मिर्गौला प्रत्यारोपणपछि स्वदेश फर्कंदै खुमबहादुर

मिर्गौला प्रत्यारोपणपछि स्वदेश फर्कंदै खुमबहादुर


नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्का स्वास्थ्योपचारपछि पुस २३ गते स्वदेश फर्कनुहुने भएको छ । उहाँ सो दिन बिहान साढे सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने खड्काको पारिवारिक स्रोतले जनाएको छ । मिर्गौलामा खराबी आएपछि करिब तीन महिनाअघि खड्का उपचारका लागि भारतको राजधानी नयाँदिल्ली जानुभएको थियो ।

स्वास्थ्य परीक्षणको क्रममा मिर्गौलाले राम्ररी काम गर्न नसकेको पाइएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उहाँलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेता खड्कालाई उहाँकी भाञ्जीले मिर्गौला दान दिनुभएको हो । गत अक्टोबर ८ तारेखमा मिर्गौला प्रत्यारोपण भएपछि चिकित्सकहरूले तीन महिना पूरा आराम गर्न सुझाव दिएकोले केही दिनको अस्पताल बसाइपछि उहाँले दुई महिना दिल्ली र एक महिना बेंग्लोरमा बिताउनुभएको थियो । बेंग्लोरस्थित आफ्नै छोरीको घरमा आराम गरिरहनुभएका खड्का पुस २३ गते बैंग्लोरबाट सोझै काठमाडौं आउन लाग्नुभएको हो ।
Khum-Bahadur-Khadka
आफ्नो मिर्गौलाले काम गर्दागर्दै अर्को मिर्गौला प्रत्यारोपण गर्दा झनै राम्रो हुने भनी चिकित्सकले सुझाव दिएकोले खड्का तत्काल मिर्गौला प्रत्यारोपण गर्न तयार हुनुभएको बताइएको छ । काठमाडौं आगमन हुनेबित्तिकै खड्का कांग्रेसको तेह्रौँ महाधिवेशनको निम्ति सचेततापूर्वक सक्रिय रहनुहुने भएको छ । पार्टीभित्र बलियो नेटवर्क भएका नेता मानिनुहुने उहाँको समर्थनले सभापतिको उम्मेदवारलाई परिणामगत प्रभाव पार्ने विश्वास गरिन्छ । उपसभापति या महामन्त्री पदका दाबेदार रहनुभएका खड्काले यसअघिको महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो ।