‘पूर्वप्रधानमन्त्री’ भनिएकोमा सुशीलको घोर आपत्ति !

‘पूर्वप्रधानमन्त्री’ भनिएकोमा सुशीलको घोर आपत्ति !


SUSHIL-KOIRALA

कांग्रेस सभापति सुशील कोइराला ‘भूतपूर्व’ या पूर्व शब्द देख्ने–सुन्नेबित्तिकै कति ‘इरिट्ेरड’ हुनुहुन्छ भन्ने जानकारी धेरैलाई नहुनसक्छ । कोइराला ‘भूतपूर्व’ शब्द सुन्नासाथ चिढिनुहुन्छ भन्ने जानकारी कांग्रेसकै अधिकांश नेता–कार्यकर्तालाई पनि छैन । तर, गत साता एक स्मरणपत्र लिएर सुशील कोइरालासमक्ष पुगेका केही कांग्रेस नेताहरूले भने यस कुराको जानकारी रामै्रसँग पाएका छन् ।

कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा बोक्नुपर्छ र संविधान संशोधन गराएर देशलाई सनातन हिन्दूराष्ट्रको पहिचान दिनुपर्छ भन्ने माग लिएर ‘नेपाली कांग्रेस हिन्दूराष्ट्र स्थापना महाअयिभान’का नेताहरू गत साता सुशील कोइरालासमक्ष एक ज्ञापनपत्रसहित पुगेका थिए । कांग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, चिरञ्जीवी वाग्ले, शिवराज जोशी, लोकेश ढकाल र कृष्ण लामालगायतले सुशील कोइरालालाई भेटी ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्रको प्रारम्भमा कोइरालालाई सम्बोधन गरी ‘पूर्वप्रधानमन्त्री एवम् सभापति सम्माननीय सुशील कोइरालाज्यू’ भनी लेखिएको थियो । पत्रमा त्यसरी ‘पूर्वप्रधानमन्त्री’ लेखिएको व्यहोरा सुन्नेबित्तिकै कोइराला आक्रोशित हुनुभयो र रातो अनुहार बनाउँदै उहाँले प्रतिनिधिमण्डलतिर हेरेर भन्नुभयो, ‘यो पूर्वप्रधानमन्त्री भनेर किन लेखेको ? यो तुरुन्त हटाइहाल्नुस्, सब हटाउनुस् ।’ कोइरालाले आफूलाई ‘पूर्व’ भनिएकोमा आपत्ति जनाउनुभएको हो कि ‘पूर्वप्रधानमन्त्री’ लेखिएकोमा हो सो स्पष्ट गर्नुभएन । चोरीऔँला सोझ्याउँदै आक्रोशित भएर कोइरालाले ‘पूर्वप्रधानमन्त्री’ हटाउन किन भन्नुभएको हो प्रतिनिधिमण्डलले बुझ्न सकेन ।

प्रधानमन्त्री मात्र लेख्न मिल्ने थिएन, त्यसैले प्रधानमन्त्री भइसकेका व्यक्तिलाई पूर्वप्रधानमन्त्री भनेर लेख्नुपर्ने बाध्यता थियो र त्यसरी सम्बोधन गर्दा कोइरालालाई सम्मान नै दिएको बुझिन्थ्यो । ताराभाटले परिस्थितिलाई साम्य बनाउन कोइरालालाई सम्झाउने प्रयास गर्नुभयो, तर उहाँ सहमत हुन तयार हुनुभएन । एकोहोरो लागेर ‘पूर्वप्रधानमन्त्री’ हटाउनुस् मात्र भनिरहनुभयो । अन्त्यमा ‘लौ–लौ हटाइएको मानौँ’ भन्दै ज्ञापनपत्र पढेर सुशील कोइरालालाई सुनाइएको थियो । उहाँले त्यसरी ‘पूर्वप्रधानमन्त्री’ शब्दप्रति घोर आपत्ति जनाउनुको कारण कसैले बुझ्न सकेनन्, यो अब खोजीको विषय बनेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै सुशील कोइरालाले भन्नुभयो, ‘म संविधानमा हिन्दूराष्ट्र लेख्न चाहन्थेँ, एमालेले बेइमानी गर्‍यो, बाबुराम भट्टराई र केपी ओलीका कारण हिन्दूराष्ट्र लेख्न सकिएन ।’ उहाँले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा यो विषय राखेर छलफल गरिने प्रतिबद्धता प्रतिनिधिमण्डलसमक्ष व्यक्त गर्नुभएको छ । महाअभियानको प्रतिनिधिमण्डलले मंगलबार (पुस १४ गते) वरिष्ठ नेता शेरबहादुर देउवासमक्ष पनि आफ्नो मागसहितको स्मरणपत्र बुझाएको छ ।