तेलमा झेल गर्नेविरुद्ध १४ करोड बिगोसहित मुद्दा

तेलमा झेल गर्नेविरुद्ध १४ करोड बिगोसहित मुद्दा


मधेसकेन्द्रित दलको नाकामा जारी आन्दोलन र अघोषित नाकाबन्दीको अवसर पारेर रातारात करोडपति बन्ने तस्करका विरुद्ध आक्रामक किसिमले लागेको काठमाडौं प्रहरीले के.एल. दुगड उद्योगका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । देशलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्नुको सट्टा तीन गुणासम्म मूल्य बढाएर खानेतेल बिक्री गरेको अभियोगमा प्रहरीले दुगडको तेल गोदाममा छापा हानेको थियो । राजनीतिक दलका नेतालाई मोटै रकम बुझाएर राजनीतिक अस्थिरताको फाइदा उठाउँदै जनताको टाउकोमा महँगीको भारी बोकाउने कथित उद्योगपति दुगडका विरुद्ध प्रहरीले साहसिक काम गरेको भन्दै तारिफ भएको छ ।
SSP-Vikram-Thapa-1
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले दुई साता लामो गहन अनुसन्धान गरी प्रमाण सङ्कलन भएपछि गत सोमबार ठगी तथा कालोबजारी मुद्दा चलाइएको जानकारी दिए । खानेतेलको कालोबजारी गरी दोब्बर–तेब्बर मूल्यमा तेल बिक्री गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा चलाइएको छ । दुगड समूहको पेप्सिकोलास्थित धारा तेल उत्पादन गर्ने उद्योगको गोदाममै छापा हानेर महँगो मूल्यमा बिक्री गर्नका लागि तयार पारिएको एक लाख तेह्र हजार लिटर तेलसहित म्यानेजर अम्मर जैन र सेल्स अफिसर प्रमोद अधिकारीलाई नियन्त्रणमा लिइएको थियो । परिसरप्रमुख विक्रमसिंह थापाका अनुसार प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

जनताको चुलोचौकोसँग सम्बन्ध रहने खानेतेलमा कालोबजारी गरेर झेल गर्ने दुगड समूहका अन्य आरोपी मुद्दाबाट बच्न र चलखेल गर्नका लागि भागेर भारत गएको बुझिएको छ । प्रहरीको खोजीमा रही फरार रहेका के.एल. दुगड, विकास दुगड, कुमुद दुगड, धर्मानन्द दुगड, प्रदीपकुमार चाचन, रामाकान्त तारिक, चन्द्रप्रसाद कुसवाह र नरेश दुगड फरार रहेको बताइएको छ । सर्वसाधारणको गुनासोको आधारमा प्रहरीले दुगडको गोदाममा छापा हान्दा आफूखुसी मूल्य राखेको पाइएको थियो । प्रहरीको उक्त कारबाहीप्रति विभिन्न उपभोक्तासम्बन्धी सङ्घ–संस्थाले समर्थन जनाउँदै साहसिक कदम भनी प्रशंसा गरेका छन् । जनताको ढाड सेकेर रातारात करोडौँ कुम्ल्याउने जनविरोधी उद्योगपतिलाई सम्मानित अदालतले दण्ड गर्ने कुरामा सर्वसाधारण आशावादी रहेका छन् । सम्मानित अदालतप्रति जनताको आस्था र विश्वास बढाउनका लागि पनि कालोबजारी गरी ठगी गर्ने दुगड समूहलाई न्यायालयले उचित दण्ड दिने विश्वास लिइएको छ । प्रहरीले १४ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।