खेल समाचार

खेल समाचार


sportसर्वोच्चको अन्तरिम आदेश
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलाई राहत प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्यसचिवको नियुक्तिलाई गैरकानुनी भन्दै कारबाहीका लागि सिफारिस गरे पनि सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेको छ । सर्वोच्चले अख्तियारको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उनको चारवर्षे कार्यकालले सुनिश्चितता पाएको छ । गत महिना सदस्यसचिव विष्टले आफ्नो नियुक्ति नियमसङ्गत भएको भन्दै अख्तियारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । गत साता भएको सुनुवाइमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अख्तियारको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सदस्यसचिव विष्टको पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भू थापा, सुशीला पन्त, तुलसी थापा, टीकाराम भट्टराई र रमेश बडालले वकालत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको नियुक्तिसँगै विवादमा परेका विष्टलाई पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सदस्यसचिवमा नियुक्ति गरेका थिए । विष्टलाई खुद मन्त्री पौडेलले एक वर्षका लागि कारबाही गरेको चर्चा चले पनि मन्त्रालय र राखेपबाट त्यसको पुष्टि भएको थिएन । त्यसपछि आफू राजनीतिक प्रतिशोधको सिकार भएको भन्दै विष्टले सर्वोच्चमा दसैँअगाडि रिट दायर गरेका थिए । सर्वोच्चको फैसलासँगै सत्यको जित भएको भन्दै सदस्यसचिव विष्टले खेलकुदमा राजनीति नगर्न आग्रह गरेका छन् । विष्टले राजनीति गर्ने ठाउँमा राजनीति गर्दा राम्रो हुने बताउँदै खेलकुदजस्तो रचनात्मक ठाउँमा राजनीति नगर्दा नै राम्रो हुने प्रस्ट पारेका थिए ।

६६ जिल्लामा छनोट सम्पन्न
सातौँ राष्ट्रिय खेलकुद– ०७२ अन्तर्गत ६६ जिल्लामा जिल्ला छनोट प्रतियोगिता सम्पन्न भएको छ । ६६ जिल्लामध्ये केही जिल्लामा केही खेलबाहेक तोकिएका सम्पूर्ण खेलको छनोट सम्पन्न भएको सातौँ राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनालले जनाएका छन् । छनोट हुन बाँकी जिल्लामा सिरहा, रसुवा, पर्सा, बारा, रौतहट, महोत्तरी, गोरखा र पर्वत रहेका छन् । बाँकेमा छनोट प्रतियोगिता सुरु भएको छ । सातौँ राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिएको छ ।

ताइवानद्वारा सहयोगको प्रतिबद्धता
ताइवान ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई नेपाली खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकाको वासिङ्टनडिसीमा अक्टोबर २९–३० मा भएको एसोसिएसन अफ नेसनल ओलम्पिक कमिटी (एनोक)को २०औँ साधारणसभाका दौरान ताइवानले विभिन्न खेलका लागि छात्रवृत्ति, खेल सामग्री र तालिममा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्षसमेत रहेका एनओसीका महासचिव लामा टेन्डी शेर्पाले जनाएका छन् । लामासहित एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ साधारणसभामा सहभागी थिए । त्यसका लागि ताइवानले दुई देशबीच सम्झौता गर्न निमन्त्रणासमेत दिएको शेर्पाले जानकारी गराएका छन् ।

काठमाडौंबाट ब्याडमिन्टन खेलाडी छानिए
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हुने क्षेत्रीय प्रतियोगिताका लागि काठमाडौं जिल्ला खेलकुद विकास समितिले ब्याडमिन्टन खेलाडीको छनोट सम्पन्न गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवकुमार न्यौपानेको उपस्थितिमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फबाट प्रथमदेखि छैटौँ स्थानमा क्रमशः तीर्थ मल्ल, नारायण गौतम, जीवन सुनुवार, अरुण गदाल, अभिनाश राजभण्डारी र सुजन चौलागाई छनोट हुन सफल भएका छन् ।
नेपाल ब्याडमिन्टन सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठ, सदस्य नवीनविक्रम शाह, काठमाडांै जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाको रोहवरमा भएको प्रतियोगिताबाट महिलातर्फ प्रथमदेखि चौथो स्थानमा क्रमशः रिना पुन, ज्योति लिम्बू, फिजी बानियाँ र विनिता प्रजापती छनोट भएका छन् । काठमाडांै जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा २१ पुरुष र चार महिलाले सहभागिता जनाएका थिए । काठमाडौं जिल्लाबाट क्षेत्रीय प्रतियोगिताका लागि ६ पुरुष र चार महिलाको कोटा निर्धारण गरिएको छ ।

राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो अर्को महिना
मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (यूयूएनटीएफ) नेपाल च्याप्टरको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप मङ्सिर ५ गते हुने भएको छ । प्रतियोगिता अमेरिकाको पोर्टल्यान्डस्थित ओरेगनमा सन् २०१६ को अक्टोबर १४ देखि १५ तारिखसम्म हुने ११औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)का लागि नेपाली खेलाडीको छनोट गर्न आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक अष्टबहादुर महर्जनले जनाएका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने एकदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा आयोजक मैत्री डोजाङका खेलाडीको सहभागिता रहने बताइएको छ । राष्ट्रिय प्रतियोगिताअघि जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिता पनि हुनेछ ।
पुरुषमा ५४, ५८, ६३, ६८, ७४ र ८० केजी तथा महिलामा ४६, ४९, ५३ र ५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा तीन र महिलामा दुई गरी जम्मा पाँच खेलाडी पोर्टल्यान्डमा हुने च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
पुरुषमा ५४ र ५८ केजी, ६३ र ६८ केजी तथा ७४ र ८० केजीमा पहिलो हुने दुई खेलाडीबीच ओलम्पिक स्ट्यान्डर्डअनुसार पुनः प्रतिस्पर्धा हुनेछ । उक्त दुई–दुई तौल समूहमा पहिलो हुने तीन पुरुष खेलाडीले पोर्टल्यान्डको टिकट पक्का गर्नेछन् । महिलामा पनि सोहीअनुसार दुई खेलाडी छानिनेछन् ।
छनोट भएका खेलाडी कुनै कारणवश पोर्टल्यान्ड जान नपाएको खण्डमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न तौल समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिता अवलोकनका लागि आईओएफटीसीकी महासचिव केरन ब्ल्याकलेज अमेरिका तथा बोर्ड डाइरेक्टर राष्ट्र राई लन्डनबाट नेपाल आउने कार्यक्रम रहेको प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी गराएका छन् ।