किसानलाई मल दिन नसक्नेले चुनाव गराउने ?–डा. रामशरण महत

किसानलाई मल दिन नसक्नेले चुनाव गराउने ?–डा. रामशरण महत


(पूर्वअर्थमन्त्री एवम् नेपाली काङग्रेसका नेता)
सरकारले बजेट ल्याउन मिल्दैन भनी तपाईंहरूले औंला उठाउँदाउठाउँदै बजेट त आइछाड्यो नि, के भन्नुहुन्छ ?
– म यसलाई बजेट मान्दिनँ । यसलाई बजेटको रूपमा हेर्नुभन्दा पनि अन्तरिम खर्च व्यवस्था भन्न रुचाउँछु म । कतिपयले यसलाई ‘विशेष बजेट’ भनेर पुकारेको पनि सुनेँ, तर यो राज्यले खर्च चलाउनका लागि गरेको ‘विशेष व्यवस्था’चाहिँ हो न कि विशेष बजेट । संविधानकै शब्द हेर्ने हो भने पनि अन्तरिम खर्च व्यवस्थापन भन्ने उल्लेख छ । अर्थमन्त्रीले तामझामका साथ यो वार्षिक बजेट नै हो भने जसरी तमासा देखाउनु हास्यास्पद छ । यो गलत भयो ।
कसरी गलत भयो, के सरकारले बजेट ल्याउन पाउँदैन र ?
– सरकारले बजेट ल्याउन नपाउने कसले भन्छ र ? तर, ‘वार्षिक नीति–कार्यक्रमकै रूपमा ल्याउन खोजेको थिएँ, राजनीतिक सहमति नजुटेको हुनाले यति मात्र गर्नुपर्‍यो’ भनेर अर्थमन्त्रीले रुन्चे वक्तव्य दिने अधिकार कहाँबाट पाए ? योचाहिँ गलत भयो भनेको मैले । उहाँले स्पष्ट भन्नुपथ्र्यो कि यो सरकार कामचलाउ हो, म कामचलाउ सरकारको कामचलाउ अर्थमन्त्री हुँ, कामचलाउ सरकारले पूर्णबजेट ल्याउन सक्दैन भनेर । बजेट ल्याउनका लागि त सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुनुपर्छ । अहिले त संसद् पनि छैन । त्यसैले मैले संविधानको धारा ९६ (क) अनुसार यो बजेट नभएर सरकारको अन्तरिम खर्च व्यवस्था भनेको हुँ । एकातिर निर्वाचनको घोषणा गर्ने अनि फेरि नयाँ कार्यक्रमको कुरा गर्ने ? आचारसंहितामा बाँधिनुपर्दैन ? एउटा कर्मचारीको सरुवा गर्न त यतिबेला निर्वाचन आयोगले रोकेको छ भने मैले यस्तो–यस्तो गर्न लाग्दा राजनीतिक दलहरूले दिएनन् भन्ने आरोप लगाउन मिल्थ्यो ?
बजेटको आकार पनि ठूलो भयो भनेका छन् नि अर्थविद्हरूले, हो ?
– गत वर्षको खर्चको आकारलाई जानी–बुझीकन जबर्जस्ती ठूलो देखाएर त्यसको तृतीयांश भन्ने धृष्टता गरिएबाटै उहाँहरूको नियत ठीक छैन भन्ने बुझिन्छ । वास्तविक खर्च त्यति हुनै सक्दैन । झन्डै तीस अर्बजति वास्तविक खर्चभन्दा बढाएर अनुमानित खर्च छुट्याइएको छ । यस हिसाबले बीस अर्ब रकम बढी देखाइएको छ । लाज छोप्न मात्र यस्तो गरिएको हो, यो खर्च हुने रकम पनि होइन ।
निजी क्षेत्रले बजेटप्रति निराशा देखाएको किन होला नि ?
– खै किन हो, उहाँहरूको कुरा म त्यति बुझ्न पनि सक्दिनँ । कहिले के भन्नुहुन्छ कहिले के भन्नुहुन्छ उहाँहरू । निजीक्षेत्रको व्यथा आफ्नै ठाउँमा होला तर निजीक्षेत्रका साथीहरूले केचाहिँ स्पष्टसँग बुझ्नुपर्ने थियो भने कामचलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै हुँदैन । यो बुझेपछि पूर्णबजेट नआएकोमा गुनासो र असन्तुष्टि किन ? अर्को कुरा यो देशमा माओवादीले नेतृत्व गरेको सरकारबाट निजीक्षेत्र कहिले उत्साहित थियो र अहिले उत्साह खोजेको हो ? जहिले पनि माओवादीले त निराश नै पारेको त हो । निजीक्षेत्र मात्र होइन यो सरकारको क्रियाकलापबाट सिङ्गो मुलुक नै निराश छ ।
यो सरकारले गराउने चुनावमा भाग नलिने भन्नुभएको छ तपाईंहरूले, तर सरकारले त निर्वाचनका लागि समेत बजेट तोक्यो नि ?
– भनिहालेँ नि मैले लाज छोप्नका लागि चुनावी बजेट छुट्याएको भनेर त । चुनावको घोषणा गरेपछि बजेट नछुट्याउँदा त अरूले खिसिट्युरी गर्ने भए नि । बाबुरामजीले पनि कहाँ चिताएका छन् र चुनाव हुन्छ र रकम खर्च हुन्छ भनेर ? असारमा किसानलाई मल दिन नसक्ने सरकारले चुनाव गराउन सक्छ भनी कसैले ठान्छ भने त्यो मूर्खता मात्र हो ।

बजेटले समस्या सम्बोधन नगरे प्रतिपक्षी दोषी हुनेछन्–डा. डिल्लीराज खनाल
एमाओवादीका सल्लाहकार एवम् अर्थविद्
सरकारले ल्याएको बजेटको आकार ठूलो भयो भनिएको छ, हो ?
– संविधानतः जे व्यवस्था भएको छ त्यसैको सीमाभित्र रहेर बजेट आएको छ । यसमा ठूलो या सानो भन्ने प्रश्न नै बेकार हो ।
यो बजेटले मुलुकको अर्थतन्त्र अगाडि बढाउन कुनै सघाउ पुर्‍याउँदैन भनेकोचाहिँ के हो नि ?
– यो कुरो त सरकारलाई भन्दा पनि प्रतिपक्षलाई भन्नुपर्ने विषय हो । सरकारले त सहमति गरौँ र पूर्णबजेट ल्याऔँ भनेर बारम्बार भनेकै हो नि । प्रतिपक्षहरूले नै नमानेका होइनन् र ? सरकारले त मुलुकको विकास निर्माण गर्नुछ, आर्थिक समृद्धिका लागि नयाँ–नयाँ कार्यक्रम ल्याएर धेरै काम गर्नु आवश्यक छ भनेकै थियो, किन नमानेको प्रतिपक्षीहरूलाई सोध्नुहोस् न ।
यसको मतलब प्रतिपक्षीहरूले सरकारलाई झुक्न बाध्य पारे होइन ?
– झुकायो भन्न त मिल्ने कुरै छैन । मुलुकको अवस्थाले नै सहमतिको माग गरिरहेको छ । राष्ट्रिय सहमतिको विकल्प नै छैन । यही जिम्मेवारीबोध गरेर नै यसरी तृतीयांश बजेट ल्याउन सरकार लचकदार बनेको हो । बजेटमा राजनीति नगरौँ, सबै मिलेर छलफल गरी पूर्णबजेट नै ल्याऔँ भनिरहेको थियो सरकारले त । यो सरकारजस्तै अरू दलहरू पनि लचकदार बनिदिएका थिए भने मुलुक र जनताको हितमा धेरै काम हुन सक्थ्यो । अब यो बजेटले मुलुकका समस्या सम्बोधन गर्दैन भने यसको जिम्मेवारी प्रतिपक्षी दलहरूले नै लिनुपर्छ भन्ने मलाई लाग्छ ।
कामचलाउ सरकारले सहमतिबाट अर्को राष्ट्रिय सरकार निर्माणका लागि बाटो छोडिदिनुपर्नेमा बजेट ल्याउनेतिरचाहिँ किन लागेको होला नि ?
– जबसम्म पार्टीहरूबीच सहमति हुँदैन, जबसम्म नयाँ संविधान निर्माणका सन्दर्भमा भएका मतभेदहरूमा सहमति निर्माण हुँदैन त्यतिबेलासम्म यो सरकारले बाटो छोड्ने भन्ने सवाल नै असान्दर्भिक बनेर रहन्छ । अहिले यत्तिकै सरकार छोड्न् भनेको राजनीतिक र आर्थिक दुवै रूपले देशलाई भड्खालोमा पार्नुबाहेक अरू केही हुन सक्दैन । त्यस्तो गैरजिम्मेवारपूर्ण काम प्रधानमन्त्रीबाट हुनुहुँदैन ।
बजेटबाट निजीक्षेत्र निकै निराश बनेको देखियो, किन होला ?
– निश्चित रूपमा यो स्वाभाविक छ । सरकारले पूर्णआकारको बजेट ल्याउनुपथ्र्यो, त्यसमा मात्र निजीक्षेत्रले आफ्ना उद्योगधन्दा तथा आर्थिक कारोबारलाई सुनिश्चितताका साथ अघि बढाउन सक्थे, लगानी बढाउन सक्थे । त्यो नभएपछि निराश हुनु त स्वाभाविक नै भयो नि ।
चुनाव नै हुन नसक्ने भनिरहेको अवस्थामा तीन अर्ब बजेट छुट्याउनु पनि मनासिव कार्य हो त सरकारको, के भन्नुहुन्छ ?
– राजनीतिक दलहरूबीचमा सहमति नभएसम्म चुनाव हुन सक्दैन भन्ने त सबैले बुझेकै कुरा हो । सर्वोच्च अदालतले जे फैसला गरेर सरकारलाई निर्देश गरेको छ त्यसैको परिपालना गरेको हो सरकारले । चुनाव गराउने दायित्व ठानेर चुनावको घोषणा गरेको हो । अब विपक्षीका कारण चुनाव हुन सक्दैन भने बेग्लै कुरा, होइन भने त घोषित चुनावका लागि बजेट नछुट्याई हात बाँधेर कसरी बस्न सक्छ त सरकार ? एउटा कुरा ध्यानमा राखौँ कि कुनै पनि विवेकी नागरिकले अहिलेको हालतमा चुनावको विरोध गर्न सक्दैन, गर्न मिल्दै मिल्दैन ।
– ऋषि धमला