जनविरोधी नै हो कम्युनिस्ट विचार

जनविरोधी नै हो कम्युनिस्ट विचार


Laxmi Kanta Poudel

:: लक्ष्मीकान्त पौडेल ::

‘हालको एमाले पार्टीले ०२८ सालमा राम्रो उद्देश्यका लागि गलत काम गर्न पुगेको थियो, जो पछि सच्चियो, यसअनुसार अब माओवादी पनि सच्चिनुपर्दछ ।’ एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीद्वारा कुनै सन्दर्भमा व्यक्त गरिएको धारणा हो यो । ०२८ सालमा सामन्तको आरोपमा ओली, मैनालीलगायत तत्कालीन मालेका सदस्यहरूद्वारा झापामा धनीहरू मारिए, तर मारिनेहरूभन्दा मार्नेहरू नै धनी थिए । ती कम्युनिस्ट नेताहरूले आफ्नो सम्पत्ति कहिल्यै बाँडेनन्, बरु थपे । कम्युनिस्ट दर्शनमा डिक्लासिफिकेसन भन्ने शब्द सधैँ चर्चामा आउँछ, तर सत्ताको स्वाद चाख्न पुगेका कम्युनिस्टहरूले आफूलाई कहिल्यै सर्वहाराकरण गर्न चाहेनन् । त्यो नै उनीहरू कम्युनिस्ट होइनन्, तानाशाही सामन्त हुन् वा कम्युनिस्ट विचार नै गरिबविरोधी र छद्मभेषी हो भन्न यो तथ्य पर्याप्त छ ।

जनतालाई भ्रम दिन भने कम्युनिस्टहरू खप्पिस हुन्छन् । आफूले वा अरूले गरेको राम्रो काम पनि आफूले गरेको वा आफ्नो कारणले भएको र नराम्रो काम आफैँले गर्दासमेत अरूको कारणले भएको भन्ने कम्युनिस्टहरूको फर्मुला नै हो । यस्तो विचार प्रवाहित गरी जनतालाई भ्रम दिने कार्यका लागि नेपाल त कम्युनिस्टहरूको उर्वरभूमि नै रहेको छ । यस्ता कम्युनिस्ट धेरै भएर नै यो देश बिग्रेको छ ।

पहिलो संविधानसभाको चुनावमा प्रत्यक्ष वा परोक्ष रूपमा कम्युनिस्टहरूको पपुलर मत ७० प्रतिशत थियो भनिन्थ्यो । त्यसैले नै होला देश बिगार्नेे र झुटा कुरा बढी नै भयो । पछिल्लो चुनावमा कम्युनिस्टहरूको पपुलर मत ६० प्रतिशतभन्दा कमै भएकाले संविधान कसै गरेर बन्यो । कम्युनिस्टहरूको पपुलर भोट ५० प्रतिशतभन्दा कम भएमा देशले विकास र समानताको फड्को नै मार्न सक्दछ । यद्यपि कम्युनिस्टहरूले लगाएको जातीयसमेतका घृणाको आगो भने निभाउन सक्नुपर्छ । जब कि ओली कम्युनिस्टहरू मिलेमा मात्रै देशको विकास हुने बताउँछन् । उनीहरू मिले राम्रो हो, जनताले सच्चाई थाहा पाउने थिए । तर, यो निश्चित छ कि उनीहरू मिलेमा कम्युनिस्ट नेताहरूलाई राम्रो हुन्छ, तमाम नेपाली जनतालाई होइन ।

उदाहरणका लागि काङ्ग्रेसले आन्दोलन गर्दा ०७ साल, ०४६ सालसम्म तथा राजा ज्ञानेन्द्रको विरुद्धमा समेत आन्दोलनको लक्ष्यबारे माफी माग्नुपरेन, गल्ती महसुस गर्नुपरेन र जनताले समेत ती आन्दोलनका लक्ष्य र प्राप्तिलाई विरोध गरेनन् । त्यति मात्र होइन, काङ्ग्रेसको नेतृत्वमा र काङ्ग्रेसको सरकारबाट ०४७ देखि ०५१ सालसम्म रहँदा देशको आर्थिक वृद्धिदर करिब आठ प्रतिशत थियो । यो झन्डै चीनको नजिक र भारतको हाराहारी हो ।

त्यसै समयमा यातायात, सञ्चार, शिक्षा, गरिबी निवारण, उद्योगमा ठूलो क्रान्ति आएको थियो । देशमा अहिलेको भन्दा सयौँ गुना बढी रोजगारीको सिर्जना भएको थियो । शान्ति र सद्भावना जनताबीच राम्रो रहेको थियो । जब कि त्यसै समयमा एमालेले सरकारको मेरुदण्ड कर्मचारी वर्गलाई उठाएर हडताल गरायो । यो मानसिकताले गर्दा भनेजस्तो विकास हुन सकेन । अन्यथा देशको विकास १० प्रतिशत हुन सक्ने थियो । पछि काङ्ग्रेसको सरकार गिरेर मध्यावधि चुनाव भयो र एमाले देशको ठूलो दल भयो । यसैले सरकार बनायो । काङ्ग्रेसको विकासको नीति तहसनहस पार्‍यो र देशको विकासदर ह्वात्तै घट्दै गयो । अहिले ओलीले कम्युनिस्ट एक हुनुपर्छ भनेकामध्येका माओवादीले हिंसात्मक आन्दोलन गरेकाले समेत देशको विकासदर वास्तवमा नकारात्मकमा पुगेको हो । आजसम्म नेपाली युवा विदेश गएर कमाएको सम्पत्तिले गर्दा मात्र देश धानिएको हो ।
माओवादीको हिंसाले गर्दा देश जर्जर भयो । जनता मारिए । अपाङ्ग भए, सम्पत्ति तहसनहस भयो । तर, जनताले सकारात्मक के पाए ? केही पाएनन् । बरु जातीय घृणा र विवाद, झगडा र मारामारको वातावरण देशले पायो । मान्छे–मान्छे एक हौँ भन्ने समयमा एक जातले अर्को जातलाई नरुचाउने अवस्थाको सिर्जना माओवादीले नै गरेको हो । अहिले विकास तहसनहस छ । माओवादीको डरले व्यापक रूपमा युवा बिदेसिन थालेकामा अहिले आमयुवामा विदेश जाने रोगै लागेको छ । जातीय घृणामा आधारित बन्द–हडतालले गर्दा भएका उद्योगहरू पनि चलेका छैनन् ।

अर्को उदाहरण पनि त्यस्तै स्पष्ट छ । काङ्ग्रेसको सरकार हुँदा देशमा विद्युत्को लोडसेडिङ करिब–करिब थिएन । विद्युत् वितरणलाई व्यापक बनाउँदा लोडसेडिङ नहोस् भनेर विभिन्न योजना बनेकामा माओवादीको कारण ती योजना सफल हुन सकेनन् । मस्र्याङ्दी जलविद्युत् आयोजनाले लगभग ७५ मेगावाट विद्युत् उत्पादनका लागि काम गर्दै थियो । माओवादीले त्यो आयोजनामा बम हानेको र अशान्ति मच्चाएकाले त्यसको निर्माण लागत दोब्बरभन्दा बढी भयो । अर्थात् त्यो पैसाले अर्को ७५ मेगावाट विद्युत् उत्पादन गर्न सकिनेमा त्यो भएन ।

काङ्ग्रेसको समयमा अरुण पहिलो जलविद्युत् आयोजना सुरु हुँदै थियो । जर्मन सरकार र एडीबीले अनुदान सहयोगमा बनाउन लागेको त्यो आयोजनाबाट करिब २५० मेगावाट विद्युत् उत्पादन हुने थियो । त्यो आयोजनामा नेपालको एक पैसा पनि लाग्ने थिएन । तर, त्यो आयोजना एमालेले पत्र नै पठाएर रोक्यो । त्यो आयोजना अहिलेसम्म पूरा भई अरुण दोस्रो र तेस्रोसमेत काम सुरु हुने थियो । भारतले नेपालको जलविद्युत्मा एकाधिकार लिनका लागि एमालेलाई उचालेर त्यो आयोजना रोकाएको थियो भनिन्छ । माओवादीका लडाकुलाई त भारतीय सरकारी सेनाले नै तालिम दिएको प्रमाणित नै भएको छ । यसरी एमाले र माओवादी विदेशीको इसारामा चलेर देशलाई तहसनहस पारिरहेका छन् । पश्चिमी राष्ट्रहरूले पैसा दिएपछि एमाले र माओवादी यतिबेला नजिकका छिमेकीको इसारामा चल्न छोडेका हुन् । यसैकारणले भारत रिसाएर नाकाबन्दी भएको हो भन्ने तर्कहरू आइरहेका छन् ।

२० मेगावाट जलविद्युत्ले नेपालीको अहिलेको विद्युत् प्रसारणको आधारमा १ घन्टा प्रसारण गर्न पुग्छ भन्ने गरिन्छ । यसरी माओवादी र एमालेको कारणले करिब तीन सय २५ मेगावाट विद्युत् मात्र कम भएको मान्ने हो भने पनि अहिलेको हिसाबले करिब १५ घन्टा विद्युत् आपूर्ति थपिन सक्ने थियो । यसरी अहिले भएको विद्युत्मा त्यो विद्युत् थपिएको भए लोडसेडिङ नहुने मात्र होइन बरु अझ विद्युत् प्रसारण थपिने थियो । जनताले यो तथ्य बुझ्न ढिलो भएन र ?

आजसम्म काङ्ग्रेसको सरकार लगातार भएको भए र माओवादीको हिंसा नभएको भए प्रतिवर्ष करिब आठ प्रतिशतको विकास दरबाट करिब २५ वर्षमा दुई सय प्रतिशत देशको विकास हुने थियो । रोजगारीको प्रचुरता हुने थियो र गरिबी धेरै कम हुने थियो । अब आरोप लाग्ला कि काङ्ग्रेसको सरकार ०५१ सालमा अरूको कारणले गिरेको होइन । यसलाई सत्य मान्दा पनि काङ्ग्रेसको सरकार गिरेकाले काङ्ग्रेसले गरेका राम्रा कामलाई अगाडि बढाउने र अझ राम्रो गर्ने कार्य अरू दलको हो । त्यो भएन र काङ्ग्रेसलाई आफ्नो सरकार आफैँ ढालेको अनावश्यक दोष दिने कार्य भयो । यसले त काङ्ग्रेस नभए विकास, शान्ति र गरिबी निवारण हुँदैन भनेर एमाले र माओवादीले प्रकारान्तरले स्वीकार गरेको हो भन्ने हामीले बुझ्नुपर्छ । स्मरणीय छ कि इटलीमा सरकार बदलिने दर प्रतिवर्ष एकभन्दा पनि बढी छ, तर त्यहाँ किन विकास, जनताको हित र शान्ति रोकिएन ? किनभने त्यहाँ सबै दल विकास र जनप्रेमी छन् भने नेपालमा कम्युनिस्टहरूबाट विकास, शान्ति तथा गरिबको हित हुँदैन, काङ्ग्रेसबाट मात्र हुन्छ भन्ने तथ्यलाई कम्युनिस्टहरूले नै प्रस्ट गरिदिएका छन् ।