नेपालीमा एउटा भनाइ छ -जुन दाम्लो बाटे पनि पसेउटो त एउटै हुन्छ, त्यस्तै हाल भारतले गरेको नाकाबन्दीलाई अघोषित, घोषित जे भने पनि नेपालले पाउँदै आएको सुविधालाई अबरोध खडा गरी नाका बन्द गर्नुलाई घोषित तथा स्पष्ट नाकाबन्दी नै भन्दा पनि कुनै फरक नपर्ला । भारत रिसाउला भनेर नेपालले कायरतापन देखाउँदै अघिषित नाकाबन्दीको रुपमा लिन खोज्नु र भारतले पनि अन्तर्राष्ट्रिय नजरमा छारो हाल्ने प्रयासस्वरूप सुरक्षाको बहाना गर्नुलार्इ भने अर्कै पाटोको रुपमा लिन सकिन्छ ।
दुइटा भूकम्पको चपेटामा परेर बाँचेका नेपालीहरूले बल्लतल्ल शीर उठाउन लागेको अवस्थामा भारतले गरेको यो अत्यचारलाई तेस्रो अनि सबैभन्दा शक्तिशाली महाभूकम्पको रुपमा लिन सकिन्छ । जब नेपालमा भूकम्प गयो अनि उक्त भूकम्पका कारण नेपाल र नेपाली बीचमा निकै नै आत्मीयता बढ्न गएकोछ, एक अर्कालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएकोछ, जसको फलस्वरूप लामो समयदेखि बन्न नसकेको संविधानले जीवन्तता पाउन सकेकोछ । अर्थात् यो भूकम्पले नेपाली जनतालाई दुइटा ठूलो पाठ सिकाएर गएकोछ -पहिलो पाठ हो ‘म त सधैं अमर रहन्छु’ भन्ने जस्तो अभिमान भएका पूँजिपति र सडकमा जीवन बिताउनेहरु पनि समान नै रहेछ भन्ने कुरालाई अहिले सबैले महशुस गरेका छन् तर पनि त्यसलाई फेरि तुरुन्तै नाबिर्सलान् भन्न चाहिं सकिन्न । दोस्रो पाठ भनेको ठूलो घर बनाएर सानो घर हुनेहरुका अगाडी छाती चौडा गरेर हिड्ने र आफूखुशी भवन निर्माण गर्नेहरुले भने ठूलै पाठ सिकेकाछन् जसले गर्दा बिगतमा जस्तो क्षति अब भविष्यमा नेपालले बेहोर्नु नपर्ला ।
यसरी हजारौं मानिसहरुको ज्यान गुमाएर पाठ सिकेर भविष्यमा पुनः त्यस्तै क्षतिबाट बच्ने पाठ सिकाएकोछ भने भारतले गरेको यस पटकको नाकाबन्दीबाट नेपाल र नेपाली जनताले किन पाठ नसिक्ने ? आफ्नो घरमा मीठो खाना पाक्यो भन्दैमा छिमेकीले पकाएको खानालाई नमीठो भनेर फ्याँकिदिन मिल्छ र ? हुन सक्छ, त्यो उसको बाध्यता होला उसँग मीठो बनाउने सामग्री नहोला या त त्यो नै उसको लागि मीठो हुन सक्छ तर अर्काको स्वतन्त्रतालाई आफ्नो अधिकार लाद्न भने पाइन्न । बल्लतल्ल संविधान बन्यो भनेर धेरै नेपालीहरुले खुसियाली मनाइरहँदा भारतले नाकाबन्दी गरेर आफ्नो क्रूर र निर्दयीपनको परिचय विश्वसामु दिएकोछ । नेपालको हरेक क्रियाकलाप भारतको हितअनुरुप गर्नुपर्ने भए संविधान बनाउन पनि भारतीयहरुलाई नै ल्याएर बनाउदा भइहाल्यो नि, अब पनि उनीहरुकै इशारामा संविधान बनाउने हो भने भविष्यमा भारतबाटै आएर संविधान बनाउन बाध्य पार्नेछ भारतले ।
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा स्वर्गबाट इन्द्र आएजस्तै ठान्ने नेपाली जनताले भारतको व्यवहारलार्इ रंगमंचको एक नाटक जस्तो ठानिसकेका छन् । तसर्थ भारतले गरेको यो क्रियाकलापलाई भूकम्पले दिएको जस्तै पाठ सिक्नुपर्छ र तुरुन्त त्यसकाे विकल्पलाई अगाडि बढाउनु पर्दछ । अबको सरकारले यसतर्फ कदम नचाली भारतलाई नै खुशी पार्ने र उसलाई रिझाउनेतर्फ लाग्ने हो भने भविष्यमा पटक-पटक नेपालीहरुको चुलोमा आगो बल्न पाउने छैन, अनि राहत लिनलाई जस्तै पेट्रोल पम्पमा रातदिन लाइन लाग्ने क्रम निरन्तर दोहोरिरहनेछ । तर जुनसुकै कारणले भारतले यस्तो गरेता पनि यसको बिकल्पमा सरकारले केही न केही गर्नैपर्छ । जनतालाई अन्तरिक स्रोतमा निर्भर तुल्याउन ग्याँस र इन्धनजस्ता वस्तुको विकल्पको खोजीमा नेपालले जोडतोडका साथ लाग्नुपर्दछ ।
सरकारले जनतालाई आर्थिक अनुदानको घोषणा गरेर अर्काको मुख ताक्ने परम्परालाई त्याग्नको लागि बाध्यात्मक रुपमा तुरुन्त कार्यान्वयनतर्फ लाग्नुपर्दछ । पदको शपथ खाने बित्तिकै भारतको भ्रमण गर्ने र भारतीय नेताको दर्शन गर्नुलाई नै माहान कर्तव्य ठान्दै जाने हो भने नेपाली जनताको राष्ट्रियता नै गुम्न कुनै बेर लाग्नेछैन । साधारण बिषयलाई लिएर चक्काजाम, नेपाल बन्द जस्ता कार्य गर्ने नेपाली जनताहरुले यस्तो किसिमको कार्यमा सरकारलाई खबरदारी गर्नु अत्यन्त आवश्यक छ । वंगलादेशका जनताले समेत नेपालको सहयोगको लागि भनेर हामी साथ दिन्छौं भन्दै प्रदर्शन गरेका छन् भने हामी आफ्नो देशको लागि किन पछि हट्ने ? भूकम्प पीडितहरुको सहयोगार्थ जसरी देश विदेशबाट एक जुट भएर नेपालीहरुको साथ् जुट्यो त्यस्तैगरी नेपालको स्वाभिमानको लागि पनि सबैको तर्फबाट साथ जुटाउनु सबैको दायित्व र कर्तव्य हुनेछ ।
-लण्डन
प्रतिक्रिया