नेपालको प्रतिष्ठित म्याराथन ‘काठमाडौं म्याराथन’को नवौँ संस्करण सम्पन्न भएको छ । उक्त नवौँ संस्करणको उपाधि पूर्ण तामाङले जितेका छन् । तामाङले निर्धारित दूरी दुई घन्टा २२ मिनेट १९ सेकेन्डमा पूरा गेरका थिए । उपाधिसँगै तामाङले ४५ हजार प्राप्त गरेका थिए । त्यस्तै हामलाल श्रेष्ठ दोस्रो र तीर्थ तामाङ तेस्रो भएका थिए । उनीहरूले क्रमशः २० र १५ हजार प्राप्त गरेका थिए ।
महिलातर्फको हाप म्याराथनमा रेसु बस्नेतले बाजी मारेकी थिइन् । उनले एक घन्टा ३६ मिनेट २८ सेकेन्डको समय निकालेकी थिइन् । त्यस्तै विदेशी नागरिक हान्नेके कोइगेर दोस्रो र पुष्पा शेर्पा तेस्रो भएकी थिइन् । यसैगरी पाँच किलोमिटर खुल्ला दौडमा पुरुषतर्फ हरि रिमाल र महिलातर्फ विश्वरूपा बुढाले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै पाँच किलोमिटर स्कुल दौडतर्फ पुरुषतर्फ खड्ग बुढामगर र केटीतर्फ हुमे बुढामगर प्रथम भएका थिए । यसैगरी ह्विलचियरतर्फ रामबहादुर तामाङले बाजी मारेका थिए । काठमाडौं म्याराथनमा नौ सय ७८ जनाको सहभागिता रहेको आयोजक प्रमुख निलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।
प्रतिक्रिया