
– श्रीविक्रम भण्डारी
मधेस आन्दोलनले मुलुकका हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा खेलकुद पनि यसको प्रत्यक्ष मारमा परेको छ, अर्थात् अछुतो रहेको छैन । खेलकुदका घोषित, अघोषित सम्पूर्ण कार्यक्रम अनिश्चित बन्न पुगेका छन् । जसमा खेलकुदको मेरुडण्ड मानिने राष्ट्रिय खेलकुद प्रतियोगिता पनि यसको चपेटामा परेको छ । पूर्वाञ्चलमा यही मङ्सिर ११–१८ गतेसम्म आयोजना गरिने भनिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भइसकेको छ । गत साता युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १०४औँ बोर्ड बैठकले मुलुकको विषम परिस्थितिको कारण सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने निर्णय गरेको छ । त्यस्तै सातौँलाई निरन्तरता दिने क्रममा बोर्डले आगामी फागुनको १८ देखि २३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । तर, मुलुकको अवस्था यस्तै रहे अहिले निर्धारण गरेको समयमा पनि सातौँ हुने कुरामा ठूलो प्रश्न तेर्सिएको छ । यसरी लामो समयपश्चात् पूर्वाञ्चलमा आयोजना हुन गइरहेको राष्ट्रिय प्रतियोगितामा अन्योल छाएको छ । पूर्वाञ्चलमै हुन्छ भनेर ठोकुवा गर्ने अवस्था छैन ।
राखेप मङ्सिरमा सातौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेर १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा जुट्ने ध्याउन्नमा थियो । तर, देश, काल र परिस्थितिले त्यसमा तुषारापात गरिदियो । सातौँका लागि सम्पूर्ण तयारी गरिसकेको राखेपले अन्तिम समयमा आएर निर्धारित समयको खिलाप निर्णय गर्यो । परिणाम १२औँ ‘साग’को तयारी सातौँभन्दा अगाडि गर्नुपर्ने चुनौती राखेपसामु खडा भएको छ । यस्तो विषम परिस्थितिमा खेलाडी छनोट राखेपका लागि फलामको च्युरा साबित बन्ने पक्का छ । १२औँ ‘साग’ आउँदो माघ २३ गतेदेखि फागुन ४ गतेसम्म भारतको गुहाटी र सिलोङमा आयोजना हुँदै छ । त्यसका लागि राखेपका सदस्यसचिव केशवकुमार विष्टको संयोजकत्वमा तयारी तथा सहभागिता समितिसमेत गठन भइसकेको छ । १२औँ ‘साग’मा नेपालले २३ खेलमा सहभागिता जनाउने टुङ्गोसमेत राखेप बोर्ड बैठकले लगाइसकेको छ । १२औँ ‘साग’मा नेपालले एथलेटिक्स (महिला/पुरुष…), आर्चरी (महिला/पुरुष), ब्याडमिन्टन (महिला/पुरुष), बास्केटबल (महिला/पुरुष…), बक्सिङ (महिला/पुरुष…), साइक्लिङ (महिला/पुरुष…), फुटबल (महिला/पुरुष…), ह्यान्डबल (महिला/पुरुष…), हक्की (महिला/पुरुष…), जुडो (महिला/पुरुष…), कबड्डी (महिला/पुरुष…), खोखो (महिला/पुरुष…), सुटिङ (महिला/पुरुष…), स्क्वास (महिला/पुरुष…), पौडी (महिला/पुरुष…), टेबलटेनिस (महिला/पुरुष…), तेक्वान्दो (महिला/पुरुष…), टेनिस (महिला/पुरुष), ट्राइयाथलन (महिला/पुरुष…), भलिबल (महिला/पुरुष…), भारोत्तोलन (महिला/पुरुष…), कुस्ती (महिला/पुरुष) र उसु (महिला/पुरुष…) मा सहभागिता जनाउने भएको छ । यसका साथै दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने २३ वटा खेलका राष्ट्रिय सङ्घ र सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरी एक हप्ताभित्र अनुमानित बजेट तयार पारी युवा तथा खेलकुद मन्त्रालयमा पठाउने बैठकले निर्णय गरेको छ ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा निर्धारित समयमै गराउने प्रतिबद्धता जाहेर गर्दै आएका राखेपका सदस्यसचिव विष्टले अन्तिम समयमा सातौँको मिति सरेकोप्रति दु:ख प्रकट गरेका छन् । विष्टले सरकार र राखेपको चाहना हुँदाहुँदै पनि बाध्यतावश सातौँलाई फागुनमा धकेल्नुपरेको बताएका छन् । मुलुकको विषम परिस्थित र आर्थिक अभाव यसको प्रमुख कारण भएको पनि प्रस्ट पारेका छन् । तयारी अन्तिम चरणमा पुगिसकेको थियो, तर मधेस आन्दोलन सातौँका लागि बाधक बन्यो विष्टले भने । र पनि, विष्टले सातौँ ढिलो भए पनि पूर्वाञ्चलमै हुने विश्वास प्रकट गरे । पूर्वाञ्चलमा सबै तयारी भइसकेको छ, अब १२औँ ‘साग’पछि तुरुन्तै सातौँ हुन्छ । जसका लागि सरकार, खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयसमेत सकारात्मक रहेको विष्टले खुलासा गरे । अहिले हाम्रो सम्पूर्ण ध्यान १२औँ ‘साग’मा केन्द्रित रहेको बताउँदै विष्टले मुलुकलाई बढीभन्दा बढी पदक दिलाउने रणनीतितर्फ आफू लागेको बताए । विष्टले सातौँ निर्धारित समयमा हुन नसक्दा त्यसको आंशिक असर १२औँ पर्ने भए पनि त्यसको शोधभर्नाका लागि आफूले कुनै कसर नराख्ने प्रतिबद्धता जाहेर गरे । अहिले १२औँ ‘साग’को तयारीका लागि सङ्घका पदाधिकारीहरूसँग विशेष छलफल भइरहेकोसमेत जानकारी गराएका थिए ।

सातौँ नहुँदा १२औँ ‘साग’मा प्रत्यक्ष प्रभाव पर्ने प्रस्ट देखिएको छ, यसले खेलाडी छनोट र पदक–तालिकामा कत्तिको असर र फरक पार्छ भन्ने प्रश्नमा सदस्यसचिव विष्टले भने, ‘हो सरल तरिकाले भइरहेको कार्यमा अहिले अवरोध उत्पन्न भएको छ । साँचो रूपमा भन्नुपर्दा उल्टो भएको छ । पहिले राष्ट्रिय प्रतियोगिता हुनुपथ्र्यो, त्यसपछि ‘साग’को तयारीमा जुट्नुपथ्र्यो । तर, देश, काल र परिस्थितिले त्यस्तो सम्भव भएन । यो राखेपका लागि ठूलो चुनौतीको रूपमा देखापरेको छ । र पनि, चित्त बुझाउने कुरा के छ भने सातौँमा समावेश गरिएका चारवटा खेलहरू पौडी, ट्राइयाथन, शारीरिक सुगठन र एथलेटिक्सतर्फ म्याराथनको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । अन्य ६ वटा खेल तेक्वान्दो, बक्सिङ, आर्चरी, ब्याडमिन्टन, जुडो र सुटिङको मङ्सिरभित्रै प्रतियोगिता गराएर खेलाडी छनोट गर्ने कार्यक्रम रहेको छ । फुटबल र क्रिकेटको राष्ट्रिय टिम भएकाले त्यसमा कुनै समस्या छैन ।’ त्यस्तै १२औँ ‘साग’मा नेपालले सहभागिता जनाएका अन्य खेलको पनि खुला प्रतिस्पर्धाबाट छनोट गरिने सदस्यसचिव विष्टले बताए ।
मङ्सिरभित्र १२औँ ‘साग’मा समावेश गरिएका १० वटा खेलको प्रतियोगिता गराएर खेलाडी छनोट गरिने सदस्यसचिव विष्टले जानकारी गराए पनि राष्ट्रिय प्रतियोगिताजस्तो असरदार सावित हुने कुरामा शङ्का उत्पन्न हुनु स्वाभाविकै हो । यसर्थमा कि हतपतको काम लतपत हुने प्राय: निश्चित छ । यसरी छनोट गरिँदा प्रभावशाली खेलाडी नसमेटिन पनि सक्छन् । अर्थात् योग्य खेलाडी छुट्ने प्रबल सम्भावना हुन्छ । किनकि एसियाली खेलकुद प्रतियोगितामा पदक जितेको खेलाडी ‘साग’को छनोटमा पराजित भएर बाहिरिएको घटना नेपाली खेलकुदमा प्रसस्तै छन् । अर्को कुरा यदि १२औँ ‘साग’का लागि छनोट भएको र त्यहाँ प्रतिस्पर्धा गरेर आएको खेलाडी ‘साग’को एक हप्तापछि आयोजना हुने राष्ट्रिय खेलकुदमा ‘साग’मा छनोट नभएको अन्य खेलाडीबाट पराजित भयो भने त्यसको जिम्मेवारी कसले लिने त्यो अहिले गम्भीर प्रश्न बनेको छ । यहाँ भन्न खोजिएको के हो भने ‘साग’मा स्वर्ण पदक जितेर आएको खेलाडी राष्ट्रिय खेलमा पराजित भयो भने ‘साग’मा प्रतिस्पर्धा गर्ने वास्तविक हकदार को थियो ? त्यो भविष्यमा राखेपका लागि घाँटीको हाड बन्न सक्छ । त्यसैले हचुवाको भरमा झारा टार्ने हिसाबले कुनै कार्य गर्नुभन्दा राखेप यो मुद्दामा दूरदर्शी हुनु अति आवश्यक छ । अन्यथा एक प्रतिभाशाली खेलाडीको भविष्य उदय हुनुअगावै सङ्कटमा नपर्ला भन्न सकिँदैन । तसर्थ १२औँ ‘साग’मा विकल्पसहितको सहभागिता अनिवार्य भएको छ । अन्यथा भोलि राखेपका लागि पश्चात्ताप गर्नुभन्दा अर्को उपाय बाँकी रहनेछैन ।
साफ अनि ‘साग’को इतिहासमा नेपालको प्रदर्शनको चर्चा गर्दा आठौँबाहेक अन्य संस्करण सन्तुष्टि गर्न मिल्दैन । त्यसपछिका संस्करणमा नेपालको प्रदर्शन अधोगतितर्फ मात्र उन्मुख छ, अर्थात् उपलब्धिमूलक बन्न सकेको छैन । यस्तो अवस्थामा सन्निकट आएको १२औँ ‘साग’मा उत्कृष्ट खेलाडीको छनोट हुन सकेन भने त्यो नेपालका लागि सुसाइट हुने प्राय: निश्चित छ । तसर्थ राखेपले अन्य सहभागी खेललाई नभए पनि पदक जित्ने सम्भावना भएका अर्थात् विगतमा ‘साग’मा पदक जितेका खेलको राष्ट्रिय प्रतियोगिता गराएरै छनोट गर्नुपर्ने देखिन्छ । यस्तो गर्न सकेमा मात्र नेपालले स्तरीय प्रदर्शन गर्ने कुरामा विश्वस्त हुन सकिन्छ । अन्यथा १२औँ ‘साग’मा नेपालको सहभागिता आए आँप गए झटारो हुनेमा सायदै कसैको शङ्का होला ।
प्रतिक्रिया