कांग्रेस चौबाटोमा !

कांग्रेस चौबाटोमा !


arjun
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारको लक्ष्य नै नभएको आरोप लगाएका छन् । उनले अहिलेको केपी ओली नेतृत्वको सरकार ‘चौबाटोको बग्गी’ भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले भने–‘सरकारले झण्डै तीन महिनाको अवधिमा पनि आफूले के गर्ने हो भनेर आधिकारिक धारणा बाहिर ल्याउन सकेन, अब सरकारबाट जनताले कुनै आशा नगरे हुन्छ ।’ उनले सरकारले चौबाटोमा उभिएर यता जाने कि उता भनेर निर्णय गर्न नसकेको आरोप लगाए ।

सरकारले जनतालाइ सुविधा दिनु त कहाँ हो कहाँ कालोबजारी र तस्करीतन्त्र मौलाउने कामलाई प्रश्रय दिएको उनले दाबी गरे । सरकार निरीह, अर्कमण्य, ढुलमुले र नालायक देखिएको छ, खोक्रो राष्ट्रवाद जनतालाई बोकाएर हुँदैन । जनताले केही समय त सहलान् तर सधैं सहन सक्दैनन् ।’

यतिबेला बामपन्थी गठबन्धनले लोकतन्त्र खतरामा पार्ने चिन्ता बढेको भन्दै केसीले लोकतन्त्र र लोकतन्त्रवादीमाथि सरकारले प्रहार गर्न थालेको गुनासो गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका नेता केसीले कांग्रेसको १३ औं महाधिवेशनले सबैलाई एक ढिक्का गराएर अगाडि बढ्नुपर्ने आवश्यता औंल्याए । केसीले कांग्रेस संस्थागतभन्दा पनि ब्याक्तिमुखी बनेकोले यसलाई महाधिवेशनले चिर्ने जनाउँदै अब अंशले कोही नेता हुँदैन बरु योग्यता, क्षमता, त्याग र क्रियाशीलताको दरकार पर्ने दाबी गरे ।
उनले मुलुकका केही महत्वपूर्ण पदमा कांग्रेसको पराजयपछि यतिबेला केही कांग्रेसीजन कांग्रेसको स्थान खोई भनेर आत्तिएको उल्लेख गर्दै यसरी नआत्तीन आग्रह गरे । यस्तै विपक्षीहरुलाइ केसीले कांग्रेस सिध्दियो भनेर नमात्तिन पनि सुझाव दिए । कांग्रेस जहिले पनि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने पार्टी रहेको स्वीकार गर्दै आगामी दिनमा ठिक समयमा निर्णय र ठिक समयमै काम गर्ने गरी सच्चिँदै जाने उल्लेख गरे ।

– चन्द्रकान्त खनाल