‘तराईमा जनताको होइन जमिन्दारको आन्दोलन’

‘तराईमा जनताको होइन जमिन्दारको आन्दोलन’


रुपन्देही/ नेकपा एमालेका नेता माधव कुमार नेपालले मुलुकको नयाँ संविधानबारे तराई–मधेश क्षेत्रका जनतालाई कुरा बुझाउन जरुरी भएको बताएका छन् । नेकपा एमाले लुम्बिनी अञ्चल कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले उक्त कुरा बताएका हुन् ।

तराईमा जारी आन्दोलन जनताको आन्दोलन नभई जमिन्दार र सम्भ्रान्त वर्गको भएको आरोप उनले लगाएका छन् । नयाँ संविधानले गरिव एवम् पिछडिएका वर्ग र जनजातीका लागि विशेष व्यवस्था गरेकाले जनता अधिकारसम्पन्न भएपछि आफ्नो परम्परागत सुख–सुविधा खोसिने डरले जमिन्दार वर्गले संविधानविरुद्ध षड्यन्त्र रचेको उनको भनाई छ । विदेशी भित्रिएर मुलुकलाई सिक्किमीकरण गर्ने खतरा भए पनि संविधान नागरिकताको विषयमा उदार र लचिलो भएको उल्लेख गर्दै उनले एक मधेस एक प्रदेशको माग गलत भएको तर्क गरे ।
UML
संविधानमा मधेशी, मुस्लिम, थारु, महिला, दलित, जनजातीबारेमा धेरै ठाउँ चर्चा गरिएको र विशेष अधिकारको व्यवस्था पनि भएको उल्लेख गर्दै नेता नेपालले संविधान निर्माणको क्रममा लाखौंप्रति मस्यौदा छापेर बाँडिए पनि जनस्तरमा व्यापक रुपमा छलफल नगराएर गल्ती भएको जनाए । शान्तिपूर्ण वार्ता र संवादको माध्यमबाट तराई आन्दोलनको निकास खोज्नुपर्ने नेपालको कथन छ । यसका लागि संसदमा पेस भएको संसोधन विधेयक छिटो पारित गर्नुपर्नेमा उनले जोड दिए । सरकारले उपलब्धीलाई संस्थागत गर्दै विद्युत, पर्यटन, घरेलु उद्योग, कृषि आदि माध्यमबाट तीव्र आर्थिक विकासमा जोड दिनुपर्ने नेपालले बताए ।

सो अवसरमा एमाले नेताहरु इश्वर पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, राधा ज्ञवालीलगायत नेताले पनि आफ्ना धारणा राखेका थिए । लुम्बिनी अञ्चलका ६ जिल्ला गुल्मी अर्घाखाँची पाल्पा नवलपरासी र रुपन्देहीका पाार्टीका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।