जवानीमा प्रवेश गर्न लागेका सन्तानप्रति यस्तो व्यवहार गर्नुस्

जवानीमा प्रवेश गर्न लागेका सन्तानप्रति यस्तो व्यवहार गर्नुस्


Portrait of mother and daughter hugging
तपाईं कुनै किशोर–किशोरीका आमाबुबा हुनुहुन्छ भने अघिपछिको तुलनामा विशेष सजग रहनु आवश्यक हुन्छ । केटा या केटीहरूसँगको मित्रता तथा पुरुष वा स्त्रीप्रतिको आकर्षण, स्न्यापच्याट, सामाजिक सञ्जालका माध्यमप्रति लगाव, छोटा तथा फेसनेबल पोसाकलगायतका कतिपय कुरा तपाईंका किशोर–किशोरी छोराछोरीको आदत बनिसकेको होला ।

अहिलेसम्म त उनीहरूले संसारलाई तपाईंहरूको आँखाबाट हेर्ने वा बुझ्ने गरिरहेका थिए भने अबचाहिँ उनीहरूको आफ्नै सोच विकसित हुन थालेको हुन्छ । यस्तोमा किशोरी छोरीको हकमा आमाले र छोराको हकमा बाबुले विशेष सतर्क हुनुपर्ने हुन्छ । तर, यसको अर्थ किशोर–किशोरी सन्तानप्रति अनावश्यक बन्धन र रोकावट लगाउनु भन्नेचाहिँ होइन । अभिभावक सतर्क वा सजग रहनु भन्नुको मतलब यो हो कि छोराछोरीले कुनै गलत बाटो समाउनुअघि नै तपाईंले रोक्न सक्नुहोस् । किनकि, किशोरावस्थामा आइपुग्नेबित्तिकै बच्चाहरू आफ्नो दुनियाँलाई आफ्नै तरिकाबाट सजाउन थाल्छन् । कतिपय अवस्थामा त उनीहरूलाई आफ्ना बाबुआमाका अर्ती–उपदेश तथा रोकटोकका कुरा नराम्रो लाग्न सक्छ । यसले जुन काम कुरा नगर्नु भनिएको हुन्छ त्यस्ता काम उनीहरू लुकिछिपी गर्न सुरु गर्छन् । यस्तोमा आमाबुबाले समझदारीपूर्वक व्यवहार गर्नु आवश्यक हुन्छ । जस्तो कि,

१. शारीरिक परिवर्तनअनुरूप सोच–व्यवहार बदल्न समय लाग्छ :
किशोर उमेरबाट जवानीतिर लम्कन लागेका सन्तानले स्वयम् पनि आफूभित्र विभिन्न प्रकारका बदलावको महसुस गरिरहेका हुन सक्छन् । यस्तोमा खासगरी किशोरी छोरीप्रति जतिबेला पनि तिनको सोच–व्यवहारप्रति टीका–टिप्पणी गर्नु, रोकटोक गर्न खोज्नु सही हुँदैन । तिनलाई आफूले आफैँलाई सम्झने–बुझ्ने पर्याप्त मौका प्रदान गर्नु सही विकल्प हुन सक्छ । जब तिनले आफूभित्र तथा आफ्नो आसपास भइरहेको बदलावलाई आफैँ बुझ्न या महसुस गर्छिन् तब राम्रो हिसाबले निर्णय लिन सक्छिन् । बाबुआमाले आफ्नो सोचविचारलाई सन्तान वा विशेषत: छोरीप्रति थोपर्न खोज्नु बिल्कुल उपयुक्त हुँदैन ।

२. अरूसँग तुलना गर्नुहुँदैन :
प्राय: आमाबाबुहरू छरछिमेकका किशोर–किशोरी या आफ्ना नातेदारका छोराछोरीसँग आफ्ना छोराछोरीको तुलना गर्ने गर्छन्, तर यो अभिभावकहरूको निम्ति खतर्नाक हुन सक्छ । बच्चाहरू अक्सर यस्ता कुरालाई आफ्नो अपमानको रूपमा बुझ्दछन् । यसले गर्दा उनीहरूले आफ्ना बाबुआमालाई नै दुश्मनसरह ठान्न सक्छन् ।

३. उनीहरूलाई पनि ‘स्पेस’ चाहिन्छ :
हरेक मानिस आफ्नो अलग स्थानको चाहना राख्छन् । तपाईंका किशोर–किशोरीलाई पनि आफ्नै स्पेसको आवश्यकता महसुस भएको हुन्छ । यस्तोमा हरेक क्षण जासुसझैँ उनीहरू के गर्छन्, कहाँ जान्छन्, कोसँग घुम्छन् भनी सोधपुछ गरिरहनु सही हुँदैन । उनीहरूलाई स्पेस दिनैपर्छ । यसो गर्दा आमाबाबु र सन्तानबीच एक–अर्काप्रति भरोसा रहिरहन्छ ।