सरकारले एक महिनासम्म संविधानको प्रचारप्रसार गर्ने

सरकारले एक महिनासम्म संविधानको प्रचारप्रसार गर्ने


Press meet (1)
काठमाडौं । नेपालको संविधानका विषयमा जनतालाई सुसूचित गर्न तथा संविधानबारे उठाइएका अनेकौँ अनावश्यक टीकाटिप्पणीलाई चिर्न सरकारले २१ मंसिर सोमबारदेखि मुलुकभर राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको छ । उक्त राष्ट्रिय अभियानको शुभारम्भ प्रधानमन्त्रीले सोमबार बिहान राष्ट्रिय सभागृहबाट गर्ने र त्यसक्रममा नेपालको संविधानको विशेषतासहितका बारेमा २० मिनेटको वृत्तचित्रसमेत प्रस्तुत गरिने भएको छ ।

‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधान ः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा आगामी पुस २१ गतेसम्म सञ्चालन हुने उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सो अवसरमा परराष्ट्रमन्त्री थापाले भने, “दलविशेषबाट राजनीतिक रुपले व्याख्या गर्ने र त्यसैमा अडान लिएर अभियानलाई अन्यन्त्र मोड्ने काम कसैबाट नहोस् ।”

संविधान जीवन्त र गतिशील दस्तावेज भएकाले शत्प्रतिशत संविधान पूर्णता हुन्छ भन्ने सुनिश्चिता कहीँ कतै नहुने बताउँदै थापाले दलबीचको साझा बिन्दुका रुपमा स्वीकार गरेर जारी भएको संविधान सबै मिलेर कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । उनले राजनीतिक दलबीच कैयौँ विषयमा मतभेद रहे पनि संविधानका मूलभूत मान्यता प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास र शान्ति सुव्यवस्थाको सुदृढीकरण गर्नुपर्छ भन्नेमा सबैको एउटै मत रहेको प्रस्ट्याए । नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको समानुपातिक र समावेशी चरित्रको संविधानको विशेषताबारे जनतालाई सुसूचित गर्ने अभियानमा सहभागी भई सफल तुल्याउन राजनीतिक दल, बुद्धिजीवी र जनतालाई आह्वान गर्दै उनले प्रचारप्रसार गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न सञ्चारजगत्सँग आग्रह गरेका थिए ।

समानुपातिक, समावेशी र समातामूलक सिद्धान्तका आधारमा समातामूलक समाजको निर्माण गर्ने नेपाली जनताको चाहनानुसार संविधानसभामार्फत नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भई कार्यान्वयनको चरणमा रहेको छ । मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णय बमोजिम सरकारले सो अभियान मङ्सिर २१ देखि एक महिनासम्म सञ्चालन गर्न लागेको हो । जिल्ला सदरमुकाममा हुने सभा तथा मूल कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तिलगायत सर्वसाधारण जनताको सहभागिता हुने र त्यहाँ संविधानका विशेषताबारे प्रकाश पारिने जनाइएको छ । त्यस्तै प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीगायत विशिष्ट महानुभावले भाग लिनुहुनेछ । संविधानका विशेषताका बारेमा पुस्तिका, पर्चा, फ्लेक्स प्रिन्टलगायत प्रचारका सामग्री वितरणको चाँजोपाँजो स्थानीय विकास मन्त्रालयले गर्ने छ ।

जानकारी गराइएअनुसार जिल्ला सदरमुकामको कार्यक्रमपछि हरेक नगरपालिका र गाविसमा स्थानीय राजनीतिक दलका कार्यकर्तालगायत जनसमुदायको उपस्थितिमा मूल कार्यक्रमको रुपमा अन्तक्र्रिया, सभा, सम्मेलन आयोजना गर्ने कार्यक्रम बनाइएको छ । त्यस कार्यमा सम्पूर्ण सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र निजी क्षेत्रले समेत सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । संविधानको विशेषता मैथली, भोजपुरी, थारु र अवधी भाषामा समेत अनुवाद गरेर वितरण हुने बताइएको छ । सो अभियानका क्रममा समाजका हरेक वर्गका व्यक्तिलाई संविधान र यसका विशेषताका विषयमा सूसूचित गर्ने प्रयत्न हुने छ । केन्द्र, जिल्ला, नगर र गाउँस्तरमा हुने मूल कार्यक्रमपछि पनि अभियानका रुपमा प्रचारप्रसार कार्यक्रमलाई निरन्तरता दिइने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।