राष्ट्रपतिबाट पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण

राष्ट्रपतिबाट पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण


BB-pashupati darsan president-4

काठमाडौं । मुलुकमा जारी सङ्कटको अवस्थाबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका साथ सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनका अनुसार राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुभएको हो । बिहान १०ः२० बजे पशुपतिनाथ मन्दिर प्राङ्गणमा पुग्नुभएका राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गर्नुभएको थियो । बताइएअनुसार राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गङ्गामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गर्नुभएको थियो ।

राष्ट्रपति पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा पशुपति क्षेत्रका स्थानीयवासीले धिमे बाजाले स्वागत गरेका थिए भने पश्चिमढोकाबाट मूल मन्दिरमा प्रवेश गर्ने बित्तिकै नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचनबाट उहाँको स्वागत गरेका थिए । पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घण्टा पशुपति मन्दिर परिसरमा बिताउनुभएको थियो ।

राष्ट्रपति निर्वाचित भएपछि भएको पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शनका क्रममा राष्ट्रपति भण्डारीले आफ्नो पहिलो महिनाको तलब एक लाख २१ हजार ३ सय ६० पशुपतिनाथमा अर्पण गर्नुभएको सम्बद्ध अधिकारीले जनाएका छन् ।