
काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई महिनाभन्दा बढीको कर्मचारी आन्दोलन अन्तत: गत सोमबारदेखि रोकिएको छ । मुलुकको विषम परिस्थितिमा पनि तुलनात्मक रूपमा सचेत कर्मचारीहरू कार्यरत रहेको भनेर चिनिएको नेपाल राष्ट्र बैंकभित्र एकाएक भाँडभैलो मच्चिनुमा को दोषी होलान् ? एमालेको भातृ सङ्गठनसरह सञ्चालन हुँदै आएको नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घले डेढ दशकअघि डा. तिलक रावल गभर्नर हुँदा पनि झण्डै दुई महिनासम्म धर्ना र निषेधको आन्दोलन गरेको थियो । आठ महिनाअघि नेपाली काङ्ग्रेसको सरकारले नियुक्त गरेका कारण गभर्नर डा. चिरञ्जीवी नेपाललाईसमेत नेपाली काङ्ग्रेसको प्रतिनिधिको रूपमा हेर्दै आएको एमाले सङ्घले आन्दोलनको प्रपञ्चचाहिँ पूर्वगभर्नर युवराज खतिवडा बैंकमा छँदै रचिएको बुझिएको छ ।
आफूलाई महान् अर्थशास्त्री ठान्ने खतिवडा स्वयम् गभर्नरको कार्यकालभर निकै विवादमा तानिए । तर, एमाले कर्मचारी सङ्घ र त्यसका अध्यक्ष वसन्तराज पाण्डे सधै खतिवडाको ढाल बनेर प्रतिकारमा उत्रिए । माधव नेपालको सरकारको पालामा योजना आयोगको उपाध्यक्षमा नियुक्त खतिवडा ‘ग्ल्यामर’ खोज्दै तत्काल नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हाल्न पुगेका थिए । तर गत वर्ष काङ्ग्रेस सरकारले उनको कार्यकालपश्चात् डा. नेपाललाई गभर्नरमा नियुक्त गर्ने पक्कापक्की भएपछि खतिवडाले चिरञ्जीवी नेपाललाई आफूभन्दा कमजोर र विवादित गभर्नर देखाएर वित्तीय क्षेत्रमा समग्र हिसाबले आफू मात्र सफल अर्थशास्त्री देखाउन सङ्घको नेतृत्वलाई आन्दोलनको माहोल सिर्जना गर्न लगाएको स्रोतको दाबी छ । यसका लागि खतिवडाले एक वर्षअघि नै सङ्घलाई बेतुकको माग पेश गरी वातावरण बनाउन सक्दो प्रायोजन गरेका थिए । त्यहि प्रायोजित मागको फेर समातेर एमाले सङ्घले मुलुक संवेदनशील अवस्थामा पुगेको परिवेशमा पनि गभर्नर नेपालको विरुद्धमा एकोहोरो अलाप गरेको हो ।
गत महिना पुन: योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका खतिवडा घुमाइफिराई मुलुकको वित्तीय क्षेत्र पुन: आफ्नै हालीमुहालीमा रहोस् भन्ने सोचमा थिए । तर, प्रधानमन्त्रीले हालै गरेको राष्ट्रको नामको सम्बोधनमा आफ्ना सुझावलाई लत्याएको थाहा पाएपछि उनी मूलत: अर्थमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग निश्चित दूरीमा बस्न खोजिरहेका बुझिन्छ । यसैबीच सरकारले सचिवहरूको सरुवा गर्ने चाल बुझेपछि आफूअनुकूलको राजन खनाललाई अर्थसचिव बनाएर योजना आयोगबाटै अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा रिमोट चलाउन खोजेका खतिवडा सरकारले लोकदर्शन रेग्मीलाई अर्थसचिव बनाएपछि अरु बढी रन्थनिएका हुन् । स्मरणरहोस्, अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था छ ।
यसबाट दुईवटै निकायमा आफ्नो बर्चस्व नहुने देखिएपछि गत सातादेखि खतिवडाको निर्देशनमा कर्मचारी संघले बैंकमा गभर्नरलाई थुन्ने र हायलकायल बनाउने रणनीति अवलम्बन गरेको प्रस्टै बुझिन्छ । यसबाट गभर्नर नेपालले आवेगमा पद छाड्न सक्ने उनीहरूको निश्कर्ष थियो । त्यस्तो अवस्थामा सके पुन: आफू, नसके आफ्नो छाया भएर काम गर्न चाहनेलाई बाँकी अवधिको लागि गभर्नर बनाउने डा. खतिवडाको ‘महान्’ मार्गचित्रबमोजिम नै एमाले सङ्घले आक्रामक आन्दोलन गरेको पुष्टि एकपछि अर्को घटनाक्रमले गर्न थालेको छ ।
प्रतिक्रिया