मधेसीको माग पूरा गर्न खड्काको सुझाव

मधेसीको माग पूरा गर्न खड्काको सुझाव


purna-bahadur-khadka
मधेसी मोर्चाले उठाएका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने कांग्रेस नेता पूर्णबहादुर खड्काले बताएका छन् । नेपाल प्रेस युनियन बागलुङको १४औैँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री खड्काले सीमाङ्कनलगायतका माग पूरा गर्नुपर्ने सुझाव दिए । सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकाबीच भएको तीनबुँदे सहमतिले मोर्चाको माग सम्बोधन हुने वातावरण बनेको उनको भनाइ थियो ।

“प्रमुख दलबीचको सहमतिपछि संविधान संशोधनको प्रक्रिया अघि बढेको छ, यसले मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गर्छ”–नेता खड्काको कथन छ । उनले संविधान संशोधन, प्राधिकरण विधेयक र सीमाङ्कन विवाद टुङ्गाउने विषयमा प्रमुख दलहरुले गरेको सहमतिले गतिरोध हट्ने विश्वास व्यक्त गरे ।

प्रमुख दलबीचको एकतामा जोड दिँदै उनले संविधान कार्यान्वयनमा दलीय एकता नभए मुलुक दुर्घटनातिर जाने चेतावनी समेत दिए । पूर्व गृहमन्त्रीसमेत रहनुभएका खड्काले भारतसँगको कूटनीतिक असफलताका कारण नेपालको समस्या लम्बिँदै गएको र भारतले पनि नेपालसँग सही कूटनीति नगरेको आरोप लगाए ।