । यसपटक उनको यो नेपाल आउनुको कारण भने दुईवटा छन् । सरोज भन्छन्, ‘मैले करिब एक दशकपछि अभिनय गरेको चलचित्र मानव भदौमा रिलिज हुन लागेको छ र दशैं पनि आयो । यी दुई कुरालाई मिलाउन म भदौमा आउँछु ।’
अमेरिकामा रहे तापनि नेपाली चलचित्रबारे उनले राम्ररी अध्ययन गरेका रहेछन् । ‘अहिले निकै राम्रा सिनेमा बन्ने गरेका छन् । यो कुरामा सबै विज्ञ भइसकेका छन् । प्राविधिक रूपमा पनि नेपाली सिनेमाको स्तर बढेकोले दर्शकहरू पनि बढेका छन्’ खनालको भनाइ छ ।
चलचित्रमा अभिनय गर्ने इच्छा रहे तापनि समयको बेफुर्सदीका कारण आफूले त्यो इच्छा पूरा गर्न नपाएकोमा भने उनको चित्तदुःखाइ छ । भविष्यमा उमेरले अभिनय गर्न साथ नदिए पनि मेकरका रूपमा भने नेपाली चलचित्रमा लागिपर्ने सोच उनले लिएका रहेछन् । ‘यो मेरो पुरानो योजना हो । आर्थिक रूपमा मजबुत भएपछि यो सपना पूरा गर्नेछु,’ सरोजले भने ।