राखेप किन मौन ?

राखेप किन मौन ?


national-sports-council-nepalम्याच फिक्सिङको आहालमा चुर्लुम्म डुबेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) यू–१६ मा बढी उमेरका खेलाडी खेलाएको अभियोगमा एसियाली फुटबल महासङ्घ (एएफसी)ले प्रतिबन्ध लगाएपछि ठूलो सङ्कटमा परेको छ । केही महिना पहिले किर्गिस्तानमा सम्पन्न एएफसी यू–१६ छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यू–१६ च्याम्पियनसिपमा छनोट हुन सफल भएको थियो । तर, एएफसीले तीनजना नेपाली खेलाडीमाथि गरेको एमआरआईमा कप्तान मनीष कार्की असफल भएपछि आगामी वर्ष भारतमा आयोजना हुने च्याम्पियनसिपमा नेपाल अयोग्य ठहरिएको हो । बढी उमेका खेलाडी खेलाएको प्रमाणित भएपछि एएफसीले नेपाललाई १४ हजार पाँच सय अमेरिकी डलरको जरिवानासमेत गरेको छ ।
यसरी एन्फाको कमजोरी सार्वजनिक रूपमा छताछुल्ल हुँदासमेत राष्ट्रिय खेलकुद परिषद् मौनता साँधेर अनदेखी र अनसुनी गरेर बसेको छ । आफूअन्तर्गतको एउटा सङ्घको गैरकानुनी हर्कतले मुलुकको मान, सम्मान र प्रतिष्ठा दाउमा लाग्दासमेत स्पष्टीकरण सोध्ने साहससमेत गर्न सकेको छैन । आफ्नो स्वार्थ पूरा गर्न खेलाडीलाई बलिको बोका बनाउँदै आएको एन्फाले राष्ट्रलाई बद्नाम गर्न विशेष भूमिका निर्वाह गरेको प्रमाणित हुँदासमेत राखेपले किन कारबाही बढाउन सकेको छैन त्यो अहिले चिन्ताको विषय बनेको छ । एन्फा अध्यक्ष गणेश थापा भएकाले राखेप डराएको हो भने त बेग्लै कुरा हो अन्यथा गल्ती गर्नेलाई कानुनी कठघरा उभ्याउनु राखेपको कर्तव्य र दायित्व हो कि होइन ? खेलकुद राष्ट्रको, खेलाडी राष्ट्रको, बद्नाम राष्ट्रको हुने भएपछि राष्ट्रलाई बद्नाम गराउने खलनायकहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? त्यो कुरा राखेपले गम्भीर रूपमा लिन आवश्यक छ । अन्यथा यी धमिराले आज फुटबल सिध्याए, भोलि खेलकुद नसिध्याउलान् भन्न सकिँदैन ।
फुटबलमा थापाको तानाशाही शासन चलेको दुई दशक बितिसकेको छ । यो अवधिमा थापालाई विभिन्न आरोप लागेको मात्र होइन, लागेका सम्पूर्ण आरोपसमेत प्रमाणित भएका छन् । शक्तिको आडमा एन्फामा आफ्नो तानाशाही चलाउँदै आएका थापालाई अहिलेसम्म देशको कुनै सरकार र कानुनले छुन सकेको छैन । थापाले बारम्बार गल्ती गर्दा र उनीमाथि संगीन आरोप लाग्दासमेत उनी सधैँ शक्तिकेन्द्रको आडमा बच्दै आएका छन् । यतिबेला उनी अझ सभासद् छन्, उनका दाजु उपप्रधान तथा परराष्ट्रमन्त्री छन् । यस्तो अवस्थामा राखेपले उनलाई छुनु भनेको आगोेमा हात हाल्नुहुनेछ । र पनि, एन्फा त राखेपको हो नि, त्यहाँ धावा बोल्दा राखेपको इज्जत जाला र ?